बुधवार, फाल्गुण १८ २०७८
नेपाल वाइड
खोटाङ, १८ फागुन । खोटाङको साकेला गाउँपालिकामा सामाजिक सुरक्षाभत्ता अनियमितता भएको विषयमा अख्तियारले फिल्डमै पुगेर छानविन थालेको छ ।
मृत्यु भइसकेका, कतिपय बसाई सरिसकेका तथा कतिपय हुँनै नभएका व्यक्तीको नाममा ‘फेक डकुमेन्ट’ बनाएर सामाजिक सुरक्षा चुहावट भइरहेको पाइएपछि स्वयं गाउँपालिकाले दिएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फिल्डमै उपस्थित भएर छानविन थालेको हो । अख्तियारको टोलीले साकेला गाउँपालिका–४ मात्तिम र साकेला गाउँपालिका–५ मात्तिम मानेभञ्ज्याङबाट छानबिन थालेको हो ।
आर्थिक वर्ष २०७६/०७७ भित्र मात्रै पाँच वडामा ८७ लाख ४१ हजार ६ सय रुपैयाँ रकम चुहावट भएको प्रतिवेदन सार्वजनिक गाउँपालिका आफैले कारबाहीका लागि १२ पुस २०७७ मा सोसँग सम्वन्धित कागजातको फायल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय ईटहरीलाई पठाएको थियो ।
गाउँपालिकाले पठाएको प्रतिबेदनमा उल्लेखित लाभग्राहीको नामावलीमाथि अख्तियारले विस्तृत अनुसन्धान थालेको साकेला गाउँपालिका अध्यक्ष अर्जुन खड्का (झंकार)ले बताउनुभयो ।
सामाजिक सुरक्षाभत्ता पाउने कतिपय लाभग्राहीको एउटै नाम, एउटै नागरिकता नम्बर, एउटै ठेगाना, एउटै जन्म मिति उल्लेख गरेर नक्कली लाभग्राही खडा गरिएको पाइएको छ । एकै व्यक्तिको नाममा विधवा र एकल महिलाको सामाजिक सुरक्षा भत्ता बाँडिएको तथ्या पनि फेला परेको छ ।
छानबिनकाक्रममा कतिपय मृतक वा बसाई सरिसकेका व्यक्तीका आफन्तले नै निरन्तर सामाजिक सुरक्षाभत्ता लिइरहेको पनि पाइएको जनाइएको छ ।
सामाजिक सुरक्षाभत्ता शिर्षकको लाखौं रकम चुहावट भइरहेको प्रतिबेदन सार्वजनिक भए लगत्तै गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को दोश्रो चौमासिकदेखि ‘सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५’ बमोजिम नेपाल एसबीआई बैंक साकेला शाखामार्फत सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था मिलाइसकेको छ ।
सामाजिक सुरक्षा भत्तामा भइरहेका अनियमितता नियन्त्रणका लागि बैंकिङ प्रणाली अपनाइएपछि आर्थिक वर्ष २०७७/०७८ को दोश्रो र तेश्रो चौमासिकमा ४६ लाख ७४ हजार ७६६ रुपैयाँ रकम बेरुजु खातामा फिर्ता गएको गाउँपालिकाले जनाएको छ ।