Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    विद्यालय गाँज्दै राजनीतिक दल

    विद्यालय गाँज्दै राजनीतिक दल


    • शनिवार, चैत्र ५ २०७८

    • नेपाल वाइड


    विद्यालय गाँज्दै राजनीतिक दल
    व्यवस्थापन समिति चयनपछि तस्बिर खिचाउदै नयाँ कार्यसमिति ।

    खोटाङ, ५ चैत । खोटाङको ऐसेलुखर्क गाउँपालिकास्थित त्रिभुवन उच्च माबिको व्यवस्थापन समिति चयनका क्रममा दलीय निर्वाचन भएको छ ।

    शुक्रबार भएको निर्वाचनमा वर्तमान सत्तारुढ गठबन्धन दल एकातिर र प्रतिपक्ष एमाले अर्कातिर बसेर घम्साघम्सी चुनाव गरिएको हो । शैक्षिक संस्थामा पकड जमाउने मनसायले गठबन्धन दलले सरोज राजभण्डारी र एमालेले टेकेन्द्र राजभण्डारीको नेतृत्वमा प्यानल बनाएर उम्मेद्वार उठाएको थियो ।

    स्थानीय तहकै निर्वाचनको झल्को दिनेगरी भएको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा एमालेका उम्मेद्वार टेकेन्द्रको प्यानल विजयी भएका छन् । निर्वाचनमा ३ सय ५४ मत खसेकामा टेकेन्द्रले २२२ मत र प्रतिद्वन्द्वी सरोजले ११७ मत प्राप्त गरेका छन् । २४ मत बदर भएको छ ।

    टेकेन्द्रको प्यानलबाट श्रीकुमार राईले २१५, डोल्मा तामाङले २३३ र सरिता श्रेष्ठले २०२ मत पाएका छन् । यस्तै, सरोजको प्यानलबाट मनकुमारी तामाङले १४२, होमबहादुर तामाङले ११३ र पुण्यकुमारी वनले १०७ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।

    गठबन्धन दल र एमालेले व्यवस्थापन समितिको निर्वाचनलाई आसन्न स्थानीय तहको निर्वाचनका लागि आफ्नो शक्ती परिक्षणका रुपमा समेत लिएका छन् । एमालेका नेता तथा कार्यकर्ताले गठबन्धनको ‘घेराबन्दी’ तोडिएको भन्दै सामाजिक सञ्जालमा टेकेन्द्रलाई बधाइ दिइरहेका छन् ।

    जिल्लाका कतिपय विद्यालयमा दलीय आधारमा व्यवस्थापन समितिको निर्वाचन र गठन भइरहेका छन् । आफ्नो शक्ती परिक्षण तथा व्यवस्थापन समिति, विद्यालय र सिंगो वडामा आफ्नो ‘पकड’ जमाउने भित्री स्वार्थ बोकेका दलहरुको कारण विद्यालयमा अनपेक्षित निर्वाचन हुने गरेको अभिभावक बताउँछन् ।

    उनीहरुले आफ्नो प्रभाव र शक्ती मापनको साधन विव्यास गठनलाई बनाउने गरेका छन् । सुरुमा सहमतीको ‘ढोङ गर्ने’ र पछि कुरा नमिलेको नाममा दलीय आधारमा उम्मेदवार उठाएर व्यवस्थापन समितिको निर्वाचनमा गर्नु सामान्य बन्दै गएको छ ।

    राजनैतिक दलहरुमा जुनसुकै सामाजिक संस्थामा पनि आफ्नो प्रभाव हुनुपर्ने गलत प्रबृत्ति बढेको छ । सबै निकायलाई आफ्नो ‘बश’मा राख्नुपर्छ भन्ने प्रबृत्तिले व्यवस्थापन समितिलाई पनि गाँजेको हो ।

    प्रधानाध्यपक, शिक्षक एबं कर्मचारी नियुक्तीदेखि सरुवामा पकड जमाउनकालागि व्यवस्थापन समितिमा ‘आफ्नो मान्छे राख्नुपर्छ’ भन्ने मान्यताले व्यवस्थापन समिति गठनलाई चुनावतर्फ डोर्‍याएको देखिन्छ । तर, व्यवस्थापन समिति गठनकाक्रममा तँछाड–मछाड गर्दै लड्ने र लडाउनेहरुको क्रियासिलता शैक्षिक गतिविधिमा भने शुन्य प्रायः हुने गरेको छ ।

    सम्बन्धित समाचार