शुक्रवार, चैत्र ११ २०७८
नेपाल वाइड
खोटाङ, ११ चैत । खोटाङ सेवा समाज कतारको ११ औं अधिबेसन आगामी १ अप्रिल (शुक्रबार)मा हुने भएको छ । ‘प्रवासको पसिना, स्वदेशको साकार सपना’ भन्ने नारा सहित १८ माघ २०५४ मा स्थापना गरिएको समाजको अधिबेसन नज्माको सालिमार पाटी प्यालेसको सभाहलमा गर्ने तयारी गरिएको छ । कतारमा ज्येष्ठ सामाजिक संस्थाको परिचय बनाएको समाजको अधिबेसनको तयारी तिव्र पारिएको खोटाङ सेवा समाज कतारका अध्यक्ष रुद्र शर्मा आचार्यले जानकारी दिए ।
रोजगारीमा सिलसिलामा कतार पुगेका जिल्लाबासीलाई एकताबद्ध गर्दै समस्या परेकाबेलामा हातेमालो गर्नका लागि समाजको स्थापना गरिएको हो । कतारमा नेपाली नियोग नहुँदा समाजले नियोगले सरह योगदान पुर्याएको थियो ।
समाजले आपत बिपतमा परेका नेपाली कामदारको उद्धार, अकालमा मृत्यु भएका नेपालीको शव स्वदेश पठाउने, आखफन्त गुमाएका आश्रित परिवारलाई आर्थिक तथा संस्थागत सहयोग गर्दैआएको छ ।
यस बाहेक समाजले २०७४ सालमा खोटाङका लागि एक वटा एम्बूलेन्स जुटाएर हस्तान्तरण गरेको थियो । अध्यक्ष शर्माले अधिबेसनमा उपस्थितिका लागि कतारमा रहेका खोटाङ्गे तथा गैर–खोटाङ्गे नेपालीलाई सहभागीताका लागि आग्रह गरेका छन् । अधिबेसनमा विभिन्न साँस्कृतिक कार्यक्रम सञ्चालन गरिने समाजले जनाएको छ ।