Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    नियात्रा

    काठमान्डौमा बितेका एकदिन !

    काठमान्डौमा बितेका एकदिन !


    • बुधवार, चैत्र १६ २०७८

    • भीम राई


    काठमान्डौमा बितेका एकदिन !
    भीम राई

    खोटाङ, चैत्र १६ । दुई पात रोटी र एक कप हरियो चिया पिएर मैले घर छाड्दा समय बिहानीको ९ बजिसकेको थियो । चैत्र महिनाको पारिलो घामले काठमाण्डौ सहरलाई छपक्कै ढाक्त्ता मेरा पाइतालाहरुले सुस्तरी गति लिन थालिसकेका थिए । त्यति सफा मौसममा चालिएका मेरा कदमहरु केहिबेरमा पिङ्गलास्थानमा पुग्यो अनि टक्क एकछिन रोकियो ।

    मूख्य सडक भन्दा केही अगाडि बग्रेल्ति ट्याक्सिहरु पार्क गरेर राखिएका भएतापनि मैले बस चढेर आफ्नो गन्तब्यतर्फ जाने निधो गरेको थिएँ । ट्यासिहरुलाई एकझलक नजर लगाए र बसको प्रतिक्षा गर्न थालें । नभन्दै एउटा बसले एकछिनपछि टुप्लुक्कै अनुहार झुल्काइ हाल्यो । त्यसरि झुल्किएको बस मेरो नजिक आउँदै गर्दा आखाँको थिर राम्रो नभएको हुनाले बस कुन ठाँउतर्फ जादै गरेको होला भनेर मलाई ठम्याउन निक्कै हम्मेहम्मे परिरहेको थियो । तर बस रोकिने बितिक्कै आ जे सुकै मरोस है भन्दै ढोकाको नजिकै पुगे र सहचालकलाई, ‘के बस महाराजगन्ज जान्छ ? भनेर जिज्ञासा ब्यक्त्त गरिहालें । उनि पनि के कम थिए र ? एकाइस्सौ शताब्दिमा हुर्कदै गरेको एकजना पटमूर्खले झै मुन्टो हल्लाएर मलाई जबाफ फर्काइ दिए ।

    हुनत सबै सहचालकहरुको हर्कत भने त्यति नराम्रो हुन्छन भन्ने केहि छैन । दुर्भाग्यबस मैले त्यसबेला त्यस्तो नियति भोग्न बाध्य हुन परयो । उनको नरमाइलो स्वागतलाई आत्मसाथ गर्दै लगभग खाली रहेको बसभित्र पसेर म सुस्तरी हिडदै चालकको नजिकै पुगें । तर मैले बसको सिटमा आसन गर्न पाउँदा नपाउँदै उनले सुस्तरी क्लच दबायो र टङलङ्ग आवाज आउने गरी जब्बरजस्ति प्रथम गियर लगायो । बसको गियर लागेपछि मेरा मनका भावनाहरु बसका टायरहरु सँगसँगै गुडन सुरु गरें । मेरो यात्रा सुरु भएको केहिबेरपछि गौशाला अनि चाबहिलको धुलाम्मे सडकमा बस बिलुप्त भयो र अनुहारभरि धुलो टालेर नायायण गोपाल चोक बिसौनीमा पुगेर अर्को चोटी रोकियो ।

    मैले त्यसबेला काँधमा एउटा थोत्रो झोलो भिरिरहेको थिएँ र झोलाभित्र सरम मानेर लुकिरहेको म्याकबुक एअर - ल्यापटप र एप्पलकै १३ प्रो मोबाइललाई बसदेखि ओर्लदै गर्दा एकचोटी निश्चित गरें । त्यसपछि बाँसबारी सडकको पेटीमाथि लम्रङलम्रङ हिडन थालें र केहिबेरमा थाइ राजदुताबासलाई पार गरेर ब्रिटिस गोर्खा कल्याणकारी केन्द्रमा पुगें । म त्यहाँ पुग्दा बिहानीको समय दश बजिसकेको थियो त्यसैले हतारहतार कल्याणकारी कार्यलयको हातामा पुगेर मूल ढोकामा रहेकी स्वागतिकाको सामु सुरिलो पोजिसनमा खडा भइदिए । म उनको अगाडि त्यसरी खडा भएको देखेपछि उनले मेरो पूर्व सैनिक नम्बर सोधिन र शिरको तापक्रम नापिन । म त्यसबेलासम्म यथास्थानमा ठिङ्ग उँभिरहेको थिएँ । तर उनले कम्प्युटरको स्क्रिनलाई हेर्दै, ‘मामा ! अहिले दश बज्यो, अब हामी चिया छुट्टीमा जादैछौं आधा घण्टा पछि भेटौला है,’ भनेर बिदा मागिहालिन ।

    उनको कुरो सुनेर म पुन: फर्केर कार्यलयको प्राङ्गनमा पुगें । त्यसपछि मेरो सामुन्ने देखा परेको खाली बेन्चमा थपक्कै आराम गर्नथालें र फुर्सतको समय सदुपयोग गर्नको लागि झोलाबाट बाङ्देलको पुस्तक, ‘स्पेनको सम्झना,’ निकालेर पढन थालें । मैले पुस्तक पढन सुरु गरेको मात्र के थिएँ । मेरो भान्जी जुवाइ महेन्द्र राई मेरो सामुन्ने अचानक झुल्कन भयो । उहाँ सातौ गोर्खा राइफल्सका पूर्व बेलायती गोर्खा सैनिक हुनुहुन्छ । तर मधुमेहको कारणले दाहिने खुट्टा काटिएपछिको त्यो भेट हाम्रो प्रथम भेट थियो । उहाँसँग भेटघाट भएपछि खुट्टा काटिनु अगाडिको र पछाडिको जिन्दगीलाई मैले राम्ररी तुलना गरें । जस्ले मलाई निक्कै असहज उत्पन्न गराएको थियो । उहाँलाई अचानक त्यस्तो अवस्थामा भेटदा मैले मानबको जीवनको बिषयमा सोचेर केहि समय मौन बसिरहें । तैपनि लामो समय पछिको हाम्रो भेटघाटले लगभग आँधा घण्टा समय बितेपछि म पुन: स्वागतिकालाई भेटनको लागि मूख्य ढोकामा खडा हुन पुगें । म त्यहाँ पुग्ने बितिक्कै उनले केहिबेर कुर्सिमा बसेर प्रतिक्षा गर्न भनिहालिन ।

    तिनै जुवाइसँग गरेका नानाथरिका कुरोहरु ह्रदयभरि सोच्तै कुर्सिमा आसन जमाएको केहिबेरमा ११ नम्बरको कोठादेखि मेरो नाम बोलाहट भयो । र, तिनै कोठामा काम गर्ने एकजना महिला कर्मचारीद्वारा मेरो हेल्थ स्क्रिनिङ् भयो । स्क्रिनिङको प्रक्रिया पुराभएपछि ब्रिटिस गोर्खा कल्याणकारी कार्यलय बागमतीका डाक्टर मदन थापाले ६ दशक पार गर्न लागेको मेरो बुढो शरीरको पुर्ण परिक्षण गरे । त्यसपछि भित्रभित्र धोद्रो र खिया परेको शरीर लिएर म सरासर बाँसबारी सडकतर्फ लम्किन थालें ।  

    २४सैं घण्टा जाग्राम बस्ने चक्रपथमा म पुग्दा सडक पुरै धुलाम्मे हुन थालिसकेको थियो । तैपनि धुलोबाट बाँच्नको लागि मैले आँखामा चश्मा, नाक र मुख ढाक्नको लागि मास्कको प्रयोग गरिरहेको थिएँ । मेरा कदमहरु चोकमा पुग्ने बितिक्कै नजर ट्राफिक बत्तिमा रोकिरहेको एउटा बसमाथि पर्यो । म सुस्तरि हिडदै त्यस बसको नजिकै पुगे अनि ट्वाल्ल परेर सडकको किनारमा एकछिन उभिरहें । प्राय: अन्य समयमा बसको सहचालक ढोकाको नजिकै झुन्डिएर बिभिन्न गन्तब्यको नाम उँच्चारण गरिरहेका मज्जाले सुन्न सकिन्थ्यो । तर त्यसबेला त्यस्तो केहि सुनिएको थिएन ।

    म त्यसरि ढोकाको नजिकै पुगेर सहचालकको उपस्थिति नदेख्दा एकछिन अलमल्ल परिरहेको थिएँ । तर अचानक बसभित्रदेखि एकजना लामालामा केस पालेका लिखुरे युवाले, ‘भित्र पसेर बस्नु भए हुन्छ,’ भनेको सुनेपछि म ढुक्क हुँदै सरासर बसभित्र पसे र, ‘कलङ्की जान्छ ?’ भनेर उनलाई ठाडो प्रश्न गरे । नभन्दै उनि पनि के कम थिए र ? ‘जान्छ,’ भनि हाले । उनको कुरो सुन्ने बितिक्कै म फुर्तिका साथ बसको अगाडिको भागमा रहेको खालि कुर्सीमा गिध्दे नजर लगाइ रहेको थिएँ, त्यतैतिर हानिहालें ।   

    खालि सिटमा पुगेर मैले मज्जाले आसन जमाउँदा प्राय: बस खालि जस्तै देखिएको थियो । भाग्यले साथ दिएर अगाडिको नै सिटमा आसन गर्न पाए भनेर म मनभित्रदेखि प्रफुल्ल मुद्रामा थिएँ । अब तिनै रोजाइको सिटमा बसेर सरर मटरको यात्रा गर्न पर्यो भनेर मेरा मन ढुक्क भए । अझै चक्रपथबाट देखिने त्यस क्षेत्रको मुहार नदेखेको ठेक्कै बिस बर्ष पुरा भइसकेको थियो । त्यसैले यस्तो अबसर घरिघरि जुर्दैन भनेर अति प्रसन्न मुद्रामा थिएँ । अगाडिको सिटमा मज्जाले आसन गरेपछि बस आफ्नो गन्तब्य पथमा लम्कन सुरु गर्यो । तर बसले आफ्नो गन्तब्य पथमा लम्कदै गर्दा त्यति फराकिलो सडकमा मलाई बसले कताकता तीन बाङ्गो कम्बर मर्काएर नाँच्ने बेलि डान्सको नर्तकीको प्रदर्शन जस्तो लाग्न थाल्यो ।

    त्यति फराकिला सडक जम्मै मेरा हो भन्दै बस हाक्ने चालकको ठेक्कै दाहिनेतिरको झ्यालमा परिमार्जन गरेर राखेको हर्नको एउटा स्यानो स्विच थि्यो । तिनै स्विचमाथि उनको दाहिने हातले मज्जाले आराम गरिरहेको मैले नजिक बाट नियालिरहेको थिएँ । अब दाहिने हात हर्नमा र बाया हातले मात्र स्टेरिङ् खेलाउँदा मेरो मनमा हल्का त्रास उत्पन्न भइरहेको हुन्थ्यो । उनले खेलाउने गरेको स्टेरिङ् र स्टेरिङ कलमलाई राम्ररी नियाल्दै गर्दा मैले बर्षौ अगाडि अध्यान गरेको स्टेरिङ ज्योमेट्रिका नियमहरु कास्टर एक्सन, क्याम्बर एङ्गल र एकरम्यान प्रिन्सिपललाई राम्ररी स्मंरण गरिरहें ।

    अझै उनले कनैकुनैबेला दुबै हात स्टेरिङदेखि हटाएर एकहातले हर्नको स्विच र अर्को हातले गियर खेलाउँदा भने मेरो ह्रदयले घरिघरि गति लिन छाडेको जस्तो महसुस हुन्थ्यो । उनको त्यो हर्कत र झनझन बसको गति बढिरहेको देख्दा मैले घरिघरि दाहिने खुट्टा उँचालेर ब्रेक हान्न थालिसकेको थिएँ । अब उनको त्यति धेरै लापरवाही ड्राइभिङ्ले वाकदिक भएपछि कति धेरै खुट्टा तन्काउन अभ्यास गर्ने है भनेर सो स्थानबाट उँठेर हिडने निधो गरें र करिबकरिब बसको बीच भागमा रहेको खालि सिटमा पुगेर थपक्कै बसें ।

    मैले त्यो सिटमा आसन जमाएपछि बस बालाजु नजिक पुगेर पुन: अर्को चोटि रोकिएको थियो । बस त्यसरि रोकिनाले खास्सै ठूलो असर त परेन तर एकजना अधबैसे महिला पहिले मसक्कै मस्किन त्यसपछि मेरो बायाँतिर रहेको खाली ठाँउमा आएर थपक्कै बसिन । उनी सिटमा जमिएर बसेपछि बसले आफ्नो गति कायम नै गरिरह्यो । ती महिला म सँगसँगै बसेकी निक्कै लामो समय हुँदासम्म हाम्रो बोलचाल हुन सकेका थिएनन् । तैपनि बसले सुस्तरी स्वयम्भु काटेपछि, ‘बैनी ! म कलङ्कीमा झर्नु पर्नेछ, मलाई कलङ्की पुग्ने बेलामा थाहा दिनुहोस है ? किनभने मलाई कलङ्की बस बिसौनी अलिक राम्ररी थाहा छैन ?’ भनेर बिन्ति बिसाइ दिएँ । प्रति उत्तरमा उनले, ‘धन्दा मान्न पर्दैन, म पनि त्यही झर्छु,’ भनेर जबाफ फर्काइन ।

    उनको जबाफ सुनेर म ढुक्कले आराम गर्दै यात्राको क्रममा देखिएका रमिताहरुलाई आफ्नो दिमागमा कैद गर्न थालें । अझै त्यति रोमान्चकारि बस यात्रामा सबैभन्दा बढि मनोरन्जन त बस रोकिएको बेला पो हुने गर्दथ्यो । किनभने हरेक बसका सहचालकहरुले यात्रुहरुलाई आफ्नो बसप्रति आकर्षण गर्न खोजिरहेको दृश्य मज्जाले हेर्न सकिन्थ्यो । त्यसपछि बसले केहिबेरमा स्वयम्भु पार गर्यो र कलङ्कीमा पुगेर पुन: आराम गर्यो ।

    कलङ्कि बस बिसौनीमा बस रोकिने बितिक्कै तिनै बैनी मेरो अगाडि अगाडि बसदेखि झर्न सुरु गरिन । उनी झर्न सुरु गरेपछि म पनि चनाखो बनेर उनको पछिपछि उत्रिन थालिहालें । हामी बसदेखि उत्रने बितिक्कै एक हुल मानिसहरुले कुन ठाउँमा जाने हो भनेर हामीलाई पुरि लगे । उनिहरुको का्र्यशैलीले म एकछिन अचम्मित त यस्सै भए तर बैनीले, ‘मेरो पछिपछि आउनोस, किनभने यो जम्मै चितवन जाने गाडीहरु हुन्,’ भन्दै सरासर अगाडि हिडन थालेको देखेपछि उनको हुकुम शिरोपर गर्दै म पनि उनको पछीपछी लम्किन थालें । बसदेखि झरेपछि हामी दुवैजना लगभग ३-४ सय मिटर जति सँगसँगै अगाडि बढेका थियौ । त्यसपछि अब त्यो बाटो जानोस है भन्दै बैनीले मसँग सँधैको लागि बिदा मागिन ।

    टेकु जाने बस देखाउन मदत गरे बापत आभार प्रकट गर्दै म तिनै बैनीसँग सधैंको लागि बिदा भए । र, म चाहिँ निर्धक्कको साथ अगाडि बढन थालें । नभन्दै सिधै अगाडिको एउटा घुम्ति पार गरेर हिडेको केहिबेरमा लामो हर्न सहित एउटा बस मेरो अगाडि रोकियो । मध्यान्हको समयमा प्रचण्ड गर्मी थियो त्यसैले गोजिबाट थोत्रे रुमाल निकाले र अनुहारको पसिना एकचोटी पुछे । अनुहारको पसिनाले सँधैको लागि बिदा लिएपछि ढुक्कले बसमा चढें । बसमा ढुक्कले चढेपनि मेरो मन त्यति लामो समयसम्म ढुक्क हुन सक्त्तै सकेनन् । किनभने बस अगाडि बढने क्रममा सडक केहि ओरालो थियो । तिनै ओरालीमा चालकले ब्रेक दबाउँदा ब्रेकबाट भिमकाया आवाज निस्केको सुन्न थालें । त्यसबाट निस्केको आवाज बसभित्र मात्र नभएर निक्कै टाढा रहेको बिष्णुमती नदिसम्म मज्जाले सुन्न सकिन्थ्यो । जतिजति ब्रेकको आवाज सुन्निन्थ्यो उतिउति ब्रेक सु सकिरहेको र मेरो मन जलिरहेको थियो । 

    अब के गर्ने ? अर्को स्टेसनमा झरेर बस फेर्ने कि यसैमा यात्रा गरि रहने ? म केहिबेर दोधारमा परिरहें । आ जे सुकै मरोस है भने । ब्रेक तातिएर जतिसुकै ह्विलड्रम रातो भएपनि मेरो टेकु जाने यात्रालाई मैले निरन्तरता दिइरहें । यदाकदा बसको ब्रेक फेल भयो भने बसको बिचौ भागमा छु सायद केहि हुदैन होला भनेर बेचैन मनलाई शान्त्वना दिन खोजें । मेरा मनभित्र अनेकौ आँधिबेरी चलिरहे पनि केहिबेरमा बसले कालिमाटी चोकमा पुगेर एकछिन आराम गरयो । त्यहि समयमा परेवाका जोडि जस्तै देखिने एकजोडि सुन्दर युबायुबती बसभित्र छिरे । उनिहरु बसभित्र पस्ने बितिक्कै युबतीले ठेक्कै मेरो अगाडिको सिटमा आसन जमाइ हालिन र युबाले भने एकछिन दायाँ बायाँ हेरे र मसँगै भएको सिटमा आएर बसे । तिनै युबाले मलाई टेकु अस्पताल अगाडिको बस बिसौनी पत्ता लगाउन मज्जाले मदत गरे ।

    त्यो भन्दा अगाडि त्रिपुरेश्वरको बाटो भएर म दुइचोटि टेकु अस्पताल पुगेको थिए । तर कालिमाटीदेखि भने त्यो मेरो बिलकुल पहिलो अनुभव थियो । एकछिनपछि ‍बस टेकुको बिसौनीमा रोकिएपछि म ढल्कदै ढल्कदै अस्पतालमा पुगे किनभने त्यसदिन मेरो रेबिज बिरुध्दको तेश्रो अथवा अन्तिम डोज खोप थियो । वास्तबमा खोपको कुरो गर्दा मेरा पाखुराहरु धन्यबादका पात्र भइएसकेका थिए किनभने एउटा जीवित प्राणीको लागि आफ्नो शरीर नै सबैभन्दा प्यारो लाग्ने गर्दछ । अझ यसो भनौ यदि मानिसले जिन्दगीमा कुनै चिज मन पराउँछ भने त्यो निश्चय नै आफ्नो जिन्दगी हो । त्यो बाहेक अरु सबै झुटा हुन् । सायद त्यसैले होला मैले यस्सै बर्ष तीनतीन वटा कोरोना भाइरस बिरुध्दको खोप, फ्लु खोप, टिटानस र रेविजको तिनतीन वटा खोपहरु लगाएको सम्झदा मेरो आङ्ग नै जिरिङ्ग हुन्छ । अब बाँकी रहेको जीवनमा अझै कति खोप लगाउनु पर्ने हो कुन्नि ? त्यो त समयले बताउँदै लैजाला । तर जति चोटि खोप लगाएपनि पश्चिमेली र पूर्बेली मुलुकमा खोप लगाइदिने मानिसहरुको ब्यबहार चाहिँ कसोकसो मैले निक्कै फरक अनुभूति गरें ।

    पश्चिमी मुलुकहरुमा खोप लगाउनु भन्दा अगाडि केहि प्रश्नहरु सोध्ने मात्र नभएर खोप लगाई सकेपछि १५ मिनेट जति आराम गर्न लगाउछन भने टेकुमा तीनतीन चोटी खोप लगाउदा पनि त्यहाँ काम गर्ने महिला कर्मचारीहरुसँग बोलचाल हुन नसक्त्ता हल्का अचम्मित भएका थिएँ । हुनत उहाँहरु ब्यस्त हुनुहुने रहेछन् तैपनि पश्चिमेली मुलुकहरुमा जतिसुकै ब्यस्त भएपनि धन्यबाद र स्वागत भन्ने शब्दहरुको खर्च बरोबर भइरहने गर्दछ । आखिर हामी नेपालीहरु चाहिँ किन भद्र, नम्र र मिजासिलो हुन सकिरहेका छैनौ भन्ने प्रश्नको उत्तर खोज्दै खोज्दै तिनै टेकुको साँघुरो गल्लि भएर त्रिपुरा मार्गतर्फ अगाडि बढें ।

    त्यसरि त्यति सानो गल्लीमा हिडदै गर्दा कारहरुले पेलेर घरिघरि पसलका भित्तासम्म पुर्याइदिदा भने केहि खल्लो महसुस भइरहेको थियो तर सहिद शुक्रराज शास्त्रीको शालिक नजिकै पुग्न त्यति लामो समय भने मलाई लाग्दै लागेन । भर्खर भर्खरै खोप लगाएको थिए त्यसैले केहि आरामदायि यात्रा होस भन्नको लागि ट्याक्सिमा चढनु पर्यो भनेर ‘इनड्राइभर’ बाट एउटा ट्याक्सिलाई बोलाएर उनको प्रतिक्षा गर्न थालें ।

    त्रिपुरा मार्गमा पुगेपछि सडक अति ब्यस्त थियो । र, म तिनै ब्यस्त सडकभित्र एकाध उँभिरहेको थिएँ । तर प्रकृतिको नियम पनि अचम्मैको मान्नु पर्छ । केहिबेरमा अचानक कालिमाटीदेखि बटारिएर आएको आँधिबेरीले मेरा आँखाका ढकनिहरु एकास्सि बन्द हुन पुगे । अन्य समयमा म अन्न चपाउने मानिेस त्यसबेला हावा र बतासले मेरा मुखभरि सडकका बालुवा भरिएकाले तिनै बालुवा चपाइ रहेको थिएँ । त्यसरी एकास्सि बन्द भएका मेरा नयनहरु खुला हुन पाउँदा नपाउँदै ट्याक्सि चालकले, ‘म आइपुगे,’ भनेर मोबाइल मार्फत जानकारि गराइ हाले । हावाहुरि, धुँवा र धुलोले बनाएको कोलाहलमय टेकुमा मलाई उनको ट्याक्सि नम्बर पत्ता लगाउँन निक्कै कठिन पर्यो ।

    मोबाइलमा देखिएको उनको ट्याक्सि नम्बर र मेरा वरिपरि देखिएको ट्याक्सिका नम्बरहरु रेखाङ्कित गरिरहेको थिएँ तर उनको नम्बर देख्नै सकिन । ट्याक्सिको केहि मेसो पत्ता लगाउन नसकेर हार खाएपछि सोहि स्थानमा उँभिरहें । एकछिनपछि चालकले दिएको नम्बरभन्दा एउटा फरक नम्बर भएको ट्याक्सि मेरो सामुन्ने आएर टक्क रोकियो । बिस-बाइस उमेर पुगेको जस्तो देखिने चालकलाई ट्याक्सि नम्बरको बिषयमा देख्ने बितिक्कै कुरो राखि हालें । त्यो नम्बरलाई ट्राफिक प्रहरीले चिट काटेको हुनाले अर्को ट्याक्सिको प्रयोग गरेको हुँ भनेर थोरै मुस्कान सहित उनले जबाफ फर्काइ दिए ।  

    लामो समयको प्रतिक्षापछि ट्याक्सि आयो र ट्याक्सि जेड स्ट्रिट, ठमेलतर्फ गुड्न थाल्यो । हामी केहिबेरमा ठमेलको रामदा इन होटल नजिकै रहेको बेनामे क्याफेको सिधै अगाडि पुग्यौं । बिहान हसुरेको रोटि र चियाले लगभग बिदा लिइसकेको हुनाले मलाई थोरै भोक र तिर्खाले सताइरहेको थियो । त्यसैले ट्याक्सि रोकिने बितिक्कै क्याफेको काखमा टुप्लुक्कै पुगेर मुन्टोलाई वरिपरि घुमाउन थालें । म त्यहाँ पुग्दा क्याफे लगभग सुनसान जस्तै देखिएको थियो तर क्याफेको सिधै भित्रपट्टि एउटा सानो ट्रा्भल एजेन्टको कार्यलय देखिन्थ्यो । जहाँ एकजोडी अधबैँसे कर्मचारीहरु निस्फिक्री काम गरिरहेका थिए । बाहिर क्याफेको सुकोमल छातिमा चाहिँ २ जना युवाहरु हासि खुसिका साथ कफि पिइरहेका देखिन्थे भने एकजना चिनिया मूलका मानिसले केहिपर एककप ग्रिन टि पिइरहेका दृश्य देख्न सकिन्थ्यो ।

    पहिले म त्यहाँ पुगेर एकछिन त्यतिक्कै टोलाइ रहें । तर भित्तामा लेखिएका मेनुलाई सरसर्ति पढन थालें । मैले मेनु पढदै गर्दा क्याफेको पैसा लेनदेन गर्ने स्थानको ठीक पछाडि एउटी युबती मोबाइलमा झुन्डिरहेकी थिइ । मेरो कर्के नजर केहि सेकेन्ड उनी माथि पर्यो । यसै त ठमेलका स-साना बाटाहरु त्यहिमाथि मध्यान्हको उखरमैलो गर्मिले सहर तातिदै जाँदा मलाई गर्मी र तिर्खाले सताइ रहेको थियो । क्याफेको भित्तामा रहेको मेनु मज्जाले पढिरहेको बेला तिनै युबती कर्मचारीले, ‘हजुरलाई के टक्र्याउँ कुन्नि ? भनेर प्रश्न गरिन । मैले उनको कुरो सुन्ने बितिक्कै, ‘एउटा लसि बनाइ दिनुहोस है,’ भनेर अनुरोध गरें ।

    ‘ला ! लसि त छैन,’ उनले थोरै मुस्कान सहित जबाफ फर्काइ हालिन ।

    पहिेले मुस्कान त्यसपछि क्रमश: धुमिल बन्दै गएको उनको मुहारलाई मैले एकझलक पढें त्यसपछि, ‘ल ! उसोभए ठिक्कै छ । जे छ सोहि दिनुहोस है,’ भन्दै उनी प्रति थोरै सहानुभूति प्रदर्शन गर्न खोजे ।

    ‘मिल्कसेक बनाइ दिउँ ?’ सुस्तरि अगाडि बढिन र मेरो नजिकै आएर सादर अनुरोध गरिन ।

    ‘भै हाल्छनि,’ स्वीकारोक्त्ति जनाइ दिए ।

    त्यति बोलि सकेपछि मैले नजिकै रहेको एउटा कुर्सि ताने र त्यसमाथि थपक्कै बसे । उनी काउन्टरको पछाडि भएतापनि मेरो सिधै अगाडि थिइ त्यसैले उनको कार्यशैलीलाई नजिकैदेखि नियाल्न सुरु गरे । उनले अलिकती दुध त्यसपछि थोरै बरफ ब्लेन्डरमा हालेर घोल्ने प्रयत्न गरिन । तर उनको ब्लेन्डरले पटक्कै काम गर्न सकेको देखिएन । जेड स्ट्रिटको क्याफेमा एउटा निख्खुर कालो टि सर्ट र निलो जिन्सको पतलुनले सजिएकी सुन्दरीले ब्लेन्डर चलाउन भगिरथ प्रयत्न गर्दा उनको अनुहारमा चिटचिट पसिना आउन थालेका बिरमाइलो दृश्य नजर लगाईरहें ।

    उनको कैयन प्रयत्नहरु अशफल भएको देखेपछि मेरो दिल यस्सैयस्सै रोएर आयो । तैपनि भाग्यबस त्यसबेलासम्म मैले उनको नाम र थर जानिसकेको थिएँ । त्यति मिठो बोलिकी धनि सङगिता जिरेललाई, ‘ल भैगो, अब एउटा जसमिन चिया बनाइ दिनु होला,’ भनेर उनको कोसिसको अति आदर गरें । ‘आ….यति धेरै गर्मि छ, के चिया पिउनु हुन्छ है,’ भन्दै उनले ब्लेन्डरलाई जबरजस्ति चलाएरै छाडिन ।

    उनको कलिलो हातले दुई गिलास मिल्क सेक बनाइन र एक गिलास मलाई दिइन अनि अर्को गिलास उनी आफैंले पिउन सुरु गरिन । हामी दुवैजनाले मिल्कसेक पिउँदै गर्दा, ‘के तपाइँलाई यहाँदेखि हिडदै सन्चयकोष बिल्डिङसम्म जाने छोटो बाटो थाहा छ,’ भनेर प्रश्न गरें । उनले, ‘भित्र ट्राभल अफिसमा काम गर्ने भाउज्यूसँग जानु होला, किनभने भाउज्यू पनि उतै जाँदै हुनुहुन्छ ।’ उनको कुरोले मेरो मुहारमा लाली छायो । त्यसपछि तिनै भाउज्यूसँग हामी हिड्दै त्रिदेवी सडकतर्फ लाग्यौ । भाउज्यूले महिनाको लगभग १५ हजार तलब दिएर क्याफेमा काम गर्न राखेकी सङ्गितालाई, ‘के सङ्गिता तपाइँको साथि हो ?’ भनेर सोधेको प्रश्नले मलाई केहिबेर अमुक बन्न बाध्य बनाइ दियो ।

    दिन ढल्कदै जादै थियो तर मैले उनको प्रश्नको उत्तर दिन नसक्त्तै हामी स्वप्न बगैँचा (ड्रिम गार्डेन) काटिसकेको थियौं । मैले मन भित्रभित्रै त्यहाँदेखि अर्को ट्याक्सि समातेर बागबजारसम्म जाने योजना बनाएको थिएँ । ‘आ….. बागबजारसम्म नै जाने हो भने जाबो के ट्याक्सि चढनु हुन्छ, अब यति नै हिडनु भयो भने पुगि हाल्नु हुन्छ नि,’ उनले भनिन् । उनको भनाइमा केहि सत्यता लाग्यो र कान्तिपथसम्मको उनको या्त्रालाई मैले साथ दिन सुरु गरिहालें ।

    हाम्रा कदमहरु सुस्तरी तर क्रमश: अगाडि बढिरहेका थिएँ । जब हामी कान्तिपथ सडकमा पुग्यौ, तब हाम्रो सामुन्ने एउटा ब्यस्त जेब्रा क्रसिङ देखा पर्यो । मौसम अति सफा थियो त्यसैले अत्याधिक मटरहरु गुडिरहेका त्यहाँ स्पष्ट देख्न सकिन्थ्यो । जेब्रा क्रसिङ पुग्ने बितिक्कै उनले सरासर बाटो काटन थालिन तर म चाहिँ उनी जति निडर छँदै थिइन बरु अलिक लठेप्रो र डरछेरुवा रहेछु । त्यसैले सडकको किनारमा आरेमेरे परिरहें । अब मैले बाटो काटन आँट नगरेपछि उनी फेरि बीच सडकदेखि फर्केर मेरो नजिकै आइन, ‘बिदेशमा जस्तो सडक पार गर्न स्वदेशमा कहाँ सजिलो हुन्छ र ?’ भनिन् र दाहिने हात माथि आकासतिर उँठाएर मटरहरु रोक्त्तै मलाई बाटो काटन मदत गरिन ।

    उनको सहयोगले बाटो पार गरेपछि उनी आफ्नो गन्तब्य कौशलटारतर्फ लागिन । उनीसँग बिदा हुँदा बाटो काटन सहयोग गरे बापत मैले उनलाई धेरैधेरै धन्यबाद दिए । तर कान्तिपथ सडक पार गरेपछि आखिर जेब्रा क्रसिङ्मा पनि पैदल हिडने मानिसहरुलाई (प्रेडेस्ट्रिन) नेपाली चालकहरुले किन प्राथमिक्त्ता नदिएका होलान् भन्ने प्रश्नले मेरो मन केहिबेर हलचल बनाईरह्यो । अझै सबैभन्दा खेदको कुरो त के छ भने म जस्तो सडकछाप मानिसहरुको दु:ख र पिडालाई ठूल्ठूला मानिसहरुले के वास्ता गर्लान र ? भन्दै लम्रङलम्रङ अगाडि बढिरहें । एकछिनपछि दरबारमार्ग पुगेर बाटो काटनको लागि आँखा चिम्ले, बरु मर्छु तर बाटो पार गर्छु भन्दै जिन्दगीलाई दाउँमा राखेर बाटो काटें । त्रिचन्द्र नजिकै पुग्दा बाटो काटन सफल भएकोमा अति प्रफुल्लित थिएँ र हल्लिदै हल्लिदै बागबजारतर्फ लागें ।

    जामे मस्जिद पार गरेर बागबजार घुम्ने बितिक्कै रत्न पुस्तक भण्डारमा छिरेका थिएँ र त्यहाँ पुगेर एक पटक टोकियो, मेरो पहिलो बेलायत यात्रा, नियात्रा बिधा परिचय, सोभियत संघको सम्झना, पैदलै काठमाण्डौंका चुलीहरु किनेर झोलामा थपक्कै राखे । रत्न पुस्तक भण्डारका कर्मचारीहरु ज्यादै मिलनसार एबम सहयोगि थिए र उनिहरुले मैले भने अनुसारका पुस्तकहरु खोज्न राम्ररी मदत गरे ।

    तिनै पुस्तकहरु हातमा परेपछि म सुट-माला बागबजारतर्फ लागे । जहाँ मैले एकजोर सुट सिलाउनको लागि केहिदिन अगाडि नै अर्डर दिएको थिएँ । त्यहाँ पुगेर मेरो लागि तयारी बनाएर राखेको सुटको परिक्षण गर्दा पतलुङको एउटा खुट्टा लामो र अर्को छोटो सिलाएको देख्दा मेरो मन टङलङ्गै भाँचियो । आखिर मानिसको मन शिसाको जस्तै त हुन्छ । सानो कुरामा टुक्रि हाल्छ ।

    सहरको सबैभन्दा राम्रो टेलर भनेर श्रीमतीलाई बढाँइचढाँइ गरेको थिए । अब घरमा पुगेर के भन्ने होला भनेर थोरै पिरको भुँमरीमा डुबिरहें । अझै सबैभन्दा दु:खको कुरो त त्यो पतलुङ लगाउँदा ठेक्कै चार्ली चाप्लिन जस्तै देखिएको थिएँ र आफुले आफैंलाई ऐनासामु हेर्दा फिस्स हासें । नेपालको राजधानि काठमाण्डौमा नयाँ सुट पहिरिदा भरङ्गै भएको मनलाई एकछिनपछि शान्त बनाएता पनि मुखले ज्यादै मिठो तर ब्यबहारले ज्यादै नमिठो गर्ने त्यो साहुजीको बोलि सुन्दा मलाई ‘माइ बोस कलेक्सन - टेलर’ पुकेट थाइल्याण्डको यादले मनभरि सताइ रह्यो ।

    सुट दोकानदेखि बिक्षिप्त मन लिएर बाहिर सडकमा निस्केपछि सडक किनारमा पर्चा (लिफलेट) बाडिरहेको एकजना युबतीसँग मेरा नजर जुधे । भर्खरभर्खरै टिनेजर अवस्था पार गरेकी ती युवतीले मेरो हातमा ‘राम्रो र भरपर्दो काम खोजौ, रोजगारको लागि ड्रिम हाइ रोजौ’ भन्ने पर्चा थमाइ दिदाँ म झसङ्ग झस्कें । किनभने रोजगारबाट दिनदिनै वाकदिक भएर म भर्खरभर्खरै निबृत हुन खोजिरहेको थिएँ । अव पर्चा हातमा परेपछि एकझलक पर्चा हेरे अनि सुस्तरी मुन्टो घुमाएर उनको मुहारतिर पारें ।

    मेरो आँखा उनको आँखामा पर्ने बितिक्कै, ‘अध्यान कति गर्नु भएको छ ?’ भनेर स्यानो प्रश्न तेर्स्याइ दिएँ । उनले जबाफ दिने क्रममा दश कक्षासम्म सकेकी छु । अब पढन पनि मन लाग्तैन र दिनभरि यसरी पर्चा बाडने काम पनि ज्यादै कठिन हुनेरहेछ भन्दै उनले दाहिने खुट्टाले जमिन कोट्याउन थालेकी थिइन । जिना राई नाम बताउने ति पर्चावालीले मास्क लगाइ रहेकी हुनाले मैले उनको जम्मै अनुहार भने हेर्न सकिन । तर त्यसबेला उनको त्यति नरम र मृदुभाषी बोलिले मेरो ह्रदय सुस्तरि पगाली रहेकी अनुभब गरिरहेको थिएँ ।

    बिहानको १० बजेदेखि बेलुकीको ५ बजेसम्म पर्चा बाडेर महिनाको ८ हजार कमाउन उनी ताप्लेजुङदेखि सहर छिरेका रहेछिन । त्यति तलबले सबै नेपालीहरुको आकर्षक तर धुलाम्मे सहरमा घरभाडा, खाना, यातायत र मोबाइल फोन मात्र नभएर भडकिलो जीवनशैलीसँग कसरी ब्यवस्थापन गर्छिन होली भनेर म केहिबेर स्तब्ध बनिरहें । उमेरले लगभग १८ बर्ष टेक्नै लागेकी ती अबोध युबतीसँग छुटिदै गर्दा म मेरी छोरीलाई मनभरि स्मंरण गरिरहेको थिएँ ।

    मैले उनलाई अचानक भेटदा, “जीवनमा अभाव हुनु जतिको पिडा अरु केही चिजमा हुदैन,” भन्दै मैले मेरो बाल्यकाललाइ निक्कै लामो समयसम्म सम्झिरहें । मेरो बाल्यपन र तिनै युबतीले बिताइरहेकी कष्टकर जिन्दगीको बारेमा सोच्तै हिडदा म पुतलीसडकको चोकमा पुगिसकेको थिएँ । चोकदेखि बायाँ मोडिएर अलिक सुरक्षित स्थानमा पुगेपछि हरेक बसको सहचालकलाई बस सिनामङ्गल जान्छ कि जादैन होला भनेर सोध्न थालिसकेको थिएँ । तर दुर्भाग्यबस मेरो सवालको जबाफ कुनैपनि सहचालकहरुले पटक्कै दिन मानिरहेका थिएनन् । केहि अन्य उपाय नलागेपछी सुस्तरि देब्रेतिर फर्केर हिडन खोज्दै थिएँ । तर त्यसबेला मेरो छेवैमा उँभिरहेको एकजना भलादमी मानिसले, ‘यहाँ होइन ! उ पर कमलादि सडकको अन्तमा गएर टेम्पो समात्नु भयो भने सिनामङ्गल पुग्न सकिन्छ,’ भन्दै मलाई ठाउँ देखाइ दिनु भयो ।

    तिनै भलादमि मानिसको भनाइ सुनेर म सुस्तरि त्यस स्थानतर्फ बढन थालें । उनले भनेझै केहिबेरमा सिनामङ्गल जाने एउटा सफा टेम्पो आयो र म शिर निहुँरिएर त्यसभित्र छिरे । मैले टेम्पोभित्र आसन जमाएपछि त्यसले आफ्नो गति लिन सुरु गर्यो र मैतिदेवीमा पुगेर टक्क रोकियो । टेम्पो रोकिने बितिक्कै २ जना अधबैसें महिलाहरु टेम्पोमा चढे र मेरो नजिक्कै कुम जोडेर बसिहाले । एकजनाले मसँगै कुम जोडेर बस्नाले मलाई अन्य केहि फरक त परेको थिएन तर उनको काँखिबाट निस्केको पसिनाले लुथुक्रै भिजेको रातो ब्लाउज मेरो आँखा अगाडि झलझली नाँचिरह्यो । अझ त्यहाँदेखि उत्पन्न भएको गन्धले सुस्तरी मेरो छोटो नाकसम्म पुगेर ठोकिन थालेको थियो । तर जब सफा टेम्पो फोहोर टुकुचाको साँघुमाथि रोकिन पुग्यो तब पहिले नै भाँचिएको नाखलाई खोलाको दुर्गन्धले अन्त कतै हराइरहेको अनुभूति गरिरहें ।

    बानेश्वर !

    लेखक भिम राई बुईपा, खोटाङका हुन् ।

    सम्बन्धित समाचार