आइतवार, चैत्र २० २०७८
नेपाल वाइड
खोटाङ, २० चैत । १८ दिनमा खोटाङको त्रि–धार्मिक स्थल हलेसीबाट पाँच लाख भेटी संकलन भएको छ । गत १ चैतदेखि १८ चैतसम्ममा हलेसी महादेव मन्दिरमा दर्शन गर्न आएका दर्शनार्थीबाट ५ लाख ४ हजार ९०० भेटी रकम संकलन भएको हो ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने मन्दिरको शिव पार्वती थानबाट ४ लाख ३६ हजार र मन्दिरको प्रांगणमा रहेको दान पेटिकाबाट ६८ हजार ९०० आम्दानी भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिनुभयो ।
हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसी मन्दिरबाट भएका आम्दानीमध्ये पानी, भेटी गणना, अतिथि सत्कार, खाजा लगायतमा ६२ हजार ५१० खर्च गरेर बाँकी रहेको ४ लाख ४२ हजार ३९० रकम माछापुछ्रे बैंकको हलेसी शाखामा खोलिएको हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा गरिएको छ । हलेसीमा आउने दर्शनार्थीले चढाएका भेटी रकमलाई गणना गरेर आम्दानीका रुपमा सार्वजनिक गर्नेगरिएको छ ।
यस अवधिमा सिन्धुपाल्चोक धुमथा–१ का धनबहादुर गुरुङले १ तोलाको सुनको दियो र ३ तोला ८७ लालको चाँदीको प्लेट चढाएको सूचना केन्द्रले जनाएको छ ।
यस्तै, बुढानिलकण्ठ नगरपालिका–१० कपनका कान्छा तामाङले २५.१० तोलाको विस्कोट आकारको १ थान चाँदी चढाएका छन् । यस्तै, अन्य दर्शनार्थीले भारु ३ हजार ४००, अमेरिकन डलर १, चाँदी १४.६५ तोला र सुन ०.००५९ तोला चढाइएको सूचना केन्द्रका प्रमुख राईले जानकारी दिनुभयो ।