सोमवार, चैत्र २८ २०७८
नेपाल वाइड
खोटाङ, २८ चैत । रोजगारीका सिलसिलामा साउदीअरब पुगेको महिना दिन नपुग्दै चार जना कामदार स्वदेश फर्काइएका छन् । ओमेगा मेनपावर कम्पनी, बसुन्धारा, काठ्माण्डौंबाट बेकरी हेल्परका रुपमा साउदीअरबको इमाद बेकरी उद्योगमा पुगेका खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका चिरञ्जिवी राई सहित चार युवा युवा महिना दिन नपुग्दै फर्काइएका हुन् ।
महिना दिन नपुग्दै घर फर्काइएकामा एक जना उदपयुरका, एक जना, सिन्धुली, एक जना धरान र एक जना पश्चिमका युवा छन् । पैसा कमाउने सपना बोकेर ऋण काढेर साउदीअरब पुगे लगत्तै रित्तो हात फर्कनुपर्दा युवा निराश बनेका छन् ।
चार युवा मेनपावरलाई जनही १ लाख २० हजारदेखि १ लाख ७० हजारसम्म बुझाएर साउदीअरब पुगेका थिए । राईले १ लाख ५० हजार बुझाएर साउदीअरब पुगेको बताए । सुरुमा बेकरी उद्योगभित्र हेल्परको काम लगाइएका कामदारलाई क्रमशः आउटडोरको काममा लगाएर कामबाट निकालेको हो ।
कम्पनीले बिना कारण टिकट काटेर घर फर्काएको राईले बताए । ‘बेकरी हेल्परका रुपमा गएका थियौं । त्यसपछि ढोका पुछ्ने, त्यसपछि शौचालय सफा गर्ने काममा लगाए । एक दिन रुम जा भन्यो,’ राईले भने, ‘भोलीपल्ट काममा जाँदा टिकट थमाएर घर जा भन्यो । के कारणले हामीलाई घर फर्कायो भन्ने थाहै भएन ।’
मेनपावरसँग कुरा राख्दा रित्तो हात फर्काइएका युवालाई टिकट, श्रम गरेको र भिसाको पैसा कटाएर ९० हजार फिर्ता दिने वा फ्रिमा मलेसिया पठाउने भनेर फकाइरहेको बताइएको छ । रोजगारीका सिलसिलामा उनीहरु ११ फागुनमा साउदीअरब पुगेका थिए ।