शनिवार, जेठ २१ २०७९
नेपाल वाइड
खोटाङ, २१ जेठ । किरात समुदायको उदगमथलो मानिने खोटाङको तुवाचुङ जायजुममा सुप्तुलुङ (चुला) पुजा तथा साकेला सिली प्रदर्शन गरिएको छ ।
हलेसी तुवाचुङ नगरपालिकामा पर्ने तुवाचुङ जायजुमडाँडामा उभौली चाडको अवसरमा शनिबार किरात राई समुदायले तीन चुला पुजा गर्दै साकेला सिली प्रदर्शन गरेका हुन् ।
खोटाङ, उदयपुर, ओखलढुंगा, भोजपुर लगायतका राई समुदाय तुवाचुङ जायजुममा भेला भएर सामुहिक रुपमा चुला पुजा गर्दै साकेला नाचेका छन् ।
ऐतिहासिक एबं पर्यटकीय स्थल तुवाचुङ जायजुममा पितृको सम्झना एबं संस्कार संस्कृतिको संरक्षणको सन्देश दिनका लागि तुवाचुङ जायजुम संरक्षण समितिले हरेक वर्ष (चुला) पुजा तथा साकेला सिली प्रदर्शन गर्दैआएको छ ।
नछुङ चारुमान राईले चिनचुलाको पुजा गरेपछि हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले प्रमुख अतिथिका रुपमा रिबन काटेर साकेला सिली उद्घाटन गरेकी थिईन् ।
कोभिड–१९ को महामारीका कारण रोकिएको तीन वर्षपछि मात्र तुवाचुङ जायजुममा चुला पुजा गर्दै साकेला नाचिएको हो । ढोल, झ्याम्टा र साकेला गीतले तुवाचुङ जायजुमडाँडा दिनभर गुञ्जायमान भएको थियो । परम्परागत भेषभुषामा सजिएर अलग अलग समुहमा ढोल, झ्याम्टा बजाएर साकेला गीत गाउँदै तुवाचुङ जायजुम आएको र फर्किएको मनमोहक दृश्या देखिएको थियो ।
साकेला सिली प्रदर्शनीमा विभिन्न स्थानमा १५ समुहले साकेला नाच प्रस्तुत गरेका तुवाचुङ जायजुम संरक्षण समितिका अध्यक्ष राकेश राईले बताए ।
किरात राईको पुर्खा तायामा, खियामा र रैछाकुलेले कृषि युग र मानव सभ्यताको सुरुवात गरेको किंवदन्ती बोकेको स्थलमा हरेक बैसाख पूर्णीमा र मंसिर पूर्णीमाको अवशरमा एक/एक पटक चुला पुजा गर्नेगरिएको संरक्षण समितिका महासचिव दिनेश राईले बताए ।
मध्यपहाडी लोकमार्गले छोएको तुवाचुङ जायजुममा किरात राईको पुर्खा रैछाकुले, तायामा र खियमाको ढलौटको मुर्ती राखिएको छ ।
यस्तै, प्राकृतिकरुपमा रहेका रैछाकुले र तान बुन्ने ढुंगालाई पर्खालको घेराबारा हालिएको छ । सो स्थानमा विभिन्न चाडको अवशरमा पनि स्थानीयको भीड लाग्ने गरेको छ । तुवाचुङ जायजुमको नाममा १५१ रोपनी जग्गा रहेको संरक्षण समितिले जनाएको छ ।