बिहिवार, जेठ २६ २०७९
नेपाल वाइड
खोटाङ, २६ जेठ । लेखक तथा थुलुङ भाषाविद हेमन्तकला थुलुङ राईको सम्झनामा छापिएको ‘हेमन्तकला थुलुङ’ स्मृतिग्रन्थ लोकार्पण गरिएको छ । कोभिड–१९ को महामारीका कारण निधन भएकी थुलुङ राईको वार्षिक पुण्यतिथिको अवसरमा काठ्माडौंमा बुधबार आयोजित कार्यक्रममा प्राडा. ध्यानेन्द्र राईले स्मृतिग्रन्थ लोकार्पण गरेका हुन् ।
बम थुलुङ स्मृति फाउन्डेसनको आयोजनामा किरात राई यायोक्खाको कोटेश्वरस्थित सुम्निमा हलमा आयोजित कार्यक्रममा स्मृतिग्रन्थ लोकार्पण गरिएको हो ।
पाँचवीर थुलुङ र घना थुलुङले छापेको पुस्तकको सम्पादन डा. सुकराज राई, खुक्सुङ खम्बु र पुरण राईले गरेका हुन् । कृतिमा संस्मरण, हस्तलिखित दस्तावेज, उनका तस्वीर र विभिन्न लेखका गीत, गजल र कविता समेटिएका छन् । कोभिडको कारण अल्पायुमै ज्यान गुमाएकी थुलुङ राईका श्रीमान र ५ बर्षका छोरा छन् ।
समालोचक डा. धनप्रसाद सुवेदी ‘श्रमिक’ ले स्मृतिगन्थ्र कोभिड महामारीको पीडा समेटिएको इतिहास भएको बताए । प्राडा. नारायणप्रसाद गड्तौलाले हेमन्तकलाले भाषा, कला र साहित्य क्षेत्रमा उल्लेखनीय योगदान गरेको चर्चा गरेका छन् ।
समालोचक तथा कवि पुरण राईले स्मृतिग्रन्थ सम्पादनका क्रममा कोभिडले आफन्त गुमाउनेहरू सम्झाएर स्तब्ध बनाएको बताए । दिदी पूजा थुलुङले बहिनीको स्मृतिगन्थ्र ल्याउनुपर्दा अत्यन्तै दुखित बनाएको बताईन् ।
फाउन्डेसका अध्यक्ष बम किरातको अध्यक्षतामा भएको कार्यक्रममा आङबाबु थुलुङ, केशव थुलुङ, खुक्सङ खम्बु, जसिहव थुलुङ, पाँचवीर थुलुङ, निर्कुधन राई, लालकुमार राई र साहस राईले शोक मन्तव्य दिएका थिए ।