आइतवार, जेठ २९ २०७९
नेपाल वाइड
खोटाङ, २९ जेठ । खोटाङमा साकेला सिली प्रदर्शन गर्दै उभौली चाडको बिदाइ गरिएको छ । कोभिड–१९ को महामारी शुन्य भएका कारण दुई वर्षपछि धुमधामका साथ साकेला उभौली विदाइ गरिएको हो ।
किरात राई यायोक्खा र किरात सेवा समाजको आयोजनामा शनिबार दिक्तेलको माटिकोरे खेलमैदानमा बृहत साकेला सिली प्रदर्शन गर्दै यस वर्षको उभौली चाडको विदाइ गरिएको हो ।
‘अन्नबाली सप्रियोस, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति आईनलागोस्, सुव्यफाव्य होस्’ भन्ने कामनामा भूमी, पितृ र अन्नको पूजाआजा गर्दै २ जेठमा सुरु भएको उभौली चाडलाई लोपोन्मुख सिली प्रदर्शन गर्दै बिदाई गरिएको हो ।
कोभिड–१९ को महामारीका कारण दुई वर्षसम्म औपचारिक रुपमा विदाइ गर्न नसकिएको साकेलालाई यसपल्ट धुमधामका साथ विदाइ गरिएको किरात राई यायोक्खा खोटाङका सचिव युगसन किरातले बताए ।
किरात राई समुदायमा एकै दिन सुरु भए पनि साकेलाको बिदाई भने ठाउँ बिशेष फरक–फरक समयमा गर्ने प्रचलन रहेको छ । किरात राईको सँस्कृतिलाई प्रचार–प्रसार गर्दै संरक्षण गर्ने उद्धेश्यले किरात राई यायोक्खा र किरात सेवा समाजले जिल्लामा साकेला चाडको सुवात र बिदाईमा बृहत साकेला शिली प्रदर्शन गर्ने परम्परा बसाएको छ ।
साकेला उभौलीको बिदाईमा आयोजना गरिएको साकेला शिली प्रदर्शनीले दिनभर दिक्तेलको माटिकोरे खेलमैदान गुञ्जयमान बनेको थियो । ढोल, झ्याम्टा र गीतले गुञ्जयमान बनेको माटिकोरेमा साकेला शिली प्रदर्शनीमा नाच्ने र रमिता हेर्ने दर्शकको बाक्लो भीड लागेको थियो ।
साकेला शिली प्रदर्शनीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका दिक्तेल, नेर्पा, दोर्पाचिउरीडाँडा, बाम्राङ, हलेसी तुवाचुङ नगरपालिकाको अर्खौले, साकेला गाउँपालिकाको रतन्छा लगायतका किरात राई समुदायले आ–आफ्नो ठाउँ बिशेषको साकेला शिली प्रदर्शन गरेका छन् ।
साकेला शिली प्रदर्शनीमा नाच्नकैलागि आ–आफ्नो भेषभुषामा सजिएका किराती र गैर–किराती रमाईलो गर्दै गाउँ–गाउँबाट दिक्तेल आउने गरेका छन् । बुढापाको अन्त्यासँगै लोपोन्मुख बनीसकेको सिली संरक्षणका लागि सिली प्रदर्शन गर्ने परम्परा बसाइएको यायोक्खाका जिल्ला अध्यक्ष हात्तीराम राईले बताए ।