Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ६ महिनादेखि दुबईमा अलपत्र, उपचार बाटै बञ्चित

    ६ महिनादेखि दुबईमा अलपत्र, उपचार बाटै बञ्चित


    • बिहिवार, आषाढ ९ २०७९

    • नेपाल वाइड


    ६ महिनादेखि दुबईमा अलपत्र, उपचार बाटै बञ्चित
    दुबईमा अलपत्र दिलकेशर राई र सिकिस्त बिरामी परेका बराहपोखरीका शेरबहादुर खत्री ।

    खोटाङ, ९ असार । बैदेसिक रोजगारीका सिलसिलामा दुबई पुगेका खोटाङका दुई युवा ६ महिनादेखि अलपत्र परेका छन् । कार्पेन्टरको कामका लागि भन्दै गत १९ पुसमा साहुको ऋण काढेर दुबई उँडेका बराहपोखरी गाउँपालिका–१ बराहपोखरीका शेरबहादुर खत्री र दिलकेशर राई अलपत्र परेका हुन् ।

    सम्झौता अनुसारको कम्पनी, काम र तलव नपाउँदा उनीहरु अलपत्र परेको दिलकेशरका भाई पूर्णबहादुर राईले बताए । फिस्टल ओभरसिज प्रालि, गोंगबु, काठ्माडौंबाट कार्पेन्टरको कामकालागि दुबईको कावाडर इन्टरनेशनल इम्प्लोइमेन्ट सर्भिसेस लैजाने भनिएका उनीहरुलाई एक सप्लाई कम्पनीमा पुर्‍याइएको छ ।

    सो सप्लाई कम्पनीमा महिनामा पाँच/छ दिन मात्र काम लगाउने र ५०/६० रुपैयाँ दिने गरिएको पिडितका आफन्तले बताएका छन् । उनीहरु धन सम्पत्ती कमाउने र परिवारलाई सुखसयल दिने सपना बोकेर बराहपोखरी गाउँपालिका–३ साउनेचौंरका कुमार तामाङमार्फत दुबई पुगेका हुन् ।

    खत्री र राई मासिक १२५० पाउने शर्तमा दुबई पुगेका थिए । तर हाल महिनामा प्राप्त हुने पैसाले कमाउन त के खान, लाउन र बाँच्नै सकस भइरहेको परिवारलाई जानकारी गराइरहेका छन् । ढाँटेर अर्कै कम्पनी र काममा लगेर अलपत्र पारिएको थाहा भएपछि उनीहरुले दुबई पुगेको तीन दिनदेखि नै घर फर्कनका लागि मेनपावर कम्पनीलाई आग्रह गरिरहेका छन् ।

    सो सप्लाई कम्पनीमा काम गरिरहेका अन्य नेपालीको अवस्था पनि नाजुक देखेपछि उनीहरु तत्काल फर्कन चाहेका हुन् । तर उनीहरुको उद्धारमा मेनपावरले बेवास्ता गरिरहेको पिडितको गुनासो छ ।

    “अर्कै कम्पनी र काममा लगेको थाहा भएपछि उहाँहरु तीन दिनदेखि नै फर्कन खोजिरहनु भएको छ,” राईले भने, “तर भोली भन्दै पर्सीभन्दै ढाँटिरहेको छ । फर्काउँछु भन्दै भाका राखेकोराख्यै छ । त्यहाँ आफन्तको रुवाबासी छ ।”

    छैन उपचार सेवा

    सप्लाई कम्पनीमा कामदारमाथि कतिसम्म लापरवाही छ भने बिरामी परेको बेलामा औषधि उपचार समेत पाउन सकेका छैनन् । हाल घाँटीदेखि जिब्रोसम्म पाक्ने समस्याबाट खत्री १०/१२ दिनदेखि सिकिस्त बिरामी छन् ।

    तर उनले एउटा ट्याव्लेट औषधिसम्म पाउन सकेका छैनन् । भित्रदेखि पाकेकाले उनको श्वास गन्हाउने गरेको छ । कुनबेला नाक मुखबाट रगत निस्कने गरेको छ ।

    उनलाई सन्नीपात भएको अनुमान छ । केही दिनअघि उपचार नपाउँदा मृत्यु भएको खबर आइपुग्दा उनको परिवारमा रुवाबासी चलेको थियो । प्रतिक्रीयाका लागि फोन गर्दा फिस्टल ओभरसिज प्रालिका अध्यक्ष रेशमराज लामीछानेसँग सम्पर्क हुन सकेन ।

    सम्बन्धित समाचार