बिहिवार, आषाढ ९ २०७९
नेपाल वाइड
खोटाङ, ९ असार । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि अनुमानित साँढे ६४ करोडको बजेट पेश गरेको छ । बिहिबार सम्पन्न ११ औं नगरसभाबाट नगरपालिकाले ६४ करोड ५८ लाख २७ हजार ४५० रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको हो ।
कुल बजेटमध्ये सशर्त अनुदान, समपुरक अनुदान र बिशेष अनुदानका लागि विनियोजन गरेर बाँकी रहेको १८ करोडको परिधिमा रहेर नगरपालिकाले बिकास बजेट तय गरेको हो ।
१८ करोडमध्येबाट पुँजीगततर्फ १३ करोड ५० लाख र चालुतर्फ ४ करोड ५० लाख विनियोजन गरिएको छ । उपमेयर रमेश राउतले प्रस्तुत गरेको बजेट तथा कार्यक्रममा प्रशासनिक खर्चतर्फ कुल बजेटको २५ प्रतिशत, पुर्वाधार विकास समितितर्फ कुल बजेटको ३७.१ प्रतिशत, सामाजिक विकासतर्फ कुल बजेटको २१.७७ प्रतिशत, आर्थिक विकासतर्फ कुल बजेटको ९.९० प्रतिशत, वन, वातावरण, विपद, फोहोरमैला व्यवस्थापनतर्फ कुल बजेटको १.१७ प्रतिशत र सामाजिक सेवा तथा सुशासनतर्फ कुल बजेटको ४.८ प्रतिशत बजेट बिनियोजन गरिएको उल्लेख छ । नगरपालिकाले वडालाई विगतको तुलनामा १० प्रतिशतका दरले बजेट बढाएर बिनियोजन गरेको नगर प्रवक्ता कमल गिरीले बताए ।
नगरपालिकाले भुमी बैंकको अवधारणालाई अलम्बन गरी खेतीयोय जमिन बाँझो राख्ने प्रवृतिलाई निरुत्साहीत गर्ने, वाली तथा पशु विमा कार्यक्रमलाई कार्यान्वयन गर्ने, बाँझो जमिनमा कागती, आँप, लिची, सुन्तला, कफी, ड्रागन फुड लगायतका नगदेबाली खेती गर्ने कृषकलाई नगद प्रोत्सान स्वरुप प्रदान गर्ने नीति तथा कार्यक्रम ल्याएको छ ।
यस्तै, नगरमा सम्भावना बोकेको गहत, बदाम र स्थानीय उत्पादन ढाका, खाँडी जस्ता महत्वपूर्ण उत्पादन नगर आगन्तुकलाई प्रदान गर्न, मायाँको चिनो/कोशेलीको रुपमा विक्रि/वितरणको व्यवस्था मिलाइ प्रर्वद्धन गर्ने, नगरभित्रका उच्च शिक्षा (डक्टर, इन्जीनियर र पाईलट) अध्यायन गर्न चाहने विपन्न,जेहेन्दार तथा विद्याबारिधी गर्ने विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्थापन गर्ने, सुविधा सम्पन्न नगर अस्पाल निर्माण गरि स्वास्थ्य विमा कार्यक्रम लागू गर्ने लगायतका नीति तथा कार्यक्रम अघि सारेको छ । नगरसभा मेयर बिमला राईको सभापतित्वमा सम्पन्न भएको हो ।