शनिवार, आषाढ ११ २०७९
नेपाल वाइड
खोटाङ, ११ असार । खोटाङको त्रि–धार्मिकस्थल हलेसी आउने दर्शनार्थी एवं पर्यटकको गणनाका लागि पिपुल काउन्टिङ मेसिन जडान गरिएको छ ।
हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसी मन्दिरमा दर्शन एबं भ्रमणका लागि प्रवेश गर्ने दर्शनार्थी एवं पर्यटकको गणनाका लागि माछापुछ्रे बैंकले गणना मेसिन जडान गरेको हो ।
बैंकको सामाजिक उत्तरदायीत्व अन्तरगत राखिएको पिपुल काउन्टिङ मेसिन शनिबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले उद्घाटन गर्नुभएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीमा हालसम्म दर्शन एबं भ्रमण गर्ने पर्यटक तथा दर्शनार्थीको तथ्यांक राख्ने व्यवस्था नभएको अवस्थामा पिपुल काउन्टिङ मेसिन राखिएको माछापुछ्रे बैंक हलेसी शाखाका प्रवन्धक नयन थापाले बताउनुभयो ।
मन्दीरको प्रवेश द्धारमा गणनाका लागि पिपुल काउण्टिङ क्यामेरा जडित ढोका बनाइएको छ । मन्दीर प्रवेश गर्ने पर्यटक र दर्शनार्थीलाई सोही ढोकाबाट प्रवेश गर्ने/गराउने व्यवस्था मिलाइने छ ।
पिपुल काउण्टिङ क्यामेराले मन्दीर प्रवेश गर्ने र बाहिरिने पर्यटक तथा दर्शनार्थीको संख्या कम्प्यूटरमा रेकर्ड गर्ने हलेसी सुचना केन्द्रका प्रमुख सयन्द्र राईले बताए ।
पिपुल काउन्टिङ मेसिनको ढोकाबाट प्रवेश नगर्नेको संख्या भने रेकर्ड नहुने जनाइएको छ । कार्यक्रममा उपमेयर रमेश राउत, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला लगायतको उपस्थिति रहेको थियो ।