Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    विद्यालयमा बोटबिरुवाकै घेराबारा हाल्ने अभ्यासको सुरुवात

    विद्यालयमा बोटबिरुवाकै घेराबारा हाल्ने अभ्यासको सुरुवात


    • सोमवार, आषाढ १३ २०७९

    • नेपाल वाइड


    विद्यालयमा बोटबिरुवाकै घेराबारा हाल्ने अभ्यासको सुरुवात
    विद्यालय क्षेत्रमा घेराबाराका रुपमा बिरुवा रोप्दै मेयर तीर्थराज भट्टराई र उपमेयर बिसन राई लगायत ।

    खोटाङ, १३ असार । सामान्यतः घर, भवन वा जग्गाको आसपासमा तार जाली, ढुंगा माटो वा कंक्रिट संरचनाको घेरावारा हाल्ने गरिन्छ । तर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्रीमाबि बाँसबोटेले आफ्नो क्षेत्रभित्र बोटबिरुवाकै घेराबारा हुनेगरी प्राकृतिक घेराबारा हाल्ने प्रयास थालेको छ ।

    अभिभावक एबं सामुदायीक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष राजेन्द्र राईको अवधारणा अनुसार विद्यालयको जग्गाको सिमाना आसपासमा तार जाली वा कंक्रिट संरचनाको सट्टा रुखबिरुवाको बार हाल्न सुरु गरिएको हो ।

    सोमबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र उपमेयर बिसन राई लगायतले कदम, असुरो र सिमलीको बिरुवा रोपेर विद्यालयको प्राकृतिक घेराबारा बनाउने अभियानको सुरुवात गरिएको छ ।

    विद्यालयको करिब ४५ रोपनी जग्गा छ । त्यसमध्ये विद्यालयबाट उत्तर–पुर्व सिमानामा घेराबाराको रुपमा विकास गर्नेगरी पंक्तीवद्ध बनाएर बिरुवा रोपिएको प्रअ जसराज किरातीले बताए ।

    विद्यालयको जग्गाको सिमाना छुट्याउनेगरी घेराबाराका रुपमा विकास गर्नका लागि विद्यार्थीलाई कदम, सिमली र असुरोको बिरुवा ल्याउन लगाइएको थियो । विद्यालयका बाँकी क्षेत्रको सिमानामा क्रमशः बिरुवा रोपिने प्रअ किरातीले बताए ।

    गाउँघरमा बाटोघाटो र खेतबारीको गौंडामा बारका रुपमा कदम र सिमलीको बिरुवा रोप्ने प्रचलन यथावत छ । त्यही सफल प्रचलनलाई विद्यालयले कार्यान्वयनमा ल्याउने प्रयास थालेको हो ।

    तार जाली वा कंक्रिट संरचनाको सट्टा बोटबिरुवा हुर्काउँदा विद्यालय क्षेत्र हरियाली हुने र पर्यवरणमा समेत सकरात्मक प्रभाव पर्ने अपेक्षा गरिएको सामुदायीक वन उपभोक्ता महासंघका अध्यक्ष राईले बताए ।

    सम्बन्धित समाचार