सोमवार, श्रावण २ २०७९
नेपाल वाइड
दमन राई
खोटाङ, २ साउन । महालेखा परीक्षकको कार्यालयले खोटाङको केपिलासगढी गाउँपालिकामा अनियमित रुपमा भुक्तानी भएका दर्जनौं शिर्षकमा लाखौं रकम असुल गर्नुपर्ने औंल्याएको छ ।
महालेखाको ५९ औं वार्षिक प्रतिबेदनमा आर्थिक वर्ष २०७६/०७७ मा गाउँपालिकामा नम्सभन्दा बढी खर्च, पुल तथा सडक निर्माण, कृषि तथा पशु कार्यक्रम, रितपुर्वकको कर बिजक, शिक्षकको तलव भत्ता, सामाजिक सुरक्षा, पदाधिकारी एवं कर्मचारी अनुगमन भत्ता लगायतका शिर्षकमा नियमविपरित भुक्तानी भएका रकम असुल गर्न भनेको हो ।
सामाजिक सुरक्षातर्फ लाभग्राहीको लगत अद्यावधिक नगरी एउटै नागरिकता नम्बर र एउटै जन्म मिति भएका लाभग्राहीलाई दुई वा सोभन्दा बढी परिचय–पत्र जारी गरेको, एकै लाभग्राहीलाई दुई वटा परिचय–पत्रबाट रकम भुक्तानी दिएर दोहोरो खर्च लेखेको, मृत्यु भइसकेका लाभग्राहीको लगत कट्टा नगरी दिइएको भुक्तानीमध्ये ३ लाख ३२ हजार २०० रुपैयाँ असुल हुनुपर्ने भनिएको छ । प्रतिबेदनमा विद्यालयलाई माग गरेको भन्दा बढी निकासा तथा सेवा करार र अस्थायी शिक्षकलाई नियुक्ती भएको ६ महिना नहुँदै चाडपर्व खर्च निकासा दिइएकोमा ३ लाख ६७ हजार २०७ रुपैयाँ असुल गर्न भनिएको छ ।
यस्तै, स्वीकृत नम्र्स अनुसार वितरण नगरी स्वीकृत कार्यक्रम अनुसार कृषि सामग्री, बिउ बिजन, मेसिन तथा अन्य सामग्री समेत आपुर्तकमार्फत खरिद गरेर बिल संलग्न गरी ५० प्रतिशत अनुदानमा कृषक समुह तथा कृषकलाई अनुदान दिनुपर्नेमा गाउँ कार्यपालिकाको २०७७ साल जेठ १६ र २७ गतेको निर्णय अनुसार नम्सभन्दा बढी खर्च भएकाले ६७ हजार २५३ रुपैयाँ असुल गर्नुपर्ने महालेखाले जनाएको छ ।
गाउँ तथा नगरसभाका सदस्यहरुले पाउने सुविधाको सम्वन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ को दफा ३ को उपदफा १ को अनुसूची १ (क) मा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, गाउँ कार्यपालिका सदस्य तथा वडा सदस्यको सुविधाको व्यवस्था छ ।
तर उक्त सेवासुविधा पदाधिकारीलाई उपलव्ध गराए पश्चात पदाधिकारी अनुगमन तथा भ्रमणमा नियमसम्मत खर्च नगरिएको ५ लाख ९१ हजार ५२८ रुपैयाँ असुल गर्नुपर्ने भनिएको छ ।
यस्तै, कार्यालयमा कार्यरत कर्मचारीले नियममा भएको व्यवस्था अनुसार दैनिक भ्रमण भत्ता लिए पश्चात पनि कुनै पनि योजना वा कार्यक्रमको अनुगमन र मुल्यांकन गरेवापत लिएको ९ लाख ४५ हजार ६३५ असुल गर्नुपर्ने प्रतिबेदनमा उल्लेख छ ।
यस्तै, तापखोला पक्की पुल निर्माणका क्रममा कन्टिजेन्सी खर्च वापत बिना बिल भरपाइ दोश्रो र तेश्रो बिलको भुक्तानी हुँदा १३ लाख ८१ हजार ४७६ थप गरी खर्च लेखेकोमा नियमानुसार ४ प्रतिशतले ८ लाख ५९ हजार ९९६ मात्र भुक्तानी खर्च लेख्न पाउने हुँदा ५ लाख २१ हजार ४८० रुपैयाँ बढी खर्च सम्वन्धित पदाधिकारीलाई जिम्मेवार बनाएर असुल गर्नुपर्ने औंल्याइएको छ ।
यस्तै, पुलको भुक्तानी सुर्य कन्ट्रक्सनलाई तेश्रो बिलवापत १ करोड ६२ लाख ५६ हजार २३१ रुपैयाँ भएकोमा निर्माण व्यवसायी कर कट्टावापत २८ हजार ३०७ रुपैयाँ असुल गर्न भनिएको छ ।
खार्ताम्छा–शुक्रबारे सडक निर्माणका लागि ४ लाख ७६ हजार ५९३ को लागत अनुमान तयार गरी कार्यालयबाट ४ लाख र उपभोक्ता समितिबाट ७६ हजार ५९३ खर्च गर्ने गरी सम्झौता भएकोमा कार्य मूल्यांकन ४ लाख ५१ हजार ६६ को मात्र भएकाले घटी कार्य २५ हजार ५२७ को अनुपातिक कट्टी २१ हजार बढी भुक्तानी भएकाले असुल गर्न भनिएको छ ।
यस्तै, तालिम सञ्चालनका क्रममा अर्थ मन्त्रालयको तालिम सञ्चालन निर्देशिका विपरित प्रशिक्षकलाई बुझाइएको २ लाख ३७ हजार ६०० रुपैयाँ असुल गर्नुपर्ने महालेखाले उल्लेख गरेको छ ।
नरम माटो, कडा माटो र साधारण चट्टान काटेर सडक निर्माण कार्यको लागि जिल्ला दररेट अनुसार तोकिएको रकममा मुअकर समावेश गरी रेट एनालाइसिस गरिएको र लागत अनुमान तयार गरिएको अवस्थामा निर्माण कार्य सम्पन्न हुँदा अनिवार्य कर बिजक बिल पेश गर्नुपर्नेमा सो नभएको र उपभोक्ता समितिलाई लागेको मुअकर मात्र भुक्तानी हुनुपर्नेमा साधारण भरपाई डोर हाजिर पेश भएकोले कर बिजक बेगर बढी मुअकर भुक्तानी रकम २ लाख ६५ हजार ९२४ असुल हुनुपर्ने भनिएको छ ।
थुलुंगा–दोभाने किमाथान्का सडकका लागि ४ लाख भुक्तानी पाउने सम्झौता भएकोमा मेसिनबाट गर्नेगरी लागत अनुमान तयार गर्दा र रेट एनालाइसिस गर्दा मुअकर समेत जोडी मिडियम रक काटेर बाटो निर्माण गर्न प्रतिघर मिटर १३७.९४ ले ३ हजार ५५६.५ घनमिटरको ४ लाख ४९ हजार २०२ को मुल्यांकन भएकोमा कर बिजक बिल ८४ हजार ४९५ को मात्र पेश भएकाले नपुग बिल रकम ३ लाख ६४ हजार ७०७ को १३ प्रतिशत मुखकर ४७ हजार ४११ असुल गर्नुपर्ने भनिएको छ । महालेखाले बिल भरपाई नभएकाको प्रमाण पेश गर्नुपर्ने, नियमित गर्नुपर्ने भन्दै करोडौं रकममाथि प्रश्न उठाएको छ ।
केपिलासगढी गाउँपालिकामा पनि वर्षको अन्तमा बढी खर्च गर्ने गरिएको पाइएको छ । आर्थिक वर्ष २०७६/०७७ मा कुल १४ करोड ४५ लाख ९४ हजार खर्च हुँदा प्रथम चौमासिकमा ६८ लाख १५ हजार ७०८ (४.७१ प्रतिशत, दोश्रो चौमासिकमा ४ करोड ६० लाख ४३ हजार ४० (३१.८६ प्रतिशत), तेश्रो चौमासिकमा ९ करोड १६ लाख ४१ हजार ३४६ (६३.४१ प्रतिशत) र असारमा मात्र ३ करोड ६३ लाख ४६ हजार १५१ (२५.१५ प्रतिशत) खर्च भएको महालेखाले जनाएको छ ।
वर्षान्तमा हतारमा काम गराउँदा कामको गुणस्तरमा असर पर्ने देखिएकोले नियममा भएको व्यवस्था अनुरुप असारमा खर्च गर्ने परिपाटी नियन्त्रण गर्नुपर्ने प्रतिबेदनमा भनिएको छ ।
केपिलासगढीमा एउटै काममा दुई वा दुईभन्दा बढी कार्यालयले बजेट खर्च गरेको पाइएको छ । कृषि कार्यक्रमतर्फ कृषि ज्ञान केन्द्रले नर्सरी व्यवस्थापन, फलफुल बिरुवा वितरण, धान, गहुँ, मकैको बिउ वितरण, तरकारी खेती बीउ विजन वितरण जस्ता कार्यक्रम सञ्चालन गर्ने र पालिकाबाट समेत सोही अनुसार कार्यक्रम सञ्चालन गरेको महालेखाले उल्लेख गरेको छ ।
एउटै प्रकृतिको कार्य दुई भन्दा बढी कार्यालयबाट हुँदा ‘कुन कार्यालयको कार्यक्रम हो’ भनी एकिन गर्न नसकिने र यस्ता कार्यक्रमको मासिक रुपमा अनुगमन गरी प्रतिबेदन लिनु पर्नेमा अनुगमन प्रतिबेदन पेश नहुने र तोकिएको कार्यक्रमको उद्धेश्य पुरा भएको यकिन गर्न नसकिने अवस्था रहेको प्रतिबेदनमा जनाइएको छ ।
एकै प्रकृतिका कार्य दुई वा दुई भन्दा बढी कार्यालयबाट सञ्चालन हुँदा कार्यालयबीचमा समन्वय हुनुपर्नेमा समन्वय नगरी प्रत्येक कार्यालयले वार्षिक कार्यक्रम अनुसार कार्यक्रम सञ्चालन गर्दा कार्यक्रम दोहोरो पर्न जाने देखिएको छ । यस्तै, कृषि तथा पशु सेवा, स्वास्थ्य, विद्यालय सम्वन्धी कार्यक्रममा पनि कतिपय कार्यक्रम दोहोरो परेको उल्लेख छ ।
(प्रस्तुत सामग्री महालेखा परीक्षकको कार्यालयको आर्थिक वर्ष २०७६/०७७ को लेखा परीक्षण प्रतिबेदन २०७८ अनुसार तयार पारिएको हो । प्रतिबेदनमा औंल्याइएका अधिकांश रकम असुल भइसकेको गाउँपालिकाले जनाएको छ– सम्पादक ।)