शुक्रवार, श्रावण ६ २०७९
भिमसेन थापा मगर
पुरानो अचानो
दुई चार बर्ष व्यतित गर्नु
फगत
बर्षहरु मात्र बिताउनु हैन रैछ ।
थप दुई चार वटा जुङ्गा फुल्नु
निधारले आफ्नो विस्तारवाद विस्तार गदै
आफ्नो सिमाना
टुप्पी सम्म कायम गर्नु
अनि
गालाभरी दारिले साम्राज्य विस्तार गर्नु पनि रैछ
दुई चार बर्ष व्यतित गर्नु
फगत
बर्षहरु मात्र बिताउनु हैन रैछ ।
समाज खोज्दा खोज्दै भिडमा हराउनु
हजारौँको भिडमा एक्लै हुनु
एक्लै एकलै बालापन समझेर मुस्कुराउनु
मुस्कुराउदा मुस्कुराउदै तप..तप.. आसुँ झार्नु
आफैलाई बिर्सनु
र स्मरण शक्ति गुमाउनु पनि रैछ
दुई चार बर्ष व्यतित गर्नु
फगत
बर्षहरु मात्र बिताउनु हैन रैछ ।
हस् हजुर
ज्यू हजुर
गरे हजुर, गरिहाले हजुर भन्दै
अलि बाठो अलि प्यारो
गर्धन बटारिएको कुप्रो चम्चा बन्नु पनि रैछ
दुई चार बर्ष व्यतित गर्नु
फगत
बर्षहरु मात्र बिताउनु हैन रैछ ।
केही थान रोगलाई स्वागत गर्नु
इमान बेचेर औषधी किन्नु
अनि चोरी औला अन्तै देखाउन जान्ने हुनु
अरु सब चोर आफु गन्ने मान्ने हुनु पनि रैछ
दुई चार बर्ष व्यतित गर्नु
फगत
बर्षहरु मात्र बिताउनु हैन रैछ ।
आज पनि मार खायो
भोलि पनि मार खायो
चोईटिदा चोईटिदा चोईटिन छाडेपछी
खुकुरिको धार देखेर कहिलै नभाग्ने
अलि पुरानो अलि प्यारो अचानो बन्नु पनि रैछ
दुई चार बर्ष व्यतित गर्नु
फगत
बर्षहरु मात्र बिताउनु हैन रैछ ।