बुधवार, श्रावण २५ २०७९
नेपाल वाइड
खोटाङ, २५ साउन । खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजार स्थित महिमा महिला मञ्चले दुई विद्यालयलाई टिफिन बक्स वितरण गरेको छ ।
नेपाल सरकारको दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि महिमा महिला मञ्चले बुधबार सिद्ध आधारभुत विद्यालयलाई ८० थान र भानु आधारभुत विद्यालयलाई ३१ थान टिफिन बक्स वितरण गरेको हो ।
प्लाष्टिकमा दिवा खाजा बोकेर आउँदा कतिपय विद्यार्थीको खाजा चुहिएर किताव कापी भिज्ने तथा बिग्रने गरेको पाइएपछि विद्यार्थीले पाउनेगरी टिफिन बक्स प्रदान गरिएको महिमा महिला मञ्चका उपाध्यक्ष उषा राईले बताईन् ।
महिमा महिला मञ्चले क्रमशः खोटाङबजारकै भगवती माबिलाई ११० थान, जनजागृति आधारभुत विद्यालयलाई १६ थान र शिवालय प्राविलाई ३५ थान टिफिन बक्स वितरण गर्ने तयारी गरेको छ ।
मञ्चले पाँच वटै विद्यालयलाई खाजा पकाउने भाँडाकुँडा वितरण गर्ने तयारी गरेको छ । विद्यालयलाई ९४ हजारको टिफिन बक्स तथा पकाउने र बाँड्ने सामग्री वितरण गर्ने योजना बनाइएको मञ्चका उपाध्यक्ष राईले बताईन् ।
(युवराज कालिकोटेको सहयोगमा)