शुक्रवार, श्रावण २७ २०७९
नेपाल वाइड
खोटाङ, २६ साउन । खोटाङको धार्मिक तथा पर्यटकीयस्थल भुलभुले दुधकुण्ड देउधाम र भालुखोलामा साँस्कृतिक मेला लागेको छ । जनैपूर्णिमा/रक्षाबन्धनको अवशरमा शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको भुलभुले दुधकुण्ड देउधाम र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको भालुखोलामा बिहानदेखि भव्य साँस्कृतिक मेला लागेको हो ।
वर्षमा एक पटक लाग्ने मेला भर्न र दर्शन गर्न जिल्लाका दिक्तेल, खार्मी, दोर्पा, रतन्छा, लफ्याङ, बाम्राङ, बाँझेच्यानडाँडा, मात्तिम लगायतका स्थानीय भुलभुले दुधकुण्ड देउधाम र भालुखोला पुगेका छन् ।
किरात र हिन्दुधर्मावलम्बीको धार्मिकस्थलका रुपमा रहेको भुलभुले दुधकुण्ड देउधाममा शिब, गणेश, बुढानिलकण्ठ, तीनकन्य जालपादेबी, सिद्धसिकारी र एलम्बरको पूजा आजा गर्नका आन्तरिक तथा बाह्या दर्शनार्थी आउने गरेका देउधाम व्यवस्थापन समितिले जनाएको छ ।

चिताएको मनोकांक्षा पूरा हुने बिश्वासमा भाकल गर्ने र दर्शन गर्नका लागि भुलभुले दुधकुण्ड देउधाममा लाग्ने मेलामा प्रायः बुढापाका र केटाकेटीदेखि युवायुवती आउने गरेका छन् ।
पछिल्लो समयमा आन्तरिक तथा बाह्या पर्यटकको गन्तव्य थलो बनेको देउधाममा जनै पुर्णीमाका दिन दिनभर ढ्याङग्रो र झ्याम्टा बजाउदै धामीहरु नाच्ने गर्छन् ।
मेलामा धामीहरुकासाथमा आएका आफन्तले धामीझाँक्रीसँगै गीत गाउँदै र नाच्दै रमाईलो गरेको दृश्य अवलोकन गर्ने उत्तिकै हुन्छन् । धामी गीत र ढ्यांग्रोको आवाजले कार्तिक पूर्णीको दिन भुल्के गुञ्जयमान हुने गरेको पुजारी दिर्घराज राईले बताए ।
प्रचार–प्रसारको अभावमा ओझेलमा परेको देउधाममा कार्तिक पूर्णीमा बाहेक रामनवमी, ऋषितर्पणी, नागपञ्चमीका दिन पनि पूजा आजा गर्ने दर्शनार्थीको भीड लाग्ने गरेको छ ।
परापुर्व कालदेखि जलकन्य देबीको पूजाआजा गरिँदै आइएको देउधामको धार्मिक पर्यटन प्रबद्र्धनका लागि २०४५ सालमा देबस्थलकारुपमा बिकास गरिएको हो ।