Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बोलबमले व्यस्त हलेसी

    बोलबमले व्यस्त हलेसी


    • शनिवार, श्रावण २८ २०७९

    • नेपाल वाइड


    बोलबमले व्यस्त हलेसी
    बोलबमको अवसरमा हलेसी मन्दिरमा दर्शन गर्न उभिएका दर्शनार्थी । तस्बीरः नेपालवाईड डटकम

    खोटाङ, २८ साउन । बोलबमका कारण खोटाङको त्रि–धार्मिकस्थल हलेसी चलायमान बनेको छ । साउनभर लाग्ने बोलबम मेलाको अवशरमा धार्मिक तथा पर्यटकीयस्थल हलेसी आन्तरिक तथा बाह्य दर्शनार्थीले व्यस्त बनेको हो ।

    हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानमा पर्ने हलेसीमा साउन सुरु भएसँगै जल चढाउने दर्शनार्थीको भीड लाग्ने गरेको भएपनि हरेक सोमबारका दिन तिर्थयात्रीको घुइँचो लागिरहेको छ । कोभिड–१९ को महामारीले दुई वर्षसम्म सुनसान बनेको हलसीमा बोलबमले ग्राहक बढ्दा व्यवसायी उत्साहित छन् ।

    साउन सुरु भए यता हलेसीमा हरियो कपडा, चुरा र मेहन्दीमा सजिएका महिला तथा रातो गेरु रंगको पहिरनमा सजिएका पुरुष दर्शनार्थीको बाक्लो चहलपहल छ ।

    साउनको तेश्रो सोसमबारसम्ममा करिब ४० देखि ५० हजार दर्शनार्थी हलेसी आएको अनुमान गरिएको हलेसी महादेवसथान विकास समितिका कार्यालय सचिव सर्वधन बस्नेतले बताए ।

    klkl.jpg
    बोलबमको अवसरमा हलेसी मन्दिरमा दर्शन गर्दै दर्शनार्थी । 

    बोलबमको अवशरमा हलेसी आएका दर्शनार्थीका कारण साना तथा ठूला होटलहरु भरिएका छन् । होटलमा कोठा नपाउँदा कतिपय दर्शनार्थी गाडीमै रात बिताउने गरेका छन् । पुजा सामग्रीको किनमेल बढेको छ । बोलबम मेलाले हलेसीको आर्थिक क्रियाकलापलाई चलायमान बनाएको छ ।

    बिहान ४ बजे खुल्ने हलेसी मन्दीरमा दर्शनका लागि दर्शनार्थी राती दुई बजेदेखि नै लाइनमा उभिने गरेका छन् । दर्शनार्थीलाई मन्दीर प्रवेश गर्न र बाहिरिनका लागि सहज बनाउन डोरी टाँगेर ‘वान वे सिस्टम’ बनाइएको छ । भीड व्यवस्थापनका लागि प्रहरी र स्वयंसेवक परिचालन गरिएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले बताए ।

    बोलबम मेलाको अवधिमा हलेसीमा जल चढाउनका लागि नेपालका सिराहा, सप्तरी, धनुषा, जनकपुर, झापा, बिराटनगर, ईलाम, भारतको सिक्किम, दार्जिलीङ, गान्तोक, भुटान, चिनको तिब्बतलगायतका ठाउँबाट दर्शनार्थी आउने गरेका छन् । विगतको तुलनामा मन्दिरमा भीडको व्यवस्थापन चुस्त देखिएको सिराहाबाट हलेसी आइपुगेका दर्शनार्थी धिरेन्द्र यादवले बताए ।

    मनोकांक्षा पूरा हुने बिश्वासमा हलेसीमा साउनको प्रत्येक सोमबार बिभिन्न नदीबाट ल्याईएका जल चढाउने गरिन्छ । हलेसीमा देश तथा बिदेशबाट आएका हिन्दु धर्मावलम्बीहरुले नुहाएर ब्रत गर्दै महादेब, पार्वती र गणेशलाई नदीको जल चढाउने गरेका छन् ।

    सम्बन्धित समाचार