सोमवार, भाद्र ६ २०७९
नेपाल वाइड
खोटाङ, ६ भदौ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका स्वर्गीय शिक्षक शुभसेर राईको परिवारले स्वर्गीय शुभसेर राई स्मृति प्रतिष्ठानलाई १६ लाख ९० हजार ९ रुपैयाँ प्रदान गरेको छ ।
राईको प्रथम वार्षिक पुण्यतिथिको अवसरमा आइतबार जिल्ला समन्व समितिको सभाहलमा आयोजित कार्यक्रममा स्वर्गीय राईकी श्रीमती जम्मासरी राईले परिवारकातर्फबाट प्रतिष्ठानलाई चेक हस्तान्तरण गरेकी हुन् ।
स्वर्गीय शिक्षक राईको परिवारका १९ जनाले अक्षय कोष स्थापना लगायतको प्रयोजनका लागि प्रतिष्ठानलाई आर्थिक सहयोग प्रदान गरेका हुन् । राई परिवारबाट प्राप्त भएको रकममध्येबाट ११ लाख ११ हजार १११ रुपैयाँको अक्षयकोष निर्माण गरिने स्वर्गीय शुभसेर राई स्मृति प्रतिष्ठानले जनाएको छ ।
स्वर्गीय शिक्षक राईका परिवारले आफ्नो कमाइको ०.५ प्रतिशत रकम प्रतिष्ठानलाई दिने घोषणा गरेको प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष कुमार पराजुलीले बताए ।
विक्रम संवत २००६ साल साउन २६ गते जन्म भइ २०७८ साल भदौ ५ गते निधन भएका शिक्षक राईको स्मृतिमा प्रतिष्ठान बनाइएको हो । स्वर्गीय शिक्षक राईको जेठा छोरा देवविक्रम राई अध्यक्ष रहेको स्मृति प्रतिष्ठान गत साउन ३० गते जिल्ला प्रशासनमा दर्ता गरिएको हो ।
शुभशेर राई स्मृति प्रतिष्ठानले जिल्लाकै उत्कृष्ट शिक्षकको पुरस्कार शिक्षक प्रेमकुमार थापा मगरलाई प्रदान गरेको छ । शिक्षक थापालाई ५५ हजार ५५५ रुपैयाँ नगद सहित प्रमाण–पत्र प्रदान गरिएको छ ।
यस्तै, ज्योती मावि जालपाका व्यवस्थापन समिति अध्यक्ष प्रतिमान राईलाई उत्कृष्ट विद्यालय व्यवस्थापन समिति अध्यक्ष, त्रिभुवन मावि ऐसेलुखर्कका प्रअ टेकबहादुर क्षेत्रीलाई उत्कृष्ट प्रधानाध्यापक, दिक्तेलका शारदादेवी गेलाललाई दिर्घसेवी सेवा, नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङका पूर्व अध्यक्षद्धय मेघनाथ घिमिरे र मनकाजी राईलाई उत्कृष्ट शिक्षक नेतृत्वका रुपमा सम्मान गरिएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय महासचिव हंसबहादुर शाहीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद दंगाल, दित्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराई, निवर्तमान मेयर दिपनारायण रिजाल लगायतको उपस्थिति रहेको थियो ।
स्वर्गीय शिक्षक राईले सहयोगी प्रावि बुईपा छिप्ती, बिणा माबि लिकुवापोखरी र चम्पावती मावि बुईपामा ४१ वर्ष ७ महिना शिक्षण पेशामा विताएका थिए ।
उनलाई जिल्लामै सबैभन्दा लामो अवधिसम्म शिक्षण गर्ने शिक्षकका रुपमा चिन्ने गरिन्छ । शुभसेरले नेपाल राष्ट्रिय शिक्षक संगठनको तीन कार्यकाल जिल्ला अध्यक्ष र एक कार्यकाल कार्यबाहक अध्यक्षको भूमीका निर्वाह गरेका थिए ।
२०३७ सालमा भएको नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम जिल्ला अधिबेसनबाट उपाध्यक्ष चुनिएका राई लगत्तै कार्यबाहक अध्यक्ष बनाइएका थिए । उनी २०४० सालदेखि २०४३ साल, २०४७ सालदेखि २०५० साल र २०५६ सालदेखि २०६२ सालसम्म नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्ष बनेका थिए ।