शुक्रवार, भाद्र १० २०७९
नेपाल वाइड
खोटाङ, १० भदौ । बेलायतमा खोटाङ भलिबल क्लव यूकेको स्थापना गरिएको छ । बेलायतमा बस्दै आएका खोटाङ्गे भलिबल खेलाडी युवाको अगुवाई तथा नेतृत्वमा सञ्जिव राईको संयोकत्वमा खोटाङ भलिबल क्लव यूकेको स्थापना गरिएको हो ।
क्लवको प्रवन्धकमा बीरेन्द्र राई, कोषाध्यक्षमा शिबध्वज राई र टीम क्याप्टेनमा सचिन राई चयन भएका छन् । २१ सदस्यीय संस्थापक संरक्षक रहेको र खोटाङ भलिबल क्लव यूकेको २३ सदस्यीय संस्थापक सदस्य रहेका छन् । बोलयतमा रहेका खोटाङ्गेलाई एकीकृत गर्दै भलिबल खेलको प्रवर्धनका लागि भलिबल क्लव स्थापना गरिएको संयोजक राईले जानकारी दिए ।
‘भलिबल खेलको प्रवद्र्धन गर्दै सम्पूर्ण भलिबल खेलप्रेमी खोटाङ्गे दाजुभाई तथा दिदि बहिनीलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ क्लव स्थापना गरिएको हो,’ राईले भने, ‘क्लवका माध्यमबाट खोटाङ र बेलायतलाई जोड्दै सामाजिक क्षेत्रमा योगदान पुर्याउने र समग्र खोटाङको नाम चम्किलो बनाउने उद्धेश्य राखेका छौँ ।’
क्लवले खोटाङ सेवा समाज यूके लगायतका संघसंस्थाहरुसँग आवश्यक सहकार्य गर्दै अगाडि बढ्ने संकल्प गरेको छ । भलिबल खेल नेपालमा रोचक र महत्वपूर्ण खेलको रुपमा परिचित छ ।
शारीरिक र मानसिक तन्दुरुष्टीका लागि समेत भलिबल खेल महत्वपूर्ण मानिन्छ । बेलायतको अस्तव्यस्त जीवनशैली अपनाइरहेका नेपालीलाई एकीकृत गर्दै दुःखसुख बाँड्ने अवसर प्रदान गर्ने र आफ्नो भाषा, कला, संस्कार, संस्कृति, खेलकुद आदिको प्रवर्दधनमा भूमीका खेल्ने संयोजक राईले बताए ।