शुक्रवार, भाद्र २४ २०७९
नेपाल वाइड
खोटाङ, २४ भदौ । खोटाङमा समता फुटबल क्लवको आयोजनामा हुने खुला पुरुष फुटबल प्रतियोगीताको तयारी पुरा भएको छ । आयोजक समता फुटबल क्लवले शुक्रबार दिक्तेलको माटिकोरे खेलमैदानमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर प्रतियोगीताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।
प्रतियोगीता शनिबार माटिकोरे खेलमैदानमा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगीतामा जिल्लाका क्लव, वडा र संघसंस्था गरी १७ टिमको प्रतिष्पर्धा हुने समता फुटबल क्लवका अध्यक्ष डिके दिनेशले जानकारी दिए । उद्घाटन खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र नमस्ते सुपर खोटाङ यातायात प्रालिबीच हुने छ ।
प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद ५१ हजार १११, दोश्रो स्थान प्राप्त गर्ने टिमले २७ हजार ७७७ र तेश्रो स्थान प्राप्त गर्ने टिमले १२ हजार ५५५ रुपैयाँकाका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै, सर्वाधिक गोलकर्तालाई नगद तीन हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवले जनाएको छ । यस्तै, उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट किपर, डिफेन्डर, मिड फिल्डर र वींगर्सलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवका सचिव सुमन हिङमाङले बताए ।
