Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    खेलकुद

    नवौं राष्ट्रिय खेलकुद प्रतियोगीताः फितलो व्यवस्थापनबीचमा प्रतिष्पर्धा गर्दै खेलाडी

    नवौं राष्ट्रिय खेलकुद प्रतियोगीताः फितलो व्यवस्थापनबीचमा प्रतिष्पर्धा गर्दै खेलाडी


    • बुधवार, भाद्र २९ २०७९

    • नेपाल वाइड


    नवौं राष्ट्रिय खेलकुद प्रतियोगीताः फितलो व्यवस्थापनबीचमा प्रतिष्पर्धा गर्दै खेलाडी
    सेल्फ ट्रेनिङ गर्दै महिला भलिबल खेलाडीहरु । तस्बीरः दमन राई

    खोटाङ, २८ भदौ । खोटाङका खेलाडी फितलो व्यवस्थापनकाबीचमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगीतामा सहभागीता जनाउँदैछन् । बजेट व्यवस्थापन अभावमा खेलाडी बिना तयारी प्रदेश स्तरिय खेलकुद प्रतियोगीतामा सहभागीता जनाउँदैछन् ।

    नवौं राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तरगत खोटाङबाट १४ विद्याका खेलाडीले प्रदेश स्तरिय प्रतियोगीतामा प्रतिष्पर्धा गर्ने जिल्ला खेलकुद बिकास समितिले जनाएको छ । तर अधिकांश खेलाडीहरु बन्द प्रशिक्षणमा बस्न नपाउँदै प्रतिष्पर्धा गर्न प्रतियोगीता स्थल पुगेका छन् ।

    जिल्ला स्तरिय छनौट खेलका लागि जिल्ला खेलकुद बिकास समितिलाई २ लाख १५ हजार प्राप्त भएको थियो । त्यसमध्ये ५९ हजार सितोरियो खेलाडीलाई प्रदान गरिएको, अन्य रकम फुटबल र भलिबलको क्लोज क्याम्प सञ्चालन गर्न तथा खेल सामग्री खरिदमा खर्च गरिएको जिल्ला खेलकुद बिकास समितिका प्रमुख लिलाभक्त केसीले बताए ।

    छनौटमा परेका सितोरियो करातेका खेलाडीका लागि नेपाल सितोरियो करातेसंघमार्फत दिक्तेलमा साउन १ गतेदेखि भदौ २३ गतेसम्म बन्द प्रशिक्षणको आयोजना गरिए ।

    यस्तै, महिला फुटबलका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका वडाध्यक्ष दिनेश राईको व्यक्तिगत व्यवस्थापनमा बुईपाकै खेलमैदानमा हप्ता दिन बन्द प्रशिक्षणको आयोजना गरियो ।

    जिल्ला खेलकुद बिकास समितिको आयोजनामा दिक्तेलमा पुरुष भलिबल लगायतका खेलको बन्द प्रशिक्षण सञ्चालन गरिएको प्रमुख केसीले बताए । तर अन्य विद्याका खेलाडीले प्रशिक्षण, खेलमैदान, प्रशिक्षक र आवश्यक खेल सामग्री नपाएको गुनासो गरेका छन् ।

    जिल्ला खेलकुद बिकास समितिबाट आवश्यक सहयोग नपाउँदा आफ्नै आवास व्यवस्थापनमा ‘सेल्फ ट्रेनिङ’ गर्नुपरेको महिला भलिबलकी क्याप्टेन बिनिता राईले गुनासो गरिन् ।

    ‘हामीलाई भलिबल र नेट उपलव्ध भयो । हामी आफैले पनि विभिन्न वडाबाट भलिबल जुटायौं,’ राईले भनिन्, ‘भदौ ८ गतेदेखि सेल्फ ट्रेनिङमा बस्यौं तर भदौ २५ गते मात्र एक जना प्रशिक्षक पायौं । नयाँ बहिनीहरुलाई राम्ररी रुल नै थाहा छैन ।’

    बन्द प्रशिक्षण, खेल मैदान, पोशाक र खेल सामग्री जुटाउनमा जिल्ला खेलकुद बिकास समितिले पहल नगरेको खेलाडीको गुनासो छ । खेलकुद बिकास समितिले चाहँदा स्थानीय तह वा दातासँग समन्वय गरेर आर्थिकदेखि खेलकुद सामग्री जुटाउन सक्ने खेलाडीहरुको तर्क छ ।

    जिल्लाका हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका लगायत केही पालिकाले प्रदेश स्तरिय खेलकुद प्रतियोगीतामा सहभागी हुने खेलाडीलाई औपचारिक कार्यक्रम गर्दै बिदाई गरे ।

    तर अन्य स्थानीय तहले सहयोग त के खेलाडीलाई बिदाई गर्ने र शुभेच्छा राख्न समेत कञ्जुस्याइँ गरेको देखिएको छ । फितलो व्यवस्थापनले अधिकांश खेलाडीको मनोवल गिराउँदा अपेक्षित नतिजा प्राप्त नहुने नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताए ।

    खोटाङबाट सितोरियो कराते, फुटबल, भलिबल, एथ्लेटिक्स, व्याडमिन्टन, उसु, तेक्वान्दो, बक्सिङ, बुद्धिचाल, टेवलटेनिस, शारीरिक सुगठन, पौडी, भारोत्तलन र सफ्ट टेनिसका १५८ खेलाडीले प्रदेश स्तरिय खेलकुद प्रतियोगीतामा सहभागीता जनाउने खेलकुद बिकास समितिले जनाएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगीता पोखरामा असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने छन् ।

    सम्बन्धित समाचार