Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    लालुपाते सहकारीः बचत फिर्ताको माग गर्दै नगरपालिकामा हारगुहार

    लालुपाते सहकारीः बचत फिर्ताको माग गर्दै नगरपालिकामा हारगुहार


    • बुधवार, भाद्र २९ २०७९

    • नेपाल वाइड


    लालुपाते सहकारीः बचत फिर्ताको माग गर्दै नगरपालिकामा हारगुहार
    लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाका बचतकर्ताद्धारा बचत फिर्ताका लागि पहल गरिदिन माग गर्दै नगरपालिका पुगेका बचतकर्ताहरु । तस्बिर : नेपालवाईड डटकम

    खोटाङ, २९ भदौ । बचत अपचलनका कारण संकटमा पुगेको खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित लालुपाते बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताले बचत फिर्ताको माग गर्दै न्यायीक समिति गुहारेका छन् ।

    सहकारीका तत्कालिन अध्यक्ष अनिल जोशी र व्यवस्थापक रुकु जोशीले बचत अपचलन गरेका कारण लगानी डुबेको भन्दै बचतकर्ताले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको न्यायीक समितिलाई बचत फिर्ताको लागि पहल गर्न आग्रह गरेका छन् ।

    मंगलबार न्यायीक समितिका संयोजक एबं उपमेयर बिसन राई समक्ष डेलीगेसन पुगेको बचतकर्ताले निवेदन बुझाउँदै सहकारीका सञ्चालक समितिलाई झिकाएर छलफल गराउन र रकम अशुल गराइदिन आग्रह गरेका छन् ।

    खाईनखाई दैनिक, मासिक र त्रैमासिक रुपमा जम्मा गरेको रकम फिर्ता लिन पटक–पटक ताकेता गर्दा पनि आलटाल भएकाले विरोधमा उत्रनु परेको बचतकर्ता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङकी हिरा कट्वालले बताईन् ।

    करिब साँढे चार हजार ग्राहकलाई अन्यायमा पारेर ‘इन्द्रचोकमा हात्ती हराए’ जस्तै भएको निवेदनमा उल्लेख छ । बचतकर्ताले डुबेको लगानी फिर्ता गर्नका लागि संघर्ष समिति बनाउने तयारी थालेको छ ।

    संघर्ष समितिमार्फत ऋणीको घरघरमै पुगेर अशुल गर्न पहल गर्ने योजना बनाइएको छ । १२ प्रतिशतका दरले व्याज दिने भनेर राखेको चार लाख पटक–पटक फिर्ता गर्न माग गर्दा नपाएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी कल्पान बस्नेत बताउँछिन् ।

    सहकारीको बचत अपचलन भएको विषय भने अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको हो । जोशीको कोभिड–१९ को संक्रमणका कारण १५ बैसाख २०७८ मा पोखरामा निधन भएको थियो ।

    उनको निधनपछि निक्षेपकर्ताहरु निक्षेप रकम फिर्ता माग्न आउँदा सञ्चालक समितिका पदाधिकारी तथा सरोकारवालाले सहकारीको कारोवार तथा हिसाव हेर्नेक्रममा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि खोजी गर्नेक्रममा बचत अपचलन भएको विषय बाहिर आएको हो ।

    सहकारीको नाममा खरिद गरिएको जग्गा समेत परिवार तथा आफन्तको नाममा राखेको पाइएको सहकारीको आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण प्रतिबेदनमा उल्लेख छ । तत्कालिन व्यवस्थापक रुकु जोशीको नाममा हलेसी र बाम्राङमा रहेको केही कित्ता जग्गा सहकारीको नाममा ल्याइसकिएको सहकारी सञ्चालक समितिका सदस्य तुलसीराम आचार्यले बताए ।

    बचतकर्ताले घेर्न थालेपछि अप्ठ्यारोमा परेको सञ्चालक समितिले ऋण असुल गर्दै बचत फिर्ता गर्ने प्रकृया अघि बढाएको जनाएको छ । सञ्चालक समितिले गत २१ भदौमा सार्वजनिक सुचनामार्फत ऋणीलाई हप्ता दिनभित्र सावाँ, व्याज र हर्जना रकम चुक्ता गर्न भनेको थियो । सहकारीको जग्गा बाहेक सावा व्याजसहित करिब १० करोड ऋण लगानी छ । बचतकर्तालाई सावाव्याज सहित करिब ७ करोड फिर्ता दिनुपर्ने हिसाव देखिएको सदस्य आचार्यले बताए ।

    सम्बन्धित समाचार