शनिवार, आश्विन ८ २०७९
नेपाल वाइड
खोटाङ, ८ असोज । नवौं राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तरगत प्रदेश स्तरिय प्रतिष्पर्धामा खोटाङले ११ स्वर्ण जितेको छ । प्रदेश १ का विभिन्न जिल्लामा गत भदौ २९ गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको प्रतियोगीतामा सितोरियो करातेमा छ वटा, पौडीमा दुई वटा, बक्सिङ, शारीरिक सुगठन र भारोत्तलनमा एक/एक वटा स्वर्ण पदक प्राप्त भएको हो ।
जिल्ला खेलकुद बिकास समितिका अनुसार सितोरियो करातेतर्फ महिला समुह काँतामा समिता राई, विद्याकला राई र रोश्मा राईले एक स्वर्ण पदक जितेकी छन् । महिला टिम कुमुतेमा विद्यकला राई, कञ्चन नेपाली र सन्जीता राईले स्वर्ण पदक जिताएकी छन् ।
यस्तै, कुमुते ५५ केजी समुहमा विद्याकला राई, ६१ केजी समुहमा कञ्चन नेपाली, ६८ प्लस तौल समुहमा मिसडोना राई र ७५ केजी तौल समुहमा रुरिहाङ राईले स्वर्ण पदक जितेका छन् । यस्तै तेक्वान्दोमा मोहन राईले ६३ केजी मुनीको तौल समुहमा स्वर्ण पदक जितेका छन ।
पौडीमा क्रिस राईले दुई स्वर्ण जितेका छन् । उनले फ्रिस्टाइलमा एक र ब्रेष्टओमा एक स्वर्ण जितेका हुन् । भारोत्तलनमा ज्योती थापाले एक स्वर्ण जितेको जिल्ला खेलकुद बिकास समितिका प्रमुख लिलाभक्त केसीले बताए ।
शारीरिक सुगठनमा देवराज पराजुली र बक्सिङमा फुर्देन शेर्पाले स्वर्ण जितेका छन् । प्रदेशमा स्वर्ण पदक विजेताले नवौं राष्ट्रिय खेलकुद प्रतियोगीतामा प्रतिष्पर्धा गर्न पाउने छन् ।
स्वर्ण पदक नजिते पनि एथ्लेटिक्सकी दिर्पा बस्नेत, इन्दिरा श्रेष्ठ र गणेश बस्नेत तथा भलिबलमा रोशन बिक र प्रविण कट्वाल पनि राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि छनौट भएका छन् ।
यस्तै, महिला भलिबलतर्फ बिनिता राई र शिखा कोयीले पनि राष्ट्रिय खेलकुद प्रतियोगीतामा खेल्ने अवसर पाएकी छन् । प्रदेश स्तरिय प्रतियोगीतामा खोटाङबाट सितोरियो कराते, फुटबल, भलिबल, एथ्लेटिक्स, व्याडमिन्टन, उसु, तेक्वान्दो, बक्सिङ, बुद्धिचाल, टेवलटेनिस, शारीरिक सुगठन, पौडी, भारोत्तलन र सफ्ट टेनिसका १५८ खेलाडीले प्रतिष्पर्धा गरेका थिए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगीता पोखरामा असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने तालिका प्रकाशित छ ।