मंगलवार, आश्विन ११ २०७९
नेपाल वाइड
खोटाङ, ११ असोज । खोटाङका साहित्यकार डा. चमा थुलुङ (सुकराज राई)को बालकविता संग्रह ‘नाचीनाची बेसारा’ र गीतिकाव्य ‘युम्पी’ लोकार्पण गरिएको छ ।
किरात राई यायोक्खाको केन्द्रीय कार्यालय, कोटेश्वर, काठ्माडौंमा आयोजित कार्यक्रममा प्राध्यपक डा. गोपिन्द्र पौडेल, प्राध्यपक डा. विष्णु राई, प्राध्यपक डा. नारायणप्रसाद गड्तौला र साहित्यकार डा. यादेवी ढकालले संयुक्तरुपमा लोकार्पण गरेका हुन् ।
तीनधारे सरोकार समाज, काठ्माडौं उपत्यका, काठमाडौंको आयोजनामा बालकविता संग्रह ‘नाचीनाची बेसारा’ र गीतिकाव्य ‘युम्पी’ लोकार्पण गरिएको हो ।
‘युम्पी’ गीतिकाव्यको प्रकाशन डि.अनुरागी र ‘नाचीनाची बेसारा’ बालकविता संग्रह प्रकाशन लेखक थुलुङकै दुई छोरी सोनुस्वर्णिम राई र सौदामिनी सुर्मा राईले गरेका हुन् ।
प्रमुख अतिथिका रुपमा प्राध्यपक डा. पौडेलले गीतिकाव्यमा लोकजीवन, सामाजिक, आर्थिक, सांस्कृतिक पक्षका साथै विशेषत थुलुङ राईको सांस्कृतिक जीवन घनीभूत रूपमा चित्रण गरिएको बताए ।
प्राध्यपक डा. राईले पठन संस्कार घटेको अवस्थामा ‘नाचीनाची बेसारा’ र गीतिकाव्य ‘युम्पी’ जस्तो कृति पढाएर बालबच्चालाई कर्मयोगी बनाउन जोड दिए । प्राध्यपक डा. गड्तौलाले युम्पी गीतिकाव्यमा स्वस्फूर्त रूपमा दर्शन समावेश भएको उल्लेख गरे ।
यस्तै, डा. ढकालले बालकविताले ग्रामीण बालजीवनको झल्को दिएको बताईन् । बाल समीक्षक सोइना दाहालले बालकविताले बालबालिकालाई इमान्दार, जागरूक र सच्चरित्र बन्न अभिप्रेरित गर्ने चर्चा गरेकी छन् ।