बुधवार, आश्विन १२ २०७९
नेपाल वाइड
खोटाङ, १२ असोज । खोटाङको साकेला गाउँपालिकाले ४८३ अशक्त लाभग्राहीलाई शिबिरमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । नेपाल एसबिआई बैंकसँगको सहकार्यमा गाउँपालिकाले वृद्ध अवस्थाका जेष्ठ नागरिक, अशक्त अवस्थाका नागरिक तथा आफै हिँडेर बैंकसम्म पुग्न नसक्ने लाभग्राहीलाई शिबिर सञ्चालन गरेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो ।
दशैंतिहारलाई लक्ष्यित गर्दै गत असोज ४ गते साकेला गाउँपालिका–५ मात्तिमबिर्ताबाट सुरु गरिएको भुक्तानी शिबिर असोज ११ गते साकेला गाउँपालिका–३ खिदिमा पुगेर टुंगिएको छ ।
पालिकाका सबै वडा–वडा पुगेर सञ्चालन गरिएको भुक्तानी शिबिरबाट सामाजिक सुरक्षाभत्तावापत अशक्त लाभग्राहीलाई ६६ लाख ७२ हजार ३ सय रुपैयाँ वितरण गरिएको गाउँपालिकाका सामाजिक सुरक्षा शाखा प्रमुख डिएम चाम्लिङ राईले बताए ।
साकेला गाउँपालिका–५ मात्तिमबिर्तामा सञ्चालन गरिएको शिविरबाट ९० जना लाभग्राहीलाई १२ लाख ४९ हजार, असोज ५ गते साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा सञ्चालन भएको शिविरमा ८२ जना लाभग्राहीलाई १२ लाख ९२ हजार, असोज ६ गते साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित डाँडागाउँमा सञ्चालन गरिएको शिविरबाट ७८ लाभग्राहीलाई १० लाख २५ हजार भत्ता वितरण गरिएको छ ।
यस्तै, असोज ७ गते साकेला गाउँपालिका–२ रतन्छामा सञ्चालन गरिएको शिविरबाट ११० जना लाभग्राहीलाई १४ लाख ९२ हजार, असोज ९ गते साकेला गाउँपालिका–४ मात्तिममा सञ्चालन गरिएको शिविरबाट ५९ जना लाभग्राहीलाई ८ लाख ९८ हजार र असोज ११ गते खिदिमामा सञ्चालन गरिएको शिविरमार्फत ६४ जना लाभग्राहीलाई ८ लाख ४५ हजार रकम भुक्तानी गरिएको नेपाल एसबिआई बैंक साकेला शाखाका शाखा प्रबन्धक असिम इङ्नाम लिम्वुले बताए । बैंकसम्म पुग्न सक्ने अन्य लाभग्राहीले भने बैंकबाटै सामाजिक सुरक्षाभत्ता बुझिरहेका छन् ।
विभिन्न प्रकारका १ हजार ३१५ लाभग्राही रहेको गाउँपालिकामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकका लागि १ करोड २३ लाख ६ हजार ३३० रुपैयाँ भत्ता निकासा भएको थियो ।
सामाजिक सुरक्षा भत्तामा व्यापक अनियमितता भएको गुनासो सार्वजनिक भएपछि साकेला गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को दोश्रो चौमासिकदेखि नेपाल एसबिआई बैंकको साकेला शाखामार्फत सामाजिक सुरक्षा भत्ता भुक्तानी गर्दैआएको छ ।
तर बृद्धाअवस्था, अशक्तताका कारण बैंकसम्म पुग्न नसक्ने लाभग्राहीलाई लक्ष्यित गरि गाउँपालिकाले वडा–वडामा शिविर सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दैआएको छ ।
गाउँपालिका र बैंकबीच वर्षको तीन पटक गाउँगाउँमा शिविर सञ्चालन गरेर भत्ता वितरण गर्ने सम्झौता भएको गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले बताए ।