Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    सस्मंरण

    रक्सीसँग साटिएका गाउँको जिन्दगीहरु 

    रक्सीसँग साटिएका गाउँको जिन्दगीहरु 


    • शुक्रवार, आश्विन २१ २०७९

    • भीम राई


    रक्सीसँग साटिएका गाउँको जिन्दगीहरु 
    भीम राई

    खोटाङ, २१ असोज । अर्धनग्न अवस्थामा श्रीमतीको तिघ्रा च्यापेर भर्याङ मुनीको खाटमामज्जाले सुतिरहेको बेला अचानक ढोका बाहिरदेखि टकटक गरेको आवाज आयो । हामी त्यसबेलासम्मबिहानी पखको निन्द्रामा मस्तसँग सुतिरहेका थियौं । तर त्यसरी ढोकाबाट आएको सानो आवाजले हामी दुवैजना निन्द्रादेखिझसँग ब्युँझ्यौं । त्यसपछि आँखा मिच्दै मिच्दै त्यसदिनकोपहिलोचोटी मैले आँखा खोले । त्यसबेलासम्म कोठाचकमन्न अध्याँरो थियो । मैले आँखा खोलेपछि फेरि ढोकातिर एकपटक कान थापेर राम्ररी सुनें । एकछिनपछि ‘बाबै, बाबै’ भनेर दोहरिएकोमधुरो आवाज कोठाभित्र पस्यो । चाम्लिङ भाषामा काकालाई बाबै भन्ने गरिन्छ ।

    ‘यति बिहानै को होला ?’ ताराले पहिलोचोटी मुख खोलीन् ।

    म बिस्तारादेखि उठेंपछि सबैभन्दा पहिले बत्तिको स्विच टक्क दबाए । र, बत्ति बलेपछि, ‘खै ! म हेर्छु है,’भनें ।

    बत्तिको उज्यालोले हातेघडिलाईपहिले एकझलक हेरें । समय बिहानीको छ बजेको थियो । बैशाखको महिना थियो । तैपनि बिहानी पख भएकोले हल्का चिसो थियो । त्यसैले नजिकै रहेको तौलियाले आफ्नो जिउलाई सर्लक्कै एकफन्को बेरें । त्यसपछि हिड्दै गएर घन्द्रङ्गै ढोका खोले । ढोका बाहिर कमलाम्पा उभिरहेको देखेर एकफेरझसङ्ग झस्कें । चाम्लिङ भाषामा कमलाको बाबुलाई कमलाम्पा र आमालाई कमलाम्मा भन्ने चलन छ ।

    ‘हना कहिले आयौको बाबै ? तिमी मात्रै आको कि छोराछोरी पनि ल्याको छौं ?’ मलाई देख्ने बितिक्कै कमलाम्पाको मुख खोलियो ।

    ‘तारा र म मात्र हो ।’ मुखै धोएको थिइनँ, त्यसैले मधुरो स्वरमा जबाफ फर्काए ।

    ‘बिदेशी रक्सी पनि ल्याको छौ कि ? ल्याको छैन भने घरको नै पिउनु पर्ला ?’ फेरि उनी बोले ।

    केस पाकेर सेताम्मे भएका । तैपनि झरझरको झरिलो अनुहार । सुस्वस्थ शरिर सार्है मोटो पनि नदेखिने । र,उनी त्यति पातलो पनि देखिएका थिएनन् । मभन्दा निक्कै पाको भएतापनि साइनोले कमलाम्पा मेरो भतिज हुन् । उमेरले करिव सात दशक पार गरिसकेका भतिजले बिहानको छ बजे पहिलो शब्द नै रक्सीदेखि सुरु गरेको देखेर मलाई हल्का असहज उत्पन्न भएर आयो । रक्सीकोकुरो गरेपछि उनको शरिरलाई पुनः एकचोटी राम्रोसँग हेरें । उनको शिरमा घेरा फाटेका एउटा थोत्रे पाल्पाली ढाका टोपी थियो ।कुम कुममा सा-सानो दुलो परेको धर्के भेस्टा ।मुनी घुँडासम्म झरेको बेलायती जाङ्गे । र,उनले खुट्टामा हात्तिछाप चप्पल उनिरहेका थिए ।

    ‘कस्तो त कमलाम्पा एकाबिहानै रक्सी खोज्छौ को हँ ?’ दम्कुडाँडा जङ्गलतिर फर्केर बोलें।

    ‘पिउने मानिसलाई के को बिहान र बेलुका हो, बाबै । सत्तरी पचहत्तर पुगि हालियो । खै के भाको छैन ? बरु तारा उठेन ?’ उनले भने ।

    ‘केही भइँहाल्यो भने त सकि हालियो नि ।’ सानो स्वरमा बोले ।

    त्यसदिन बैशाख ३० गत्तेको दिन थियो । हरेक पाँचपाँच बर्षमा हुने स्थानिय चुनाव त्यसै दिन हुन गइँरहेको थियो । त्यसैले, ‘होइन कमलाम्पा ! आज चुनावको दिन पनि हो ? अनि रक्सीले मातेर मतदान दिन गइयो भनेप्रहरीको डण्डा भेटिन्छ होला ? अझै तीन महिने म्यादे प्रहरीले मान्छे कुट्न मात्र तालिम गरेका हुन्छन् भन्ने सुनेको छु । तर खै कहाँसम्म सत्य हो ?’

    मेरो कुरो सुनेर उनी फ्यास्सै हासे । ‘मलाई कुटने मान्छे अहिलेसम्म जन्मेकै छैन्क्या बाबै ? त्यसो त यो नाडीमा जोर हड्डी पो छ त् ।’ दाहिने हातको नाडी प्रदर्शन गर्दै उनी बोले ।

    मेरो घरको आँगनमा एउटाकाठको टेबल छ । तिनै टेबलको दुईतिर दुई/दुईवटा प्लास्टिकका कुर्सीहरु राखिएका थिए । कमलाम्पा र म तिनै कुर्सीमा वारिपारी बसेर मज्जाले गफ चुट्टीरहेकाथियौं । एकछिनपछि ताराले एक हातमा एक गिलास रक्सी ल्याएर त्यहाँ उपस्थित जनाईन । र, रक्सीलाई थपक्कै टेबलमा राखिन । त्यसपछि ‘काका ! खै म ढोगि दिन्छु है,’ भनेर सुरिलो पोजिसनमा नमस्ते गरिन् । खै !कमलाम्पासँग उनकी कतातिरको साइनो थियो कुन्नि ? सायद पुरानै साइनो भएकोले काका भनेकी होलिन् ।

    उनले टेबलमा भएको रक्सीको गिलासलाई एक हातले समातेर उँचालेर अलिकति चिरिप्पै पिएपछि, ‘लु गाट्ठे, रक्सीत एकदम कडा रहेछ । ताराले खै कहाँबाट ल्याकी हुन् कुन्नि ? मत फेरी पनि थप्छु है ।’ मुख मिठ्याइँ मिठ्याइँ बोलेको मलाई गज्जब लाग्यो ।

    म सानोछँदादेखि नै कमलाम्पा हाम्रो हिमचिमको मानिस हुन् । उनले मेरो बाबुलाई खेतबारी जोत्न र खन्न निक्कैपल्ट मदत गरेका इतिहास जिउँदै थिए । पहिले पनि उनी त्यसरी नै रक्सी पिउथे । मलाई तिनै पुरानो कुरोको त्यसबेला झलझली याद आयो ।हातमा रक्सीको गिलास समातेर उनले त्यतिबेला म सानो हुँदाको कुरोहरु गरे । त्यसपछि स्वर्गमा हुनु भएको मेरो आमा र बाबुको पनि सम्झना गरे । त्यसले मलाई एकाबिहानै थोरैभाबुक बनाई दिइँरहेको थियो । तर सोहीबेला दुवै हात पछाडी राखेर चमार साइँला आँगनको पल्लो छेउँदेखि हिड्दै हिड्दै हामी नजिकै आइपुग्यो ।

    उनले आउने बितिक्कै, ‘मामुइँ! नमस्कार छ है,’ भन्यो ।

    मैले, ‘नमस्ते ! भान्जा,’ भन्दै एउटा कुर्सी तानेर उहाँलाई देखाए र, ‘यहाँ बस्नोस,’ भनें ।

    ‘अब तपाई लोकल रक्सी पिउनु हुन्न । हिजो राती शुभनको पशलमा बाहिरदेखि आको पोका पिउनु भयो । हुनत त्यो रक्सी खै कस्तो थियो कुन्नि ? प्लास्टिकको बोतलमा राखिएको त्यसको नाम “तिरीमिरी झ्याइँ” चाहिँ मलाई औधी नै मन पर्यो ।’

    मैले त्यसो भनेको सुनेपछि उनले थोरै मुस्कान छाडे । त्यसपछि कुर्सीमा बस्ने बितिक्कै, ‘होइना ! मासुको पैसाले एकदम सार्हो परेको छु । १५ सय रुपैया सापटी दिनु पर्यो । कसम ! जसरी भएपनि एक हप्ताभित्र फर्काइ दिन्छु,’ उनले किरिया खाँदै बोले ।

    उनी साइनोले मेरो भान्जा हुन्। अझैसानो छँदादेखिको अति मिल्ने साथी । घास, दाउरा र गोठाला गर्दा मात्र नभएर हामी सानो छँदा अरुले खेलेर मिल्काएको तासलाई बटुलेर ‘पाँचपत्ती’ खेलेको त्यसबेला उनको अनुहारलाई हेरेर झल्यास्सै सम्झें । तर बिधिको बिडम्वना नै मान्नु पर्छ । मेरो भान्जाले जिन्दगीमा कहिलेपनि पाठशालाकोमुहार देख्न सक्नु भएनन् । खै किन होला कुन्नि ? म पनि त्यसबेला अलिक सानो नै थिएँ र मलाई केही थाहा भएन । तर उनको बुबा पनि बेलायती सिपाही नै थिए भन्ने सुनेको थिएँ । तर म सानो छँदा नै उँहा दिबंगत हुनु भएको थियो । नत्रभने सायद उनको बाबुले, ‘छोरा ! तिमीले पनि अरुले जस्तै स्कूल गएर पढनु पर्छ,’ भन्नु हुन्थ्यो होला ?

    पुरानो कुरोलाई एकछिन सम्झेपछि उनको अनुरोधलाई स्वीकारें ।र,गोजीबाट १५ सय निकालेर, ‘भान्जा ! भो फर्काउनु पर्दैन है। तपाईलाई आशिर्बाद सहित भयो,’ भनें रथपक्कै पैसा दिएँ । तरत्यसरी पैसा हात लगाइदिदैं गर्दाताराले उनको लागि तातातो एक कप चियापनि ल्याइँ दिइन् ।

    ‘साइँला ! अब पैसा पाइँहालिस् । आज भोटको दिन पनि हो । भोट त माओबादीलाई नै दिन्छस् होला ?’ कमलाम्पाले उनको अनुहार क्वारक्वार्ती हेरेर तीखो बाण प्रहार गरे ।

    ‘आफ्नै पार्टीलाइ नै दिने हो नि, अरु कस्लाई दिने र ? दाजै ।’ सहज उत्तर फर्क्यो ।

    भान्जालाई त्यसबेलासम्म गाउँमा अलिक दुःख नै थियो । त्यसैले भान्जाको एउटी छोरी समाज परिवर्तन गर्नको लागि माओबादीमा लागेर जङ्गल पसेकी थिइन् । त्यसैले गर्दा उनीहरुको परिवार सबैजना माओबादी भएका थिए । सायद माओबादीहरुले अन्य स्थानमा राम्रै प्रगति गरेतापनि भान्जाको जीवनमा भने खास्सै प्रगति भइहालेका थिएन । त्यसैलेएउटा सानो उदाहरण यहाँ प्रस्तुत गर्न मन लाग्यो ।

    छिप्तीमा सबै मानिसको घरहरु टिन (जस्ता) ले छाइएका छन् । तर अहिलेसम्म उनको चाहिँ परम्परागतखरको छानो नै छ ।

    ‘आखिर मानिसहरु किन कम्युनिष्ट हुन्छन् ?’

    यो बिषय निक्कै गहकिलो बिषय हो । र, जो कोहीलाई बुझ्न निक्कै चर्को पर्छ । मैले त्यस बिषयमा गहन अध्यान गर्नको लागि चीनदेखि कम्बोडिया त्यसपछि लगभग पुरै यूरोपकोपूर्व साम्यबादी राष्ट्रहरुको यात्रा गरेको थिएँ । तैपनि राम्रो बुझ्न सकिरहेको थिइनँ । अन्ततः यूरोपको सबै साम्यबादी शासन ढलेपछि राजनैतिक गुरु यासिहिरो फ्रान्सिस फुकुयामाले साम्यबाददेखि समाजबाद होइन । उनको पुस्तक‘द इन्ड अफ हिस्टोरी’ मा अन्तमा गएर सबै ‘लिबरल ड्यामोक्रेटस्’ मा पुगेर सकिन्छ भनेको कुरोलाई विश्वास गर्दै आएको छु । 

    तर भान्जाले त्यति भनिसकेपछि कमलाम्पाले फेरी चाँदे दियो, ‘त हेर ! प्रचण्डको कुरो सुनेर बिग्रिस्, केटा ?’

    ‘दाजै ! अरुले पनि के नै नापेको छ र ?’ भान्जा पनि के कमि थ्यो र ? पूर्व माओबादी छापामारको बाबु हुन् । त्यसैले सर्लक्कै मुख फर्काई दिइहाल्यो ।

    खै किन हो किन ? नेपालको माओबादी भनेपछि म पनि अहिलेसम्मझसँग झस्किन्छु । कुनठाउँमा र कतिबेला कस्तो कार्बाही भेटिने होला भनेर थरर भइरहन्छु । कुनै कुनै कुरोहरु यस्ता हुन्छन् । त्यस कुरोसँग हरबखत मानिसलाई हृदयदेखि नै डर पैदा भइँरहन्छ, जस्तैः- ‘मुखमा कानुन र हातमा हतियार बोकेर हिड्नेले कुनैपनि बेला त्यो चिजको प्रयोग गर्न सक्छन ।’ त्यसैले ती कुरोहरुदेखि जहिले पनि सावधान रहनु पर्छ भन्ने मेरो मान्यता रहेको छ । उनीहरुको यस्तै यस्तै पूर्व नियतिहरु सोचेर म मन्त्रमुग्ध भइँरहको बेला ।

    ‘होइनौ बाबै ! प्रचन्डको त घर पनि छैन भन्छ । एकदम ठूलो घरमा बस्छ भनेर सुनेको थिए । अनिहाम्रै केटाहरु जस्तो डेरामा पो बस्छ भनेको सुन्छु । काम नेताको मात्र गर्छ । हामी यहाँ बार्है महिना जोतिन्छौं । र, पनि खान लगाउन हम्मेहम्मे पर्छ । साँच्ची उनले डेराभारा चाहिँ कहाँबाट ल्याउँछ होला ?' त्यति बोलिसकेपछि दुवै हात टाउकोमा राखेर एकछिन आरेमेरे परिरह्यो ।

    ‘उसको लागि देश बिदेशबाट अमेरिकन डलर आउछ होला नि ?’ भान्जाले भन्यो ।

    उनीहरुले पार्टीको कुरो निकालेर केहीबेर गलबाजि गरिरहेको हेर्न मलाई रमाइलो लागिरहेको थियो । हुनत म भर्खरभर्खर गाउँमा पुगेको थिएँ । त्यसैले उनीहरुको गफ मज्जाले सुनिरहेको थिएँ। तर त्यहिँबेला केस जिङरिङ्ग्रै ठाडो पारेको, निक्कैदिनदेखि मुख नधोएको, थोत्रे सर्टमा पसिना सुकेर दागैदाग बसेको,तर काँधमा एकघना सुकेकोबाँस बोकेर उमेद आँगनछेउमा आइपुग्यो ।

    उमेदत्यहाँ देखापर्ने बितिक्कै, ‘यो छ फेरि, अना ! कहाँ सुतेर आइस है ?’ भान्जाले सोधिहाले ।

    ‘गोठमा नै सुते,’ छोटो उत्तर फर्क्यो ।

    ‘यो आजराती मातेर पाँचपाते रूखको फेदमा कराउदै रहेछ । म एकनिन्द्रा सुतेर ब्युझेंको थिए । कस्तो यतिबेला पनि स्याल करायो होला भनेर एकछिन छक्क पर्दै सुनिरहे । त्यसपछि अलिक मज्जाले कान थापेरसुने । गधा ! यो पो रहेछ । घरमा काका र काकी आको छ । म मातेको छु । अब घर गएभने काकाले कराउँछ भनेर मुला गोठमा सुतेर आको हो । साँच्चै भुनुङ भुने छिप्तीमा कसैको यतिको राम्रो तीनतलेघर छैन् । ढुङ्गा र माटोको गार्हो भएपनि चुइचुम्मादेखि ल्याको सखुवाको जोडीजोडी थामहरु र जोडीजोडी निडालहरु छन् । दलिनहरुको त कुरै नगरुङ । त्यहाँदेखि त्यत्रो धेरै काठहरु बोकेर ल्याउनुमात्रै एकहप्ता समय लागेको म अहिले झलझली सम्झुन्छु । भुनुङ म त्यतिबेला अलिक सानो नै थिए । अब यति राम्रो घरमा मज्जाले नसुतेर जाँठो गोठ गोठतिर सुति हिड्छ । आबो यस्को बानी ठीक्छ त पटक्कै ठीक छैन ।’ कमलाम्पाले उमेदलाई देख्ने बितिक्कैप्याच्च बोलेर खैरो खने ।

    नभन्दै, मेरो घर बुईपा, छिप्ती हो । र, म जहाँ बसेको छु । त्यस घरको निर्माण २०२७ सालमा जुमेम्पा दाजुले गर्नु भएको थियो । त्यस घर बनाउनको लागि जिल्लाको प्रख्यात कालिगडहरु लफ्याङ र चुप्ला भन्ने गाउँहरुदेखि ल्याइएका थिए । र, त्यो घरको निर्माण हुँदा गाउँको सबैभन्दा पहिलो झिँगटी घर भएको थियो । त्यसैले त्यस घरको नाम झिँगटी घरभन्ने राखिएको थियो । अँश बन्डाको क्रममा जुमेम्पा दाजुको माईला छोराले पाए । त्यसपछि मैले खरिद गरेर त्यसघरको झिँगटीको छानो आजभन्दा लगभग ३५ बर्ष अगाडी मिल्काइ दिएको थिएँ । र,सेतो टिनको छानो हालेको थिएँ । त्यसपछि त्यो टिन पनि फालेर ५ बर्ष यता निलो टिनको छानोले घर मसक्कै सजिएको छ । यधपि छिप्तीको बीच भागमा रहेको र टिनको छानो भएतापनि त्यसघरलाई अहिलेसम्म ‘झिँगटी घर’ नैभन्ने चलन चलि आएकोछ ।

    तिनै झिँगटी घरमा उमेद र म बिगत १५/१६ बर्षदेखि यता सँगसँगै बस्दै आएको छौं । ऊँ मेरो सानो कान्छा दाजुको जेष्ठ सुपुत्र । अथवा मेरो जेठो भतिज । भतिज अरुबेला ज्यादै इमान्दर र परिश्रमी छ । अनि एकदम धेरै मेहनत गर्छ । उसको जिउँडाल एकदम सानो छ । तर जाडरक्सी धोक्र्याएपछि गाउँमा कसैलाई गन्ने मान्ने चलन छैन । खै किन हो किन शुभनेम्पासँग मात्र अलिअलि डराए झैँ गर्छ । नत्रभने कसैलाई टेर्दैन । अरुबेला आँखामा राख्दा नबिँझाउने मेरो भतिज मातेको बेला नाङ्गो खुकुरी हातमा लिएर मलि मैदान नाँचेपछि छिप्तीको मिनी डन नै भने पनि हुन्छ । तर खै के भोर हो, कुन्नि ? आजभोलि हरेक दिन जस्तो मात्छ र मातेपछि धुरुधुरु रुने गर्छ । ऊँ रोएपछि गाउँको फुच्चाफुच्चीहरुलाई राम्रो टिकटिक बनाउने अवसर जुर्छ । म यदाकदा तिनै टिकटिक हेर्दा भोल्टेयरले भनेको तिनै शब्दहरु,‘आँशु दुःखको मौन भाषा हो,’ भनेको राम्ररी सम्झिरहन्छु ।

    उनको एक छोरा र एक छोरी पनि छीन् । छोरा अहिले अरबमा छ । छोरीलेचाहिँ बिहे गरेपछि काठमाण्डौ तिर बसाइँ सारेकी छिन् । त्यसकारण छोराछोरीदेखि उनलाई खासै पिर नहुनु पर्ने हो । यदि कुनै कुनैबेला आर्थिक समश्य पर्यो भने म पनि तासको ‘अल्टर’ झैँ भएर बसिरहेको छु । हुनत उनले सफल जिन्दगी जिउनको लागि अनेकौ प्रयत्नहरु पनि गरेका थिए । तर केही पारा लाग्न भनेसकेनन् ।

    पहिलो चोटी अरब जाँदा ऊँ निक्कै लामो समयसम्म रियादको केन्द्रिय कारागारमा कैदी जीवन बिताएर गाउँ फिरेका थिए । अभागि मोरो दोश्रो चोटी अरब जाँदा लामो समयसम्मबिमारी भएर फर्के ।तैपनि उनले प्रयास जारी राखिरहे । तर तेश्रो चोटी कतार पुग्दा करार सम्झौता गरेकोभन्दा आँधामात्र पारिश्रमिक दिने भएकोले खाली हात घर फर्केका थिए । तीन/तीन चोटी खाडी मुलुक गएर आफ्नो भाग्य परिक्षण गर्दा धोका खाएपछि अहिले गाउँमा फिरेर बाख्रापालन गर्छ । र, मौका परेको बेला खुङ्खार कम्युनिष्टरसियन तानाशाह जोशेफ स्टालिनको बाबु बिसारियन जुगासभिलीले हरेक बेलुकि भोड्का पिएर गोरी, जर्जियामा माते झैँ ऊँ पनि बुईपा, छिप्तीमा भक्कु मात्ने गर्छ ।

    अल्कोहलिक हुनै लागेको उनको अनुहार त्यसबेला बर्षायाममा बादल लागेको रुपाकोट डाँडाजस्तो मधुरो थियो । मनभरी पिरको भारी बोकेर कछुवा चालमा सुस्तरी हिडेर हामी नजिकै आएपछि, ‘के पिउछस् केटा ? अहिले बिहानै पनि छ । अनि आज चुनावको दिन पनि हो । घरमा दुहुना छैन । त्यसैले काका र भतिज मिलेर एक-एक कप कालो चिया पिउ है ?’ मैले सानो स्वरमा उनलाई भनें ।

    मेरो भनाई सुनेर ऊँ एकछिन अकमकायो । उनको मुखदेखि एक्कै शब्द फुत्केनन् । तर टाउको घुमाएर टेबलको वरिपरि एकचरण हेर्यो । ‘बाबै ! के पिउँछ र ? यो जाठो रक्सी नै पिउँछ नि,’ बरु कमलाम्पाले नै उनको सट्टा बोलिदियो ।

    कमलाम्पाको कुरो सुनेपछि, ‘हिजो माथिलो घरमा घर चिन्ता बसाएको थियो । रातभरी के त्यसै बसिरहने भनेर निक्कै धेरै पिएछु । त्यसैले अहिलेसम्म मेरो टाउको दुखिरहेको छ । यसलाई अरु के ले नै ठीक पार्छ र ? बरु रक्सीले नै ठीक गर्छ,’ रक्सी नै पिउने उनको रहर पलायो ।

    उनको कुरो सुनेपछि, ‘ल बुढिया ! उमेदलाई पनि एक गिलास रक्सी देउ है, कि कमलाम्पाअझै थप्ने हो र ?’ मैले बोलिसकेको थिइनँ, ‘म त अघि नै थप्छु भनेकै छु नि,’ उनी फेरि बोले ।

    कमलाम्पाको कुरो सुनेपछि, ‘कमलाम्पा ! आफ्नो उमेर र रक्सीको गिलास कहिले गन्न हुदैन है । आँखा चिम्लिने हो, अनि स्वाट स्वाट पिइँहाल्ने हो । आखिर जिन्दगी एक पटक मात्र त जिउनु पर्छ । त्यसकारण रक्सी नपिइँ के बाँच्ने हकि ?’ भनेर मैले थोरै जिस्क्याएको जस्तो गरें ।

    तर उमेदको कुरो सुनेर बुहारीले, ‘पर्दैन है पर्दैन । दिनैपछि रक्सी पिउन । मेरो पो उमेरमा धेरै चुटाई खाएको हुनाले जिउँ दुख्छर बेलुका बेलुका पिउँछु । उसको चाहिँ खै के दुख्छ रपिउनु पर्यो ?’भान्सा कोठादेखि भनिन् ।

    मेरी बुहारीले पनि साईला भानिज जस्तै जिन्दगीभरि स्कूलको अनुहार देख्न पाएकी थिइँनन् । जसले गर्दा उनी जहिले पनि अन्धविश्वासमा जोड दिने गर्थिन् ।सायद त्यसैले होला । जिउँ दुखेको औषधी रक्सीमात्र हुन्छ । अन्य केही हुँदैन भनेर सोच्थिन । तर मैले उनको कुरो सुनेपछि, ‘अब आजलाई भै हाल्यो । चुनावको दिन पनि हो । केटोले आज पिउँछ । भोली बिहानदेखि छोडिहाल्छ,’ भनें । मैले त्यसो भनेको सुनेपछि भान्जाले, ‘यस्ले रक्सी पिउन छाडनु र धर्तीमा आकाश खस्नु एउटै हो, मामुइँ,’भनेर उनी खितिति हाँसे ।

    ताराले दोश्रो फैतुङ रक्सी ल्याइन । र,थपकथपक टेबलमा राखि दिइन । उनीहरुले रक्सी पिउदै गर्दा, ‘लौ, अहिलेसम्म यहाँ पो कमलाम्पा ? कस्तो त यतिबेलासम्म यहाँ छौं को ? मासु पकाउनु धिलो भइसक्यो है ?’ सम्झनाम्पा त्यहाँ आयो । र, कम्बरमा हात राखेर कमलाम्पा तिर हेरेर बोल्यो ।

    ‘सम्झनाम्पा! ल ठीक्कै छ । तिमी पनि एकछिन यहाँ बस। अनि जाड पिउने हो ?’ मैले उनलाई सोधें । उनले एकचोटी टाउको हल्लाएर मन्जुर गरे । त्यसपछि मैले तारालाई, ‘बुढियाँ ! एक डबका जाँड बनाइदेउ है,’ मूलढोका नजिकै पुगेर भनें ।

    ७ जना छोरीहरु जन्माइ सकेपछि सम्झनाम्पाले आजभोली छोराको खोजि गर्न छाडिसकेको छ । मेरो घरको तीनसय मिटर उत्तर पूर्वमा उसको एक जोडी घर र मतान छ । त्यस घरमा हरेक बेलुकी नानी केटाकेटीहरु रोएको र बुढाबुढी बाझेको मलाई सबै कण्ठस्त हुन्छ । ऊँ जेठाको पनातीर म काईलाको छोराभएकोले साइनोमा ऊँ मेरो नाती पर्छ । ऊँ कहिलै पनि रक्सी पिउँदैनन् । त्यसकारण उसको बानी एकदम राम्रो छ । तर हलो कोदालो गर्नुपर्छ भनेर मातिन्जेल जाँड पिउछ । त्यो चाहिँ नराम्रो छ । धेरै मातेको बेला उसले श्रीमती त कति ठटाउछ, ठटाउछ । कसैलाई पत्तै हुँदैन । अनि केटोले मातेर रिमरिम भएको बेला मलाई पनि पो चिन्दै चिन्दैन । त्यसबेला मलाई थोरै दुःख लाग्छ । अझै बेला मौकामा बियरको गन्ध भेट्यो भने तातो र चिसोको कुनै मतलव गर्दैन । जस्तो भएपनि पिइँहाल्छ ।

    सम्झनाम्पा र सम्झनाम्मा दुवैजना नेकपाएमालेको मतदाताहरु हुन् । तर उनीहरु पार्टीका सदश्य वा कार्यकर्ता भएको चाहिँ मलाई पटक्कै ज्ञान छैन । तैपनिआज चुनावको दिन उनीहरुको घरमा दुई खँडकुलो जति रागाँको मासु भुटिदैं थियो । त्यहाँ मासु, च्युरा र रक्सी ‘नेपाल कम्युनिष्ट पार्टी –एमाले’ ले बन्दोबस्त गरेको थियो । हिजो दिउसो त्यहाँ गाउँको सबैभन्दा ठूलो रागाँ ढलेको थियो ।त्यहाँ रागाँ ढल्दापनि फटिक पार्टीको लागि ३/४ केस बियरले बिदा लिएको थियो भन्ने बेलुकीसातबजेको मौखिक समाचारमासुनेको थिएँ । त्यसपछि रातभरि शुभन र कबितको रक्सी दोकानहरु रित्तिनेगरि रक्सीहरु त्यहाँ ओसारिएको पनि मुहार पुस्तिकामा समाचार बनेर आएको थियो । बिहानको १० बजेदेखि एमालेका मतदाताहरु मासु र रक्सी पिउन ताती लाग्ने हुनाले सम्झनाम्पा मासु पकाउन धिलो भो भनेर कमलाम्पालाई खोज्न आएको थियो ।

    सम्झनाम्पाको घर जतिक्कै टाढा तर मेरो घरको पश्चिम दिशामा चाहिँ गिताम्पा दाजुको नयाँ घर बनेको छ । त्यो घरमा पनि लगभग त्यति नै जति मासु पाक्न गइँरहेको थियो ।त्यहाँ चाहिँ त्यसदिन रागाँ होइन । तर रागाँजत्रै भिमकाया बङ्गुर काटिएको थियो । आजभोली गाउँमा शुभन, अर्जुन र बलभद्रले रागाँ जत्राजत्रा बङ्गुरहरु पालेका छन् । तिनीहरुलाई देख्दा म तीन दङ्ग परेको थिएँ । उहिले हाम्रा पालामा बङ्गुरलाई खानदिने चारो हुँदनैथ्यो । त्यसैले रित्तो डोको भोकेर भष्मेखोला र ढाँडेखोलामा बन तरुल र कर्कलाका पातहरु काट्न जानुपर्थ्यो । तर अहिले मधेसदेखि मटरको बाटो हुँदै बोराका बोरा सुङ्गुरको चारो आउने रहेछ । त्यो देखेर मलाई निक्कै आश्चर्य लागेको थियो ।

    गिताम्पा दाजुको घरमा हिजो दिनभरि बङ्गुर काट्न भेला भएको गठबन्धनका काङ्ग्रेस, माओबादी, समाजबादी र राजाबादीहरुले तीन बहान रक्सी सबै रित्याएछन् । अब हिजै तीन बहान रक्सीको एकथोपा नराख्नेले भोटको दिन कति बहान सिध्याउने होला ? त्यो त मलाई के थाहा हुन्छ र ? केवल चर्च अफ नाटिभिटी बेत्लेहेम, जेरुसेलममाआराम गरेर बसिरहेका जिसस क्राइष्टको प्रतिमालाई मात्र थाहा होला ? किनभने उनी इसाइ धर्मावलम्वीहरुको भगवान हुन् ।

    मैले किन त्यसो भनेको हो भने गाउँमा धेरै जसोले भगवानलाई थाहा हुन्छ भनेर भन्ने चलन छ । चाहे त्यो हिन्दु, बौध्द वा मुस्लिम धर्मको भगवान नै किन नहोस् । यहाँ धर्मको कुरोलाई यतिक्कै बिसर्जन गरें । र, राजनीतिको प्रसगँ कोट्याएँ । हुनत काङ्ग्रेसका सदश्यहरुले मातिन्जेल रक्सी पिउनु मेरो लागि कुनै नौलो कुरो होइन । किनभने उनीहरुले सात सालदेखि अहिलेसम्म पिउदै र मात्दै नै आइँरहेकै छन् । तर बर्ग बिभेद भएको यस मुलुकमा बर्गबिहिन समाजको सिर्जना गर्छु भनेर क्रान्ती गर्ने माओबादीका साथिसङ्गीहरुले पनि आँखा साँखा चिम्लेर रक्सी पिएको देखेपछि, ‘भन्यो लालसलाम, पियो रक्सी, खेल्यो तास, पार्टी माओबादी,’ अन्य पार्टीका झोलेहरुले त्यसो भनेको सुन्दा मलाई थोरै हाँसो उठेको थियो ।

    यदि मेरो घरदेखि उत्तर दिशातिर बाङ्गो टिङ्गो नबनाइ देशान्तर रेखा कोर्ने हो भने करिव ७ सय मिटर जति टाढाएउटा मामुली प्राथमिक बिधालय रहेको छ । उहिले त्यो बिधालय भकारीले छाएको सानो चित्रे घर जस्तै थियो । तर अहिलेत्यसको रुप परिवर्तन भएर टिनले छाइएको छ । कक्षा पाँचसम्म पढाइ हुने त्यस स्कूलमा पहिले तीन वटा कक्षा कोठाहरु मात्र थिए । तीनताका एउटै कोठामा दुई-दुई कक्षाहरु पढनु पर्थ्यो । त्यो सुनेपछि मेरो मन थोरै बिचलित भएको थियो । त्यसैले लगभग १२-१५ बर्ष अगाडी मैले ५० हजार रुपैया स्कूललाई सहयोग गरेर फाल्टु दुईवटा कोठाहरु थपिदिएको थिएँ । जस्ले गर्दा प्रत्येक कक्षाको आ-आफ्नै कोठा भएकोमा त्यसबेलाका बिधार्थीहरु अति प्रसन्न भएका थिए ।

    आज तिनै बिधालय बुईपाको एउटा मतदान केन्द्र हो । जहाँ कुसुङ्खा, टारी, कट्टी, लेक्पा, छिप्ती, दम्कु, फूलेली, बीचगाउँ र बरबोटको मानिसहरुले मतदान गर्दै थिए । अनि जो जो त्यहाँ मतदान गर्न आउछन् । उनीहरु सबैजनाले मुख मिठो बनाइँ बनाइँ मासु र रक्सी पिउन कै लागिकि गिताम्पा वा सम्झनाम्पाको घरमा जानुपर्ने हुन्छ ।

    सम्झनाम्पाले एक डबका जाड एक्कै सासमा आँधा बनाएपछि एमाले र माओबादीका अन्धोभक्त्तहरुको गफ मज्जाले चलिरहेको थियो । तर ठीक त्यहिँबेला घर मुनिको डिलदेखि रोजेम्पा भान्जा बिहानीको घाम झैँ टुप्लुक्कै झुल्केर घरको आगनछेउमा आइपुग्यो । उनले त्यहाँ आउने बितिक्कै, ‘लु अहिलेसम्म सबैजना यहाँ पो रहेछन् । साईला दाई मासु पकाउन जाने होईन र ? अघि फोन आइसकेको छ । पाँच/पाँच बर्षमा आउने चुनाव हो, अलिक वास्ता गर्नु पर्दैन । त्यसैले अलिक फार्तिफुर्ती गर्नोस है । टारी र कुसुङ्खाको माओबादीहरु बङ्गुर खानको लागि दार्हा तिखारेर आउदै छ रे । हामीले अहिलेसम्म मासु पकाउने बन्दोबस्त गरेकै छैन । आबो उनीहरु आइपुग्यो भने के दिन्छौं ? हकि होईन, माम्मै ?’ म तिर हेरेररोजेम्पालेप्रश्न गरे ।

    उनको कुरो सुनेर,’ कान्छा ! लु भो, त बिँचमा धेरै नकरा । १५ सालदेखि चुनाव सुनेको मान्छे । म अझैसम्म जिउँदै छु । त्यो पछि बहुदल, निर्दल, पहेलो, निलो र पन्चायत खै के के हो ? के के भोगेको छु, मैले । हेर केटा, त्यस्तो चुनाव आउछ–जान्छ । कसैले केही खेस्दैना । हामी गरिवको दुःख जहिले पनि हामीसँग नै रहिरहन्छ । तलाई प्रचन्डले भात खाने चामल दिन्छ र ? देउपाले एकछाक मासुको पैसा तिरिदिन्छ र ? ओलीले तलाई रेल ल्याइँ दिन्छ त ? म त आसाम र नागाल्याण्ड जाँदा रेल चँढेको मान्छे हुँ । बिना बिच्चमा । भो तलाई केही थाहा छैन् ? खै त पोर परार पनि केही हुन्छकि भनेर आफ्नो मान्छे राईलाई भोट नदिएर भट्टराईलाई दिएकै हो । केहि लछारपछार लायो । अहिले को कहाँ छ, कहाँ छ ? म केही जान्दिना को,’गिलास हातमा लिएर कमलाम्पाले उभिदै त्यतिसम्म भन्यो र एकछिन रोकियो ।

    उनीहरु त्यहाँदेखि बिदा हुनखोज्दै थिए, ठीक त्यहिँबेला, ‘म पनि एउटा कुरो भनौ ?’ भनेर कुर्सीदेखि उठें र कमलाम्पाको नजिक पुगेर बोलें ।

    कमलाम्पाले, ‘बाबै नै हो, भुनन जे मनमा लागेको छ,त्यो भुन, कुरो त् त्यसो पो त,’ भने ।

    ‘सबैजनाले सुनौं हैं । किराँतीको छोराछोरीले पनि जाँडरक्सी पिएन भने मज्जाले गरिखान्छ । उदाहरणको लागि ध्यान जुवाइँलाई हेरे पुग्छ ।’ 

    मैले त्यति भनि सक्ने बितिक्कै रोजेम्पाले, ‘मामुइँ! हो है हो । एकदम सत्य भन्नु भयो । ध्यान दाईलाई केही को दुःख छैन,’ भनेर मेरो समर्थन गरे ।

    उनले त्यति बोलिसकेपछि सबैजना जराकजुरुक उठे। र, आ-आफ्नो बाटोतर्फ लागे । समय बिहानको त्यस्तै दश बज्नै लागेको हुनुपर्छ । दिन अचम्मैले खुलेर आयो । पूर्व मझुवागढीदेखि उदाएको घाम दुई टाङ्गोमाथि पुगेको थियो । निलो आकाशमा एक टुक्रा बादल देखा परेका थिएनन् । त्यति सफा मौसममा मैले निक्कै लामो समयसम्म दम्कुडाँडा जङ्गल हेरिरहें । एकोहोरो जङ्गललाई हेरिरहँदाबरु मेरो दिलमा बादल लाग्न सुरु गरेका थिएँ ।

    किनभने हाम्रा धेरै आफन्तहरु कहिले नफर्कने हावा झैँ भएर तिनै जङ्गलको माटोमा सधैभरीका लागि बिलय भएकाथिए । त्यस मानेमा यदि जीवन र जमिनलाई तुलना गर्ने हो भने एउटै एउटै जस्तो रहेछ भन्ने मलाई त्यसबेला अनुभूत भयो । मैले त्यहाँ अन्तिम पटक दिएका मट्टीहरु गन्ने हो भने पनि अहिले औलामा गन्न सकिदैनन् । खै किन हो किन ? मैले त्यसबेला स्वर्गमा हुनु भएका मेरो आमा र बाबु लगायत उनीहरु सबैलाई सम्झना गरेर निक्कै भावुक भएँ । तरआखिर के गर्नु र ? ‘धेरै सोच्नु पनि धेरै बेखुसी हुनु हो,’ भन्ने मलाई राम्रै ज्ञान थियो । त्यसकारण धेरै सोच्न छाडिदिएँ ।

    तैपनि हाम्रा पूर्खाहरु त सधैसधैका लागि हामीसगँ बिदा भइँसक्नु भएको थियो ।तर अहिले बिदा नभएका अनि चाडो चाडो बिदा हुनको लागि रक्सीसगँ जिन्दगी साटन खोज्ने गाउँका मानिसहरुसगँ किन हो किन मलाई हल्का क्रोध उत्पन्न भइँरहेको थियो । त्यसरी अल्कोहलिक भएर अल्पआयुमा जीवन सक्ने मान्छेहरुको नाम सङ्कलन गर्ने हो भने पनि मेरो गाउँकोले मात्र एक पाना कागज मज्जाले भरिन जान्छ ।अब रक्सी पिएर चाँडैचाँडै यस धर्तीलाई बिदा गर्न खोज्ने मान्छेहरुको नाम पनि एक झमट स्मंरण गर्ने प्रयत्न गरें । किनभनेउनीहरु पनि यो समाजको अभिन्न अङ्ग हुन् । वास्तवमा हाम्रो समाज कसरी बनेको हुन्छ ? समाज शास्त्रका ४ विचारकहरु क्रमशः अगस्ट कोम्ट, एमाइल डर्काएम, कार्ल मार्क्स र मेक्स वेबरलेरक्स्याहहरुको बिषयमा कतिको अध्यान गरेका थिए होला भनेर केहीबेर मनन गरें ।

    कोम्टका त्री स्तरिय नियमहरुः- तत्व दार्शनिक या अमुर्तात्मक अवस्था, बिज्ञानबादी या प्रत्यक्षावस्था र धर्म शास्त्रिय या काल्पनिक अवस्था मध्य कुनैपनि नियमले मेरो भतिजर भान्जालाई नछुने रहेछ, भन्ने लाग्यो । हुनत उनीहरु केवल गाउँका अति सुक्ष्म एबम् झुसेमुसेपात्रहरु मात्र हुन् । ठूल्ठूला मानिसहरुको यहाँ नाम लिदाँ थोरै असहज उत्पन्न हुन्छ होला कि भनेर लिन सकिन । नत्रभने गाउँमा त्यस्तै त्यस्तै अरु कति धेरै छन्, छन् । बरु डर्खाएमको गहन ग्रन्थ ‘सामाजिक श्रम बिभाजन’ (द सोसियल डिभिजन अफ लेबर) भन्दा सन् १८९७ मा निस्केको उनको अर्को पुस्तक आत्महत्या (द सुसाइड) लेचाहिँ रक्सीसँग साटिएको गाउँको जिन्दगीलाई निक्कै असर पारेको छ कि जस्तो लाग्छ । किनभने फल्नाको आमालेअरु केही नभएर रक्सीले मातेर आत्महत्या गरेकी रहेछिन् भनेको सुन्दामेरो हृदय छियाछियाभएको थियो ।

    हो, त्यतिबेला पनि दिखुवा खोलामा टिम्बुरको बिष पिएको माछा झैँ उमेद रक्सीले अलिअलि रमरम भइँरहेको थियो । तैपनि ऊँ अघि घर आउँदा एकघना बास बोकेर आको थियो । अहिले त्यहिँ बासको प्रयोग गरेर उनले घर नजिकै रहेको बाख्राखोर मर्मत गर्न थाल्यो । अब मेरो अन्य केही काम थिएन । त्यसैले दुवै हात कम्बरमा राखेर एकाध उनको रमिता हेरिरहेको थिएँ । तर ठीक त्यहिँबेला अचानक घर भित्रदेखि, ‘भात खाने होइन ? लु खाना पस्के है,’ भन्दै तारा कराइँन् ।

    उनी कराएको सुनेपछि म आगोले पोले झैँ हत्तपत्त, ‘केटा ! ल खाना खान जाउँ, तेरो यो काम भोली गर्दा पनि हुन्छ,’ भनेको के थिए । ऊँ पनि के कमी थिए र ? ‘तपाई हिडदै गर्नोस, म अहिले खान्न,’ जबाफ फर्किहाल्यो । उनको भनाइ सुनेर म सुइत्त घरभित्र पसे । त्यसपछि दाल, भात, भैसीको सुकुटी, गुन्द्रुक र तामाको अचारसँग मज्जाले खाना खान थालें ।

    ‘जेठा ! तिमी पनि आउँ न हौ,तिमीहरुले खाना खाइसकेपछि मैले नै जुठोभाँडो गर्नुपर्छ । धारामा पानी पनि आएको छ कि छैन ? कसैले हेरिदिने होइन ? मलाई पनि चुनावको रमिता हेर्न जान मन लागिरहेको छ । बिहानभरी घरि जाँड, घरि रक्सी, घरी चिया बनाउदैं हत्ते भए । यो काका भतिजले त मलाई गाउँमा सजाय नै दिएकोछौ । के सार्हो गर्छौ हौ ?’ तारा गाउँमा पहिलो चोटी क्रोधित भइँ । उनकी हृदय टुटेको चाल पाएपछि उमेद निन्याउरो अनुहार बनाउदै घरभित्र आयो र खाना खान थपक्कै बस्यो । मेरो काका थोत्रे देशी हुन्। त्यसकारण काकीले दिएकी हुकुम बाहेक अन्य केही जान्दैनन् भनेर केटोले मलाई निक्कै हेप्ने गर्छ । म पनि थाहा नपाए झैँ गर्छु । तर नमातेको बेला काकीसगँचाहिँ अलिअलि डराए झैँ गर्छ । तैपनि मातेको बेला त ऊँ के कमिहुन्थ्यो र ? केटो जङ्गलको राजा सिंह झैँ भइँहाल्छ ।

    उनले खाना खादैं गर्दा, ‘काकी ! तपाईहरु भोट हाल्नु जानुहोला ? म बाख्रा गोठाला जान्छु । र, भरै बेलुकीपख भोट हाल्नु आउछु है,’ भन्यो । उनको कुरो सुनेरतारा केही बोलिनन् । बरु मैले प्रति उत्तरमा, ‘हुन्छ, हुन्छ त्यसै गरौँ न त है,’ भनें । 

    बिहानीको खाना खाइसकें । त्यसपछि सर्ट र पतलुङ्गमाथि एउटा थोत्रो भोटो ओढें । एकजोर चप्पल उनिहालें र मतदानस्थल जानको लागितयार भएँ । तर मतदानस्थल कुन बाटो जाउँ भनेर एकछिन दोधारमा परें ? दायाँ जाउ कि बायाँको बाटो जाउँ ?दायाँको बाटो एमाले र बायाँको बाटो गठबन्धनको पार्टी चलिरहेको छ। अब अहिले जादाँ गठबन्धन र फिर्दा एमालेको पार्टीस्थल भएर झर्नु पर्यो भन्ने निर्णय गरें । त्यसपछि लम्रङलम्रङ हिडें । एक्कैछिनमा गिताम्पाको घर नजिकै पुगिहालें। त्यहाँ पुग्ने बितिक्कै मेरो नजर आँगनमा भएका दुईवटा अस्थायी चुल्होहरुमा पर्यो ।

    त्यसबेला ती चुल्होहरुमा बङ्गुरको मासु भकभक उम्लिरहेका मज्जाले रमिता हेर्न सकिन्थ्यो । अनि आँगनको पर कुनामा एउटा सानो चित्रे गोठले सितल दिइरहेको आभास हुन्थ्यो । तिनै गोठभित्र एकचक्कर नजर डुलाउने हो भने च्यूराकाकेही बोराहरु परेड खेल्न फलिन भएका सिपाहीहरु जस्तै एक्कै लाइनमा बसेका देखिन्थे ।अनि त्यसलाई साथ दिनकोलागि सुनाखरी महिला समुह (छिप्ती) का स्टिलका थाल र बटुकाहरु मङ्सिरमा काटिएका धानका पाँजा झै लरर टल्किरहेका थिए ।

    त्यसपछि म सुस्तरी एक दुई कदम अगाडी बढदै गएको थिएँ । तर अचानक गिताम्पा दाजैलाई देखेर, ‘नमस्ते ! दाजै,’ भन्दै टक्क रोकिएँ । दाजुसगँ त्यसरी भेट हुँदा उहाँले ठूलो कासेँ डबकाभरी जाँड समाति रहनु भएको थियो । तर उहाँलाई भेटने बितिक्कै, ‘अना दाजै ! भोट दिन जाने बेला भएन र ?’ मसिनो स्वरमा सोधें ।

    ‘केटा ! म भैंसीलाई पानी खुलाएर आँउछु । तँहिड्दै गर है,’ भन्नु भयो ।

    उहाँले त्यसो भन्नु भएपछि ‘हस हजुर,’ भनें । तर दाजुको घरमा गठबन्धन पार्टीको पार्टी चलिरहेको थियो । बरु उहाँ चाहिँ कुन पार्टीको हुनुहुँदो रहेछन् भनेर जान्ने उग्र रहर लागेर आयो । त्यसैले, ‘खास खासमा गठबन्धनभित्र पनि तपाई कुन पार्टीमाआबध्द हुनुहुन्छ नि ?’ भनेर सोधें ।

    ‘केटा ! म त राजाबादी हुँ,’मज्जाले हासेर जबाफ फर्काउनु भयो ।

    ‘लौ किन र, राजाबादी ?’आश्चर्य मान्दै सोधें ।

    ‘पहिला भगवानको पालामा पनि राजारानी हुन्थ्यो ।अब बुढेसकालमा राजारानीलाई के छोड्यौ भनेर हो ।’ उहाँले भन्नु भयो ।

    ‘ल ल ठीक्कै छ नि हजुर ! जस्लाई जे मन लाग्यो त्यो नै ठीक्छ ।’ मैले उहाँको भनाईलाई समर्थन गरें ।

    मानिसको दिमाग पनि अचम्मैको हुन्छ । किनभने, ‘जस्तो सोच्यो, त्यस्तै हुन्छ ।’ तैपनि दाजुले भगवानको कुरो गर्दा मलाई प्रख्यात दार्शनिक नित्सेले भनेको एउटा कुरोको त्यसबेला बेस्सरी याद आयो । मैले पोल्याण्डमा पुगेर महान खगोलबिद्निकोलस कोपरनिकसले हाम्रो ब्रम्हाण्ड पृथ्वी केन्द्रित नभएर सूर्य केन्द्रित छ भनेपछि भगवानको मृत्यु भयो(द गड इज डेड) उनले भनेका चाल पाएका थिए । सायद दाजुले इश्र्वरको मलामी जान नपरेर भगवानको कुरो गरेका होलान कि भन्ने मनमनै लाग्यो । त्यसपछि दाजुसँग बिदा भएर हिडेको मिलिककै भरमा उहाँको बुहारीले, ‘आबुइँ ! बाबै पो रहेछ । बाबै,यो तीनपाने रक्सी चाख्नुहोस त,’ पहिले भनिन् । त्यसपछि हातमा समातिरहेकी ड्युको बोतलमा भएको रक्सी सारेर जब्बरजस्ती एक गिलास मेरो हातैमा थमाई दिइँ ।

    ‘बुहारी ! लौ यो के गरेको ? म तकहिले पनि रक्सी पिउदिन नि ।’

    ‘त्यहिँ भएर त आज देको । त्यति पिउनोस न, केही हुँदैन के ?’

    उनले जब्बरजस्ति गरिन । अनि उनको जब्बरजस्ति पनि अस्ति माथिलो टोलको बिहेमा हाम्रो जेठा दाजुको छोरी जयपुराको जस्तै थियो । बुहारीले गरेको व्यवहार देखेर तिनै छोरीको पो झझल्को आयो । छोरीले त झन, ‘अना बिना बिच्चमा किन ढर्रा पार्नु हुन्छ ? छोरीले माया गरेर पो दिएको । त्यति खानोस ना । लाइनमा आको त सरासर खाइहाल्नु पर्छ,’ सम्म भनेकी थिइन । तर मैले, ‘छोरी ! होइन होइन । म कहिले पनि पिउने गरेको छैनक्या,’ त्यति भनेको मात्र थिएँ ।

    ‘आफ्नो अगाडी परेको थपक्कै खानोस् । ठूलो मान्छे नहुनोस् । तपाईको छोराछोरी पनि हुर्किसक्यो । तपाईलाई अब के को पिर छ र ? त्यत्रो धेरै गोराको पिन्सन छ । तपाई बाचिन्जेल आइँरहन्छ । कप्तान पर्शुराम दाईले त दिनमा ५-६ बोतल बियर लडाउनु हुन्छ । अनि हरेक सनिबार भूजेल्नीले एकडोको खाली बोतल ढाँडे खोलामा लगेर मिल्काइँ दिन्छिन् । मेरो बाबै डरछेरुवा मान्छे । रक्सी खाएर अहिलेसम्म को मरेको छ ? मान्छे सबै काल आएर मर्छन् । रक्सी खाएर मर्नु भयो भने हाम्रो पार्टीले तपाईलाई शहिद घोषणा गरिदिन्छ । ल भयो ?’

    तिनै छोरीको कुरो सम्झेर म एकछिन किमकर्तब्यबिमुढ बनिरहें । त्यसैले आगनमा बीच भागमा हल न चल भएर उभिरहेको थिएँ । त्यसपछि यसोदायाँ बायाँ हेरें । पर फूलबारी कुनामा मुसुक्क मुस्कुराउदै खार्मीले माइलाले रक्सी पिइँरहेको देखें । रक्सीको गिलास त्यता देखाएर, ‘ए खार्मीले माईला ! अलिक जोस गरौ है,’ बिस्तारै भने । उनले टाउको हल्लाएर स्वीकार जनाए । त्यसपछि गिलासको रक्सी उसलाई सारि दिएँ । अनि आगन माथि कान्लेबाटो थियो । तिनै बाटो भएर सुस्तरी एक कान्ला चढिहालें । तर कान्ला चढेर माथिलो खन्डबारीको डिलमा पुगेर एकचोटी लामो सास तान्नै पाएको थिइनँ । मोरो खार्मिले मेरो पछिपछि आएको रहेछ, ‘कान्छा राई ! भोट त म हजुरले भनेको ठाउँमा नै दिन्छु । तर मलाई यसो आराखा पिउने पैसा दिने होइनँ र?’मेरो पछाडीबाट उनको सानो स्वर आएर मेरो कानमा ठोकियो ।

    उनले रक्सी किन्ने पैसा मागेपछि, ‘खार्मीले ! होइन अहिले भर्खरसम्म रक्सी पिएको होइन र ? धेरै रक्सी खायो भने मरिन्छ हौं ?होस गर है, पछि नयाँ कलेजो किन्नु पर्ला र ?’ उनलाई थोरै जिस्काए जस्तो गरें ।

    खासमा खास उनको नाम खार्मीले होइन । तर खार्मी भन्ने गाउँदेखि उनको बाजे बराजु बसाइँ सरेर बुईपा आएको हुनालेउनलाई खार्मीले भनेर चिनिन्थ्यो । तिनै खार्मीले दमाई पनि के कमको थिए र ? ‘के मरिन्थ्यो हजुर । मर्ने भए उमेद उहिले नै मर्नुपर्थ्यो । उनले त झन दम्कु खोलाको पानी बराबर रक्सीपिउछ । तैपनि उनी केही भाको छैन् । रक्सी पिउने मर्ने र नपिउने बाँच्ने भन्ने कुरै हुँदैन । मर्नु र बाँच्नु त भगवानको कृपा हो । अनि मान्छेको दिनको कुरो हो, हजुर । अझै आज त झन चुनावको दिन पनि हो । दम्कुबाट छिप्ती आको मान्छे, म ।कमसेकम नमाति के घर फिर्नु हैं । त्यसैले नरेसेम्माको घरमागएर एक बोतल नखाइँ के घर फर्किन्थे ? अनि के यसो र उसो भन्नु हुन्छ हौ गाँठे, त्यति लामो समयपछि लाहुरबाट आएर पनि । हामी जस्तो दुःखीलाई हेर्नु पर्दैन र ?’

    उनको कुरो सुनेपछि, ‘आ मरोस्है । यस गाँउमा कसैलाई बोलाइँ सक्नु छैन गाठेँ,’ मनमनै भनें । हुनत अस्तिको दिन सम्झनाम्पाको घरमा, ‘म रक्सी पिउदिनँ नातिमा । किनभने मसँग पैसा छैन,’ भन्दाखेरि उनकीसात बर्षे छोरीले त, ‘लाहुरे बाजेसँग पैसा नभएर को सँग हुन्छ ? हामीसँग हुन्छ र ?’ भनेकी सुन्दा अवाक बनेको थिएँ । अब झन खार्मिलेसँग गलबाजी गरेर मैले के जित्न सक्थेर ? जित्न सक्दै सक्दिन भन्ने लाग्यो । त्यसपछि गोजिबाट थपक्कै पाँचसय रुपैया निकालेर उनको हातमा थमाइँदिएँ । अनि म अघिअघि र उ मेरो पछिपछि सँगसँगै हिडेरडाँडाघरसम्म निस्क्यौं ।

    डाँडाघर मेरो साईला दाजुको जेठा छोरोको घर हो । उनको जेठी छोरीको नाम असिम हो । त्यसैले उनलाई असिमेम्पा भन्ने गरिन्छ । करिब ५-७ बर्षदेखि यता असिमेम्पाले त्यहाँ एउटा चिट्टिक्कको बङ्गला घर बनाएर परिवारसँग मज्जाले बसेका छन् । गाउँका सबै मानिसहरुले त्यस घरलाई सार्है उदाहरणिय घर भन्ने गरेकाछन् । असिमेम्पाले उनको जिन्दगी जिउने क्रममा लगभग३०-३२ बर्ष जति समय जिल्ला सदरमुकामको हाइ स्कूलमा हेडमास्टर गरेर बिताएका थिए। अझै सदरमुकामकोहाइ स्कूलमा मात्र नभएर उनी दिक्त्तेल क्याम्पसमा पनि राजनीति शास्त्रका प्रख्यात गुरु थिए । त्यसपछि सेवा निबृत भएर उनी अहिले नेपाली काङ्ग्रेसमा लगनका साथ काम गर्ने सकृय राजनीतिमा लागेका छन् । उनले राजनीति शास्त्रमा मास्टर डिग्री मात्र होइन । समयको सदुपयोग गर्ने क्रममा प्रशस्त अध्यान गरेकै कारण धेरै जिल्लावासीहरुले उनलाई खोटाङ्का प्रदिप गिरी जतिकै हुन भन्ने गर्दछन् ।

    हामी उनको घर पुग्दा बुहारीसँग आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नको लागि उनी दिक्त्तेल मतदानकेन्द्र जानै लागेको रहेछन् । लामो समयसम्म दिक्त्तेलमा बसेको हुनाले उनीहरुको मतदान केन्द्र पनि सोही स्थानमा थियो । तैपनि अटो पर्खेर बसेको हुनाले हामी त्यसदिन हुन गइरहेको मतदानको बिषयमा थोरैबेर केन्द्रित भएका थियौ । नत्रभने हाम्रो गफ होमरको पुस्तक ‘ओडेसी’देखि सुरु गरेर प्लेटोको ‘रिपब्लिक’, म्याकाभेलीको ‘द प्रिन्स’, हब्सको ‘लिबियाथान’ जर्ज ओरेलको ‘एनिमल फार्म’ गोर्कीको ‘मदर’ मार्क्सको ‘दास क्यापिटल’ स्मिथको ‘वेल्थ अफ नेसन’ मात्र नभएर माओको ‘लिटिल रेड बुक’ हुँदै फ्रान्सिस फुकुयामाको ‘इन्ड अफ हिस्टोरी’ सम्म पुगेर हाम्रो ‘हिस्टोरी’ समाप्त गर्ने गर्दथ्यौं ।

    अझै मैले उनलाई के कहानी सुनाउथे भने,‘म अमेरिकन र चिनिया राष्ट्रपति मात्र होइन भारतिय र बेलायती प्रधानमन्त्रि चुनिने तरिकादेखि पनि पटक्कै खुसि छैन । त्यसको सट्टामासुक्रोटिसको विचारलाई आधार मानेर मतदान प्रकृया अगाडी बढनु पर्छ । किनभनेचुनावमा मतदान गर्न पनि एउटा “सिप”जस्तै हो । अनियमित अन्तर्ज्ञान हुँदै होइन,’भन्थे । त्यसैले मानिसले सिकेको अन्य कुनै ज्ञान वा सिप जस्तै मतदान गर्न पनि सिकाउन आवश्यक छ । उनले, ‘सिप बिनाको मानिसलाई मतदान गर्न दिनु भनेको आँधीबेरीमा नजान्नेलाई पानीजहाज (क्रुज) को कप्तान बनाउनु जतिक्कै जोखिम हुन्छ,’ भनेका थिए । मेरा पाठकहरुलाईस्मंरण रहोस, मैले विश्व भ्रमणको क्रममा १२ पटक ठूल्ठूलो पानीजहाज क्रुजको यात्रा गरिसकेको छु । त्यसैले राम्रो नेता छानियो भने सबैको लागि राम्रो हुन्छ । तर मुर्खहरुको जमातले छानेको नेता मुर्ख पनि हुनसक्छन् । सधैसधै मुर्ख मानिस नेता छानियो भने अहिलेको जस्तै नियति नेपालमा निक्कै धेरै लामो समयसम्म भोगि रहनुपर्छ भनें ।

    हाम्रो राजनैतिक विचारको चिन्तन त्यतिले मात्र के बिट मर्थ्यो र ? तर पहाडे कच्चि सडकमा घन्द्रङ घन्द्रङ आवाज निकाल्दै चालक कबित (उमेदको सहोदर भाई) अटो लिएर सडकमा आएको उनको घरैबाट सुनियो । त्यसपछि आगनको छेउदेखि नै, ‘कान्छा ! आइ पुगिस् ?’ असिमको बाबुले भन्यो । र, उनीहरु दुईजना बुहारीसँग दिक्त्तेलतिर लागे । त्यसपछि म एक्लै भए । त्यसैले गोरेटोबाटोमा दुई-चार कदम हिंडेर उनको घरदेखि मूल सडकमा निस्कें ।

    त्यो मूलसडक आजभन्दा करिव १५-१६ बर्ष अगाडी खनिएको थियो । तैपनि अहिलेसम्म सडकमा एकथोपो अलकत्र परेका छैनन् । कहिले पर्छन् त्यो त जो जो यातायात मन्त्रि हुन्छन् । केवल तिनलाई मात्र थाहा हुन्छ होला ? यधपि त्यो सडकले बिजुले भन्ज्याङदेखि खोटाङ्गको सदरमुकाम दिक्त्तेललाई मज्जाले जोडेको छ । तर सडकले अलकत्र मात्र होइँन । अहिलेसम्म नाम नपाएर त्यो सडकबेनामे सडक बनेको छ । सडक त्यसरी बेनामे हुनको मूख्य कारण भनेको त्यस क्षेत्रका किराँतीहरु त्यति धेरै प्रख्यात नभएर नै हो भन्ने मेरो ठम्याइँ छ । अब मानिस प्रख्यात हुनको लागि कि धेरै लेखेपढेका, कि राजनीतिमा प्रसिध्दी कमाएका वा शाहित्यिक क्षेत्रमा अगाडि बढेकाहरु हुनु पर्यो । ती उपलब्धिहरु त्यस क्षेत्रमा मानिसहरुले पटक्कै पाएका छैनन् ।

    मेरो विचारमा त्यसो नहुनुको मूख्य कारणहरुदुई वटा छन् । पहिलो मूख्य कारण भनेको तिनै रक्सी नै हो । किनभने त्यस क्षेत्र किराँतीहरुको उदगम भूमी हो । अब किराँतीहरु भनेपछि उनीहरुको संस्कृतीमा जन्मेदेखि मरेसम्म रक्सीको नै आबश्यक पर्छ । अब धेरै रक्सी पिएपछि त्यसको नतिजा के आउछ होला ? त्यो एकाइसौ शताब्दीका हरेक मानवलाई ज्ञान भएकै कुरो हो । अर्को कारण भनेको चाहिँ बिर्ता हो । किनभने त्यस क्षेत्र वरिपरि बस्ने किराँतीहरुले इतिहासको निक्कै लामो कालखण्डसम्म खार्पाली पोखरेलहरुको बिर्ताको मार सहनु पर्यो ।तर तिनै खार्पाली पोखरेलहरु चाहिँ देश बिदेशमा अध्यान गरेरदेशको मन्त्रि, सचिव र सैनिक वा प्रहरी सेवामा जनरलहरुसम्म भए । अकुत सम्पति जोडे र राजधानीतिर बसाइँ सरे ।

    अब आफ्नै भूमीमा बिर्ताकारैंती भएकाहरुलाई चाहिँ, ‘पढि गुनि के काम, हलो जोती माम,’ भनेर कण्ठस्त गर्न लगाइएका थिए। तिनै कुरो जिन्दगीमा घरिघरि स्मृती हुँदा मलाई दक्षिण अफ्रिकन धार्मिक गुरु आर्कबिश्वप डजमन्ड टुटुको एउटा भनाइँले मस्तिष्कघात नै बनाउन खोज्छ र दिमाग उटफट्याङ भइँरहन्छ । उनले, ‘मिसिनरीहरु अफ्रिका आउँदा हातमा बाइबल लिएर आए । त्यसबेला हामीसँग जमिन थियो । उनीहरुले प्रार्थना गरौं भने त्यसपछि हामीले आँखा चिम्ल्यौं । जब हामीले आखा खोल्यौं । त्यसबेला हाम्रो हातमा बाइबल र उनीहरुसँग जमिन भए ।’ ठेक्कै त्यस्तै हरिशरण पोखरेलहरु ठेलीका ठेली रामायण र महाभारतको पुस्तकहरु लिएर खार्पामा आए । कानुन हातमा लिएर किराँतीहरुलाई जब्बरजस्ति हिन्दु बनाए र दशैं मान्न लगाए । त्यतिले मात्र उनीहरु के खुसी हुन्थे र ? तिनै अफ्रिकाको घटना दोश्रोपटक बुईपामा दोहर्याए । त्यसपछि उनीहरुले देखेको जति र टेकेको जति सबै बिर्ता बनाउन सफल भए । 

    एक पटक पुनः तिनै अफ्रिकाकै प्रसङ्ग कोट्याउँ । त्यहाँ एक प्रकारको जङ्गली जनावार पाइँन्छ । मानिसहरु त्यस जनावरलाई ‘हाइना’ भनेर चिन्ने गरेकाछन् । हाइनाहरुमिलिजुली एकढिक्का भएर सिकार गर्न ज्यादै चलाख हुन्छन् । त्यसैले आफू सानो भएतापनि ठूल्ठूला जनावरहरुको सजिलै सिकार गर्न सक्छन् । तिनैहाइनाभन्दा अझै बढि चतुर खार्पाली पोखरेलहरुकै कुरो सुनेर सबै किरातीहरु अहिलेसम्म खेति किसानमा मात्र सिमित भइँरहें। अब पढने अवसर नै नपाएपछि मानिस कसरी ठूलो हुन्छ र ? त्यसैले त्यस क्षेत्रमा ठूलो मानिस नै नभएपछि सडकको नाम के राख्ने भन्ने समश्य खड्केर आएको छ । तर त्यो भन्दा बढि शब्द खर्च गरेर नलेखि हालौं होला ? नत्रभने जातिबादी उपनामले सुशोभित हुने सम्भावना हुन्छ । तर एउटा कुरो के स्पष्ट बनाउन चाहन्छु भने म जातिबादी नभएर मानवताबादी चाहिँ निश्चय नै हुँ ।

    अ....मूल सडक छाडेर एक-दुई खुटकिला उकाली चढेको मात्रके थिएँ । एउटा बुढो पिपलको रुख नजिकै पुगिहालें । आँधा शताब्दी पहिलेदेखि त्यो पिपललाई मैले जहाँको त्यहिँ खडा भएर रहेको देखेको छु । तर पहिले त्यस पिपलको रुखलाई हाङ्गा बिङ्गाले राम्ररी सुहाएको देखिन्थ्यो । अहिले सबै हाङ्गा बिङ्गाकाटिएर झन सतुङ्गे भएको रहेछ । तिनै पिपलको फेदमा पुग्ने बितिक्कै टारीखोला पारी लेक्पा गाउँकाभुपराज काका र सुर्जबाजेसँग मेरोअचानक भेट भइँहाल्यो ।

    उँहाहरुसँग भेट हुने बितिक्कै, ‘भतिज ! एकछिन एकान्त जाउँ न ?’ सानो स्वरमा काकाले भन्नु भयो ।

    ‘काका ! नमस्ते हजुर, म मात्र त छु ।के धनसेरिम्पा एकान्त जाने र ? यो पनि एकान्त जस्तै त हो नि ? के छ हजुर भन्नोस न ?’

    ‘हामी दुईजना छौ । नरेसेम्माकोमा दुईसेर रक्सी किनि खानु पर्यो । यसो पानसय दिनोस् त ।’

    ‘अनि भोट दिइसक्नु भो र ?’

    ‘दिएको छैन, आ...जाबो भोट भरैभरै दिन्छु ।’

    ‘भरै त रक्सी खाएपछि माति हाल्नु हुन्छ नि ?’

    ‘त्यस्तो मुला भोट । मातियो भने मेरो नाममा अर्कोलाई हाल्न लगाइँ हाल्छु नि । के फिकर गर्नु हुन्छ ?’

    ‘काका ! त्यसरी त भोटको दुरुपयोग भइँहाल्छ निहजुर,’ भनें । तैपनि, ‘ल ल ठीक्छ, हजुर ।’ रक्सी किन्ने अनुरोधलाई स्वीकार गरेर भोटोको बगलीदेखि पाँचसय रुपैया निकालेर दिएँ । त्यसपछिकाका र बाजेलाई पिपलको रुख छेउँमा छाडिराखेँ । हुनत पैसा दिएपछि यो लेक्पालीहरुलाई जिन्दगीभरि कति पैसा दिनु है भन्ने मनमनमा सोचें । तर के गर्ने र ? उहाँहरुलाई त्यति धेरै दुर्व्यवहार पनि गर्न सक्त्तिनथे । किनभने मेरो जीवन सङ्गिनी पनि लेक्पा भन्ने गाउँकी नै थिइँन् । त्यसैले लेक्पाको बिषयमा यसो तलमाथि कुरो पर्यो भने घरमा परालको आगो बलिहाल्थ्यो । बरु ‘पैसा दिऔ, आगो नबालौं’ भन्ने विचार लिन्थें ।

    त्यसपछि म सुस्तरीठाडो गल्लीको बाटो हुँदै उकाली चढ्न थालें । हरेक बर्षनजिकैको पाखोबारीहरुमा खेतीगर्दा निस्केकाढुङ्गाहरु तिनै गल्लीमा बग्रेल्ती मिल्काइने गरिन्छन् । तिनै बर्कौले ढुगाँहरु गन्दैगन्दैकेहीबेरअगाडी बढिरहें । एकछिनपछि स्कूल भवनको नजिकै पुगें । त्यहाँ पुग्ने बितिक्कै हुलका हुल मानिसहरु मतदान गर्नको लागि कमिलाको ताति झैँ लामबध्द भइँरहेको देखें । हुनतबिगत ३८ बर्षदेखि यता मगाउँघरलाई चटक्कै माया मारेर फिरङ्गी जीवन बिताइँरहेको छु । जसले गर्दा मैले त्यहाँ मतदानका लागि उपस्थित भएका कतिपय मानिसहरुलाई मज्जाले चिन्न सक्त्तै सकिन । ज-जसलाई चिनें, उहाँहरुसँग हल्का भलाकुसारी भयो ।

    एकछिनपछिम अलिक मास्तिर हिड्दै गए। उभिदा उभिदा हल्का थकान महसुस भएको थियो । त्यसपछि गल्लीको छेउमा एउटा ठूलो ढुङ्गा देखें । आ...कति उभिनु हौं ? भनेर तिनै ढुङ्गामाथि टुक्रुकै बसिहालें । म त्यहाँ निस्फिक्रिसँग एक्लै बसिरहेको थिएँ । मलाई देखेर पिकेमेरो नजिकै आइँपुग्यो । हामी दुईजना सानोमा सँगसँगै हुर्केका हौं । अझै उनी मेरो समकालिन मित्र मात्र नभएर मेरी ठूली दिदीकी कान्छो छोरो पनि हुन् । त्यसैले उनी मेरो सहोदर भान्जा ।हामी सँगसँगै हुर्केतापनि जुङ्गामा रेखी आएपछि म बिदेशतिर लागेको थिएँ । तर मेरो भान्जाले ३५-४० बर्ष यता स्वदेशमा नै राजनैतिक सेवा प्रदान गरिरहे र क्रमशः गरिरहेकै छन् । 

    त्यति लामो समयसम्म जिल्लामा राजनीति गरेर प्रख्यात भएका मेरो भान्जाले जिल्लाको ‍हरेक घरगाउँ पुगेका छन् । र, जनताको सुख दुःखमा साथि बनेका छन् । जस्ले गर्दा जिल्लाका किसान र ब्यापारीहरुले मात्र नभएर धोबी हजामले उनलाई चिन्छन् । म जिल्ला सदरमुकाममा पुगेर नयाँ मानिसहरुसँग आफ्नो परिचय दिनु परेको खण्डमा ‘मपिकेको साख्खै मामा हुँ ।अनि मेरो घर पनिबुईपा हो । त्यसैले म पनि कहाँको मामुली मान्छे हुँ र ?’ भनेर धमास पिट्ने गर्दछु ।

    मेरो कान्छो भान्जा त्यति प्रख्यात भएकै कारण हजारौ हजार बर्षमा (नेताहरुले भन्थे) आउने नेपालको संविधान सभाका चुनावमा एमालेबाट प्रत्यक्षतर्फ सांसद सदश्यजितेर यस देशको संविधानपनि लेखेका छन् ।जिल्लाको राजनीतिमा‘क’ अक्षरदेखि ‘ज्ञ’ सम्म अनुभव बटुलेका मेरो भान्जालाई मैले भेटने बितिक्कै,-

    ‘होइनौ भान्जा ! यो भक्कु मादक पदार्थ सेवनगरेका मानिसहरुले के सहि नै भोट दिन्छन् त ? उनीहरुलाई भोट दिनु भन्दा अगाडि नखानु र भोट दिइसकेपछि मात्र खानु भनेर हामीले सम्झाउन सकिन्न र ?’ भन्दै प्रश्न गरें ।

    उनले मेरो प्रश्न सुन्ने बितिक्कै प्रति उत्तरमा, ‘मामा ! लोकतन्त्रमा उनीहरुलाई कहाँ सम्झाउन सकिन्छ, हजुर । हाम्रो एउटा संसार छ । र, मात्नेहरुको लागि अर्कै संसार छ । अझै उनीहरु मातेपछि गएर खेतको आलीलाई मज्जाले तकिया मानेर बङलङगै उतानो परेर सुत्छन् । त्यसपछि उनीहरुलाई केही चाहिँदैन । त्यसैले हामी कहाँ सम्झाउनसक्छौ र ? उल्टै जाइ पो लाग्न सक्छन् ।’ त्यति भनिसकेपछि उनी जहाँदेखि आएका थिए, उतैतिर गए ।

    तर उनको भनाइ सुनेपछि, ‘एउटा राजनीतिज्ञले मानिसहरुलाई दुई बर्गमा बिभाजन गर्छ, औजार र दुश्मन (टुल्स एन्ड इनेमी),’ भन्ने पूर्वी जर्मनीमा पुगेर फ्रेडरिक नित्सेको भनाइ पढेको थिएँ । तर मेरो राजनीतिज्ञ भान्जाले, ‘मादक पदार्थ सेवन गर्ने र नगर्नेहरुको आ-आफ्नै संसार हुन्छन्,’ भनेको सुन्दा त्यो मेरो लागि बिलकुल नौलो बिषय भएको थियो ।   

    उनी गएपछि म निक्कैबेर त्यहाँ एक्लै बसिरहें । एकछिनपछि मानिसहरुको हुल बढदै गयो । त्यसपछि गल्लीमा बसिबसि कैयन चिनेजानेको मान्छेहरुसँग अभिवादन साटासाट भयो । लामो समयको अन्तर्हाल पश्चात चिनेका मानिसहरुसँग त्यसरी भेटघाटहुँदा आनन्द पनि आयो । मैले त्यहाँ मातेका मानिसहरु बाहेक शारिरिक अस्वस्थ भएका मानिसहरु पनि मतदानको लागि उपस्थित भएका देखें । मातेका मानिसहरु बाहेक आँखा नदेख्ने बुढापाकाहरु, मस्तिष्क पक्षघात भएकाहरु, डिमेन्सिया लागेकाहरु सबैसबैको त्यहाँ उपस्थिति देखियो । जस्ले मलाई के प्रश्न खडा गर्यो भने,-

    ‘के दिमाग बिग्रेका मतदाताहरुले पनि सही मतदान गर्न सक्छन् ? वा उनीहरुको सट्टामा अरुले मत दिँदा के मतको सहि सदुपयोग हुन सक्छ र ?’

    यिनै नाजबाफ प्रश्नहरु मेरो दिमागमा निक्कैबेर घुमिरहेको थियो । तर त्यहाँ उपस्थित भएका सबै मानिसहरुलाई नजर लगाउने हो भने सबैभन्दा बढि फार्तीफुर्ती शुभनको थियो । लगभग ४०-४२ बर्षको उमेरसम्म नेपाली काङ्ग्रेसमा जिल्लाको राजनीति गरेका र अहिले कम्युनिष्ट भएर एमालेमा प्रबेश गरेका शुभन र छिप्ती एक अर्कामा पर्यायबाची शब्द जस्तै हुन् । यदि उनी गाउँमा नबस्ने हो भने त्यहाँ हुने न्वारान, छेंवर, पास्नी, उधौंली, उभौंली, बिहे र किरियाको कुनैपनि कार्यक्रम सफल हुदैनन् भन्ने मलाई लाग्छ ।

    अरु त परै जावस् । सम्झनाम्पाको घरमा भइँरहेको एमालेको आजको कार्यक्रमको मूख्य आयोजक पनि उनी नै हुन् । लेक्पा, टारी, कट्टी र फूलेलीमा हुने बिभिन्न कार्यक्रमहरुको बेला मसिनो सालको पातले सिलाएको तैपनि छिद्रै छिद्र भएको दुनामा ३-४ टुक्रा मासु बाडेको देखेर ओइँतुङ्ग भेलामा, ‘साथी हो । छिप्तीको कार्यक्रम हो । अरु ठाउँ जस्तो हुँदै होइन । छिप्ती जिल्लाको नमुना गाउँ हो । त्यसैले आँखा चिम्लेर मासु डबकामा ड्याम ड्याम बाड्नु पर्छ है,’ भनेर उनले उर्दी लगाउदा गर्वले मेरो छाती फुलेर आएको थियो ।

    ‘धान, मकै र कोदोखेतिले मात्र किराँतीहरुकोभविष्य छैन्,’ भनेर मौसमी फलफूल खेतितर्फ उन्मुख गराउने ऊँ नै गाउँको पहिलो उदाहरण हो । तरखेतिपाती बाहेक उनले व्यापारमा हात लगाउँदा चाहिँ मोरोले ठेक्कै उल्टो काम गरेको छ कि के हो भन्ने मेरो मनमा लागिरहेको थियो । किनभने बुईपाका नेवारहरुले बुईपा, पन्चरबाटो, दिक्त्तेल र गाईघाट हुँदै काठमाण्डौसम्म व्यापार बढाएर लैजाँदा उसले काठमाण्डौमा पहिले होटलहरु खोले । त्यसपछि ब्यापारलाई क्रमशः घटाउदै घटाउदै छिप्तीमाआँउदा भुलटुङ्गे दोकान ल्याइँपुर्याएको छ । अनि उसको दोकानमा मूख्य बिक्रि हुने चिज भनेकोमलाई मन नपर्ने तिनै रक्सी नै हो । तर मलाई मन नपरेर के गर्ने र ? म बाहेक गाउँका अरु सबै मान्छेहरुलाई भित्रीदिलदेखि खोया बिर्के नै मन पर्छ ।

    पहिले पहिले जहिले पनि पैसाको आवश्यक मात्र परिरहने शुभनले रक्सी बाहेक दाल, चामल, घ्यू, बिस्कुट, चिउरा र मरमसला बेच्न थालेपछि आजभोली ऋण खोज्न छोडेको छ । त्यो बाहेकनिबुवा, कागती, खुर्सानी, गोलभेडा, अण्डा, कुखुरा, सुङ्गुर, राँगा जेपनि बेच्न ऊँ तयार हुन्छ । ती समानहरु बाहेक एउटा ठूलो सुङ्गुरको बिर पालेर वीर्यको मोल ‘बालगिरी’भनेर उठाउन पनि छाड्दै छाड्दैनन् । त्यसैले समग्रमा ऊँजे पनि बेच्नको लागि तयार हुन्छ । जस्ले गर्दा आजभोली उसलाई ऋण खोज्न आबश्यक पर्दै पर्दैनन् । बरु हरेक बिहानबेलुकी पैसाले शुभन खोज्दै खोज्दै उनको घरमा आफैं बास बस्ने गरि आउन थालेका छन् ।

    दालङ्गे टोलको सडक किनारमा उनको एउटा सानो दुईतले घर छ । तिनै घरको मुनी तलामा धान, मकै, कोदो र गहुँ पिस्ने एउटा मिल अनि त्यसको ठीकमाथि एउटा सुत्ने कोठा छ । त्यस घरलाई उसको पार्टी नेकपा – एमालेका अध्यक्ष केपी बाले देखेको भए हिन्दीमा, ‘निचे दोकान, उपर मकान,’रहेछ भनेरउखान टुक्का लगाउथे होला ।

    तर ‘बा’ अहिलेसम्म किराँत भूमीमा पाइँला टेकिहाल्ने जमर्को गरिहालेका छैनन् । आखिर बा होस्, वा छोरा होस् । जस्ले जे सुकै भनेता पनि मेरो गाउँमा हुने हरेक सामाजिक कार्यको लागि कि ऊँ वा उसको श्रीमती छैनिन् भने कसैको जुङ्गा हल्लिने वाला छैनन् । त्यसैले ऊँ समाजको लागि एकदम अशल मान्छे हो भन्नुमा कसैले कन्जुस्याइँ गर्न मिल्दैन । तर उनी अशल मान्छे मात्र नभएर अलिक पाको मान्छे पनि हुन् । हुनत जति पाको भएतापनि साइनोमा हारेको मेरो नातीले जतिसुकै राम्रो काम गरेतापनि उनलाई नराम्रो मान्छे भन्ने मानिसहरु पनि मैले गाउँमा ओइरो भेटेका थिएँ ।

    मेरो नयनहरुशुभनदेखिसुस्तरी बिलय हुँदै गर्दा समयले मध्यान्हकोप्रहर पार गरिसकेको थियो । त्यसबेला मतदान स्थलमा अचानक निक्कै ठूलो पानी पर्यो । त्यति ठूलो पानी पर्नाले मानिसहरु तितर बितर भएर आ-आफु ओतखोज्नकोलागि छरपष्ट भएका थिए । म चाहिँ मतदान अधिकृत र उनका कर्मचारीहरुले अब के गर्छन होला । अनि उनीहरुले सुरक्षा सम्बन्धि बैकल्पिक योजनाहरु के कस्ता बनाएका छन् होला भनेर चिलाउनेको फेदमा ओत लागेर निक्कै बेर रमिता हेरिरहें ।

    म त्यहाँ एक्लै भएपनि अन्य मानिसहरु पानीले गर्दा स्कूलको छानोमुनि ओत लागिरहेका थिए । उनीहरु केहीबेर अगाडीसम्म फरक फरक पार्टीका भएकाले फाल्टै फाल्टै ठाउँमा गुज्जुमज्जु भएर बसिरहेका देखिन्थे । तर अचानक परेको पानीले गर्दा उनीहरुकोविचारहरु भताभुङ्ग भए । अनि स्कूलको छानोमुनी सबै एक्कै ठाउँमा गएर मिलिमिलि उभिँदा मलाई निक्कै खुशी लाग्यो । किनभने आखिर चुनाव त प्रकृया न हो । त्यो सधैभरी आइरहन्छ र गइँरहन्छ । यसलाई ठूलो कुरो मान्न हुँदै हुदैन । किनभने गाउँघरको मानिसहरु सधै एउटै समाजमा बस्नुपर्छ । त्यसैले एक आपसमा झगडा गर्नुको सट्टा मिलेर बस्नु नै सबैभन्दा उत्तम हुन्छ भन्ने मलाई लागिरहेको थियो ।

    एकघण्टा जति पानी परेर रहेपछि पुनः मानिसहरु मतदानस्थल नजिक जम्मा हुन थालेका थिए। मैले गल्लीमा बसेर निक्कै लामो समय व्यतित गरेपछि स्कूलको माथिल्लोखन्ड निस्के । जहाँ मझौला साइजको एउटाचौतारी रहेको छ । र, चौतारीको बीच भागमा एउटा प्रतिमा छ । त्यो प्रतिमा तिनै स्कूलमा निक्कै लामो समयसम्म मास्टरी पेसा गरेका सिरेम्पा सरको हो । उनको प्रतिमाउनको मृत्यु पश्चात् उनकी बैनी प्रतापेम्माले दाजु प्रतिको अगाध स्नेह देखाउदै बनाइ दिएकी थिइन् ।

    म तिनै प्रतिमाको छेउमा बसेर सिरेम्पालाई निक्कैबेर सम्झिरहें । किनभने सिरेम्पा मेरो छिमेकी सम्झनाम्पाको बाबु हुन् । उनको भौतिक शरिर यस धर्तीमा नरहेता पनि आफ्नो बच्चाहरुलाई माया गर्दा होस वा गालि गर्दा प्रयोग गरेका शब्दहरु यतिन्जेलसम्म मेरो कानमा गुन्जिरहेकै छन् । उनको प्रतिमा जस्तै एथेन्समा पुगेर सुक्रोटिस, प्लेटो, अरिस्टोटल र अलेक्जान्डर महानको प्रतिमाहरु हेरेको त्यसबेलामैले झल्यास्स स्मंरण गरें ।

    विश्वको सबैभन्दापुरानो सहर एथेन्सको बीच भागमा एउटा सानो टापु रहेको छ । जुन टापुलाई आक्रापोलिस टापु भनेर मानिसहरुले चिन्ने गरेका छन् । तिनै टापुको नजिकै लगभग २ हजार बर्ष पहिले, ‘जनताद्वारा शासन,’ भनेर २० बर्षभन्दा माथिका छोरा मानिसहरुको उपस्थितिमा हात उठाएर मतदान गर्न पाउने सबैभन्दा पहिलो प्रजातान्त्रिक अभ्यास सुरु गरिएको थियो ।

    ‘एथेनियन डेमोक्रेसी’ को त्यो अभ्यास नै विश्वको सबैभन्दा पहिलो डेमोक्रेसी थियो । त्यसैले तिनै पवित्र स्थानमा विश्वको चर्चित नेताहरु थ्याचर, ओबामा र सि जिन पिङहरु पनि त्यहाँ पुगेका छन् । हुनत मबन्दुकको सिपाही हुँ । राजनीति शास्त्रको बिधार्थी त होइन । तैपनि रहरे भएको हुनाले त्यहाँ पटक पटक पुगेको छु । तर म सँगसँगै हुर्केका राजनीतिकर्मीहरु जस्तैः- मेरो भान्जा पिके र भतिज असिमेम्पालाई पनि त्यहाँ पुगेर केहि राजनैतिक ज्ञान सिक्नु है भनेर सल्लाहा दिने गरेको छु ।

    म त्यसबेलासम्म चौतारीमा एक्लै बसिरहेको थिएँ । र,एथेनियन डेमोक्रेसीलाई मन्त्रमुग्ध भएर सोचिरहेको थिएँ । म त्यसरी एक्लै घोरिरहेको बेला अचानक मेरो छेउमाधनिराम आइपुग्यो । अनि ऊँ त्यहाँ आएर,‘बाबै,’ भन्दा म झसङ्ग झस्कँदै, ‘हना के भन्छस्, माईला ?’ भनें ।

    ‘होइनौं! यो उमेदलाई भोट दिनु दिउँ कि नदिउँ हौं ?’

    ‘अना किन र ?’

    ‘हेर्नोस न उसले भोटिङ कार्ड पनि बनाएको छैन रहेछ । नागरिक्त्ता चाहिँउहिले नै हराइँ सकेको रहेछ । अनि तपाईलाई थाछ उसले के गर्यो ?’

    ‘माईला ! के गर्यो र ?’

    ’१५-१६ बर्ष अगाडी अरब जाँदाको पासपोर्टको प्रतिलिपि पो देखाउदै थियो । त्यो पनि एउटै अक्षर नचिनिने । फेरी यो कस्तो खाल्को मान्छे छ भने नमातेको बेलाएमाले हुन्छ । अनिमातेको बेला माओबादी भइँहाल्छ । मलाई कुनै शँका छैन, बिहान भए यस्ले एमालेलाई भोट हाल्थ्यो । अब अहिले हाल्दै हाल्दैन । केटा बिहान बाख्रा गोठाला गाको रहेछ । गोठाला जाँदा तल ब्याँसीटोल तिर खायो होला ? त्यस्तो त छ । अब यस्लाई सबैभन्दा अन्तिममा भोट दिन लाउनु पर्छ । र, यसको लागि सजाय पनि त्यति नै हो ।’

    त्यति भनि सकेर ऊँ पनि मदेखि बिदा भएर गयो । तर एक्कै दिनमा दुई-दुईवटा पार्टीलाई मन पराउने मेरो भतिज उमेदको राजनीति विचार सुनेर म पागल झैँ एक्लै फ्यास्सै हासें । हुनत उमेदले मैंचुङटोल, गैंराटोल, डाँडाटोल, हलेसेंटोल, ब्याँसीटोल मात्र नभएर जैसीगाउँ पनि पुरै खाइसकेको छ । मैले बर्षौ बर्षदेखि, ‘भो ! केटा रक्सी छाड्दे । यस्ले तँलाई फाइदा गरेन । तेरो सबै जिउँ जिर्णजिर्ण बनाइ सकिस् । अब मर्न मात्र बाँकी रहिस्,’ भन्दा खेरी, ‘काका ! म मर्न सक्छु, तर रक्सी छाडन सक्त्तिन,’ भनेको दोहर्याइँ तेहर्याइँ सम्झिरहें ।

    मलाई त्यसबेला मानिसको सोच्ने दिमाग पनि कस्तोकस्तो प्रकारको हुन्छ होला भन्ने लागिरहेको थियो । मैले त्यसबेला स्कटीस दार्शनिक डेभिड ह्युमलाई सम्झें । उनले साधरणतय मानिसका धारणा (परसेप्सन) लाई प्रभाव (इम्प्रेसन) र उपाय (आइडिय) दुई भागमा बिभाजन गरेका थिए । मैले ह्युमको दुइटै नियम जोडेर यो उमेदलाई रक्सी पिउन परेको प्रभावलाई निस्तेज गर्न सयकडौ उपाय लगाउँदा पनि बिफल भएको थिएँ । तर मैले रक्सी छाडेको दुई दशक भइँसकेको थियो । त्यसैले घरिघरि गाउँ गएको बेला ऊँ पनि म जस्तै बनोस भनेर झनअनेकन प्रयत्नहरु गर्थे । तर पटक पटक बिफल भएका थिएँ । बरु, ‘मुर्खलाई सिकायो भने आफु पनि मुर्ख भइन्छ,’ भन्ने उक्त्तिलाई शिरोपर गरेर आजभोली केही भन्न छाडेको छु । र, उनको अन्तिम बिदाइँको लागि तयार भएर बसेको छु । 

    मेरो भतिजको बिषयमा सोच्न छाडेर त्यसपछि पुनः मतदाताहरुलाईहेर्न थालेको थिएँ । मतदानस्थल अगाडीको गल्लीमा ओराली झर्ने र उकाली चढने क्रम बराबरी नै चलिरहेका थियो । केहीबेरमादुबै हात टाउकोमा राखेर, ‘बाजे ! हाम्रो मानिसहरुले पटक्कै कुरो बुझ्दै बुझ्दैनन् रहेछ ? के सार्हो अर्काको गोठाला हुन खोजेको हौं ? आफूलाई शासन गर्ने मानिस आफ्नो मान्छे हुनुपर्छ भनेर कहिले बुझेनन् । के सार्हो लठेप्रोहरु हौं ? भोट बिगारेर चौपट छ ।’ मनभरि बिस्मृती लिएर शुवास नाती मेरो सामु आएर उसको दुःख ओकल्यो । लामो समयसम्म परदेशमा पसिना बहाएर राष्ट्रको सेवा गर्ने उदेश्यले उनी दिक्तेल मझुवागढी नगरपालिका वार्ड नम्बर १४ का सदश्यको उमेदवार पनि भएकाथिए । उनको कुरो सुनिसकेपछि मैले उनको मलिनमुहारमा देखापरेका नसाहरुलाई केलाई केलाईमज्जाले नियालेर हेरें ।

    आजभन्दा लगभग २४ सय बर्ष अगाडी सुक्रोटिसलाई मृत्युदण्ड दिने बेलामा हेमलक भन्ने बनस्पतीको झोल पिलाइदै गरेको दृश्यलाई एक झमट मज्जाले सम्झें । उनले हेमलकको झोल पिउनै आँटेका बेलामा प्लेटोले, ‘गुरु ! तपाईले यो पिउनु हुदैन ? कृपया मानव जीवनको भलाईको लागि तपाइँ बाँच्नुपर्छ,’ भनेर सादर अनुरोध गरेका थिए । तैपनि मृत्यदण्डको सजाय पाउदै गरेका मानिसले के नै पो गर्न सक्थे र ? वास्तवमा सुक्रोटिसलाई सुक्रोटिस बनाउने मानिस तिनै प्लेटो नै हुन् । उनको सम्पुर्ण विचारहरु प्लेटो नैलेखेका थिए । किनभने सुक्रोटिस निरक्षर थिए । अझै मानिसहरुले प्लेटोलाई के सम्म भनेका छन् भने उनको शरिरभित्र सबै सुक्रोटिसको आत्मा बसेको थियो । त्यसैले उनले सुक्रोटिसको बिषयमा मात्र लेखिरहे । तर मैले त्यसबेला तिनै प्लेटोलाई सुक्रोटिसले भनेको अन्तिम बाक्याशँलाई स्मृति गरेर मेरो नातीलाई सुस्तरी भनें ।   

    “नाती ! मलाई एउटा कुरो मात्र थाहा छ । त्यो थाहा छैन् ।”

    बानबुरी, बेलायत ।

    सम्बन्धित समाचार