आइतवार, आश्विन ३० २०७९
नेपाल वाइड
खोटाङ, ३० असोज । शैक्षिक गुणस्तर अभिबृद्धिका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विद्यालय शिक्षा सुधार सम्वन्धी अभिमुखीकरण सुरु गरेको छ ।
सामुदायीक विद्यालयको खस्किँदो शैक्षिक गुणस्तर अभिबृद्धिका लागि नगरपालिकाले विज्ञ उपस्थित गराएर चार दिने शिक्षा सुधार सम्वन्धी अभिमुखीकरण सुरु गरेको हो ।
कात्तिक १ गते समापन गर्नेगरी १५ वडाका वडाध्यक्ष, विद्यालयका प्रअ र व्यवस्थापन समितिका अध्यक्षलाई सहभागी गराएर शनिबारदेखि अभिमुखीकरण कार्यक्रम सुरु गरिएको हो ।
शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने विधि र उपायको खोजीमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए । ‘सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर खस्किरहेको छ ।
सामुदायीक विद्यालयप्रतिको बिश्वास घट्दो छ,’ मेयर भट्टराईले भने, ‘यसमा स्थानीय सरकारको कहाँ कमजोरी भयो ? शिक्षकको कहाँ कमजोरी भयो ? अभिभावकको कहाँ, कसरी कमजोरी भयो ? यावत समस्या पहिचान गर्दै हल गर्ने सोचका साथ कार्यक्रम आयोजना गरिएको हो ।’
अभिमुखीकरण कार्यक्रमको पहिलो दिन वडाध्यक्ष, २१ माबि र १४ आधारभुत विद्यालयका प्रअलाई सहभागी गराएर शैक्षिक गुणस्तर उकास्ने उपायका बारेमा छलफल गरिएको छ ।
कार्यक्रममा शिक्षा सुधार अभियान्ता डा. तोयानाथ खनाल, माधव अधिकारी (ए), शैक्षिक उत्प्रेरक माधव अधिकारी (बि) र पिउने पानी अभियान्ता गोकुल दंगालले सहजीकरण गरिरहेका छन् ।
आइतबार ६२ प्राविका प्रअ, सोमबार २१ माबि र १४ आधारभुत विद्यालयका विव्यास अध्यक्ष तथा मंगलबार ६२ प्राविका विव्यास अध्यक्षको सहभागीतामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।
पहिलो दिन डा. खनालले शिक्षक, अभिभावक र विद्यार्थीको भूमीका, कर्तव्यवोध एवं आइपर्ने चुनौती र समाधानका उपाय बारे कार्यपत्र प्रस्तुत गरेका थिए । आवश्यक परे शैक्षिक सुधार सम्वन्धी थप कार्यक्रम आयोजना गरिने मेयर भट्टराईले बताए ।