Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    छात्र/छात्रालाई प्रवासमा रहेका अभिभावकले दिए शैक्षिक सामग्री

    छात्र/छात्रालाई प्रवासमा रहेका अभिभावकले दिए शैक्षिक सामग्री


    • शुक्रवार, कार्तिक ११ २०७९

    • नेपाल वाइड


    छात्र/छात्रालाई प्रवासमा रहेका अभिभावकले दिए शैक्षिक सामग्री
    अभिभावक मात्रिका चाम्लिङ राईले उपलव्ध गराएको शैक्षिक सामग्री वितरणपछि दाल्फुका छात्र/छात्रा ।

    खोटाङ, ११ कात्तिक । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुका छात्र/छात्रालाई प्रवासमा रहेका अभिभावकले शैक्षिक सामग्री प्रदान गरेका छन् ।

    दाल्फु घर भइ वैदेसिक रोजगारीका सिलसिलामा हाल मलेसिया रहेका अभिभावक मात्रिका चाम्लिङ राईले उत्कृष्ट अंक ल्याएर उत्तिर्ण हुने छ जना सहित ५५ छात्र/छात्रालाई पाँच हजार बराबरको शैक्षिक सामग्री उपलव्ध गराएका हुन् । राईले पठाएको रकमबाट खरिद गरिएको कापी र डटपेन शुक्रबार देउसी समापनको अवसरमा छात्र\छात्रालाई प्रदान गरिएको छ ।

    कक्षा २ मा प्रथम स्थान प्राप्त गर्दै कक्षा ३ मा उक्लिएका कालिका प्रावि बाहुनीडाँडा बयक्ताका राजिन राई, कक्षा ३ मा प्रथम भएकी यसोधा राई, कक्षा ३ मा दोश्रो स्थान प्राप्त गर्ने उत्तम राई, कक्षा ५ मा दोश्रो स्थान प्राप्त च्यास्मीटार माबिकी भावना राई, कक्षा ३ मा दोश्रो भएका कालिका प्राविका उत्तम राई र कक्षा ३ मा तेश्रो स्थान प्राप्त प्रेमिला राईलाई पुरस्कार प्रदान गरिएको छ ।

    छात्र/छात्रालाई अभिभावक भगसेर राई, देबेन्द्र राई, रसकुमार राई, दमन राई, केशीराज राई, लेखराज राई, खबिराज राई लगायतले शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए । उत्कृष्ट अंक ल्याएर माथिल्लो कक्षा उक्लिने गाउँका छात्र/छात्रालाई प्रोत्साहन स्वरुप कापी र डटपेन सहित पुरस्कार प्रदान गरिएको अभिभावक राईले बताए ।

    यस्तै, प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने छात्र/छात्रालाई अभिभावक रसकुमार राईले नगद पुरस्कार प्रदान गरेका छन् । राईले प्रथम स्थान प्राप्त छात्र/छात्रालाई जनही पाँच सय र दोश्रो तथा तेश्रो स्थान प्राप्त छात्र/छात्रालाई जनही दुई सयका दरले पुरस्कार प्रदान गरेका हुन् ।

    आफ्नो बालबच्चालाई पढाईप्रति प्रोत्साहित गर्नका लागि दाल्फुका अभिभाबकले हरेक वर्ष उत्कृष्ट अंक ल्याएर उत्तिर्ण गर्ने छात्र/छात्रालाई तिहार समापनको अवशरमा सम्मान गर्दैआएका छन् ।

    मेहनत गर्ने र राम्ररी पढ्ने गाउँका बालबालिकालाई पढाईमा प्रोत्साहित गर्न र अन्य छात्रछात्रालाई पनि पढाईप्रति आकर्षित गर्न अभिभाबककोतर्फबाट सम्मानको व्यवस्था गरिएको हो । यसपल्ट भने प्रवासमा रहेका अभिभावकले उपलव्ध गराएको सहयोगबाट उत्कृष्ट र अन्य छात्र/छात्रालाई पुरस्कार तथा शैक्षिक सामग्रीको व्यवस्था गरिएको हो । कार्यक्रममा गाउँका बालबालिकालाई बिद्यालय जानबाट बञ्चित नगराउन अभिभाबकलाई आग्रह गरिएको छ ।

    यस्तै, दाल्फुका स्थानीयले नेपाली सेनामा प्रवेश गरेका तपेन्द्र राईलाई बधाई तथा शुभकामना दिएका छन् । केही समयअघिको छनौटबाट नेपाली सेना प्रवेश गरेका राईलाई गाउँले तथा आफन्तले शुक्रबार देउसी समापन कार्यक्रमको अवसरमा खादा ओढाएर बधाई तथा शुभकामना दिएका हुन् ।

    कार्यक्रममा आफन्तले बधाई दिँदै निश्वार्थ भावनाले देशको सेवा गर्नका लागि राईलाई शुभकामना दिएका छन् । बुवा देबेन्द्र राईलाई पनि सम्मान गरिएको छ । हरेक अभिभाबकलाई बालबच्चा पढाउन र सरकारी सेवामा प्रवेश गर्ने हौसला प्रदान गर्नका लागि दाल्फुमा निजामती वा सरकारी सेवामा प्रवेश गर्ने युवालाई बधाई तथा शुभकामना दिने परम्परा बसाइएको छ ।

    हालसम्म नेपाली सेनामा प्रवेश गरेका दाल्फुका रमेश राई, निजामती सेवामा प्रवेश गरेका लेखराज राई, खबिराज राई र नेपाल प्रहरी प्रवेश गरेका मनिराज राई पनि सम्मान गरिएको थियो ।

    prize for student at dalphu_tihar_khotang..jpg

    नेपाली सेनामा प्रवेश गरेका छोरा तपेन्द्र राईलाई बधाई तथा शुभकामना दिदै वुवा देवेन्द्र राई ।

    सम्बन्धित समाचार