मंगलवार, कार्तिक १५ २०७९
नेपाल वाइड
खोटाङ, १३ कात्तिक । बौद्धिक समुह नेपाल (आइसिएन)ले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा बाल शिक्षा तथा प्राथमिक शिक्षण सम्बन्धि तीन दिने कार्याशाला गोष्ठी गरेको छ ।
च्यास्मीटारभित्रका बाल शिक्षा तथा प्राथमिक तहका विद्यालयका प्रअ तथा शिक्षकलाई सहभागी गराएर अंग्रेजी र नेपाली फोनिक्स शिक्षण सम्वन्धी कार्यशाला गोष्ठी आयोजना गरिएको हो ।
च्यास्मीटार माबिमा शनिबारदेखि जारी कार्यशाला गोष्ठी सोमबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईको प्रमुख आतिथ्यतामा समापन गरिएको छ ।
बाल शिक्षा तथा प्राथमिक तहमा अंग्रेजी र नेपाली फोनिक्स शिक्षण सम्वन्धी दक्षता विकासमा सघाउ पुर्याउनका लागि कार्याशाला गोष्ठी आयोजना गरिएको बौद्धिक समुह नेपालका अध्यक्ष भविन्द्रकुमार राईले बताए ।
कार्यशाला गोष्ठीमा वडाभित्रका वालबिकास केन्द्र र प्राथमिक तहका १० विद्यालयका ३१ प्रअ तथा शिक्षक/शिक्षिकाको सहभागीता रहेको थियो ।
कार्यशाला अवधिभर अंग्रेजी र नेपाली ध्वनी र सोको प्रभावकारी शिक्षण विधिका बारेमा जानकारी दिइएको छ । विद्यालयमा अंग्रेजी र नेपाली ध्वनी सम्वन्धी शिक्षण विधिको अभाव खड्किरहेको अवस्थामा बौद्धिक समुहले कार्यशाला आयोजना गरेको हो ।
सहभागी शिक्षकरशिक्षिकालाई स्वतन्त्र शैक्षिक प्रशिक्षक पवित्रा लामाले सहजीकरण गरेकी थिईन् । कार्यशालामा सहभागीलाई मेयर राई र वडाध्यक्ष भुपालसिं राईले सहभागीताको प्रमाण–पत्र प्रदान गरेका छन् ।
समापन कार्यक्रममा बाल शिक्षा तथा प्राथमिक तहका छ विद्यालयका व्यवस्थापन समिति अध्यक्षको समेत उपस्थिति थियो । वडाको शैक्षिक उन्नयनमा पुर्याएको योगदानको कदर गर्दै च्यास्मीटार माविले बौद्धिक समुह नेपाल (आइसिएन), आइसिएनका अध्यक्ष राई र प्रशिक्षक लामालाई सम्मान–पत्र प्रदान गरेको छ ।
समापन कार्यक्रममा मेयर राई राईले शैक्षिक गुणस्तर वृद्धिलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै नगरको शैक्षिक लक्ष्य प्राप्तीमा शिक्षकको महत्वपूर्ण भूमीका रहने उल्लेख गरिन् ।
यस्तै, आइसिएनका अध्यक्ष राईले च्यास्मीटारमा प्लसटुको फ्याकल्टी थप गर्न र व्याचलर तहको पठन–पाठनको व्यवस्थाका लागि स्थानीय सरकारले अग्रसरता देखाउनुपर्नेमा जोड दिए ।
उनले अघिल्लो तालिमको कार्यान्वयन पक्ष कमजोर भएको भन्दै प्रश्न उठाएका छन् । कार्यक्रममा वडाध्यक्ष राई, च्यास्मीटार माविका प्रअ तेजकुमार राई, त्रिकन्य प्राविका प्रअ अनिता राई, देउराली प्राविका प्रअ गोपाल बिक र च्यास्मीटार माविका व्यवस्थापन समिति अध्यक्ष तुलसीकुमार राईले मन्तव्य राखेका थिए ।
विगतमा विद्यालयमा भएको केही प्रयासलाई मूल्यांकन गर्दै बौद्धिक समुहले सम्पूर्ण विद्यालयका प्रअलाई प्रशंसा–पत्र प्रदान गरेको छ । भविष्यमा कार्यान्वयन पक्षलाई प्रभावकारी बनाउन निरन्तर अनुगमन गरिने आइसिएनका अध्यक्ष राईले जोड दिए ।
कार्यक्रमकै अवसरमा विद्यार्थीको व्यक्तीगत, पारिवारिक, सामाजिक लगायतका जानकारी दिने प्रश्नावली सम्वन्धित विद्यार्थीमार्फत भर्नेगरी प्रअलाई हस्तान्तरण गरिएको छ ।
काठ्माण्डौंमा २०७५ सालमा स्थापना गरिएको बौद्धिक समुहले २०७८ कात्तिकमा च्यास्मीटारका पुर्वप्राथमिक र प्राथमिक तहका शिक्षक/शिक्षिकाको शिक्षण कला विकासमा सघाउ पुर्याउनका लागि वाल मनोविज्ञानमा आधारिक शिक्षण सम्वन्धी कार्यशाला गरेको थियो ।
समुहले २०७८ सालमा च्यास्मीटार माबिबाट उत्कृष्ट अंक ल्याएर एसइई उत्तिर्ण गर्ने च्यास्मीटार माबिका छात्रा जिवना राई र छात्र दिलीप राईलाई कक्षा ११ अध्ययनका लागि छात्रबृत्ति प्रदान गरेको छ । हलेसी तुवाचुङ नगरपालिकालाई सेवा क्षेत्र बनाएको बौद्धिक समुह नेपालले विभिन्न शैक्षिक गुणस्तर अभिबृद्धिका कार्यक्रम सञ्चालन गर्दैआएको छ ।


