Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    साकेला उधौली मनाउँदै किरात समुदाय

    साकेला उधौली मनाउँदै किरात समुदाय


    • बिहिवार, मंसिर २२ २०७९

    • नेपाल वाइड


    साकेला उधौली मनाउँदै किरात समुदाय
    धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा सामुहिक रुपमा उधौली मनाउदै । तस्बिर : सामाजिक संञ्जाल

    खोटाङ, २२ मंसिर । मुलवासी किरात समुदायमा साकेला उधौली सुरु भएको छ । अन्नवाली भित्र्याइएको खुसीयाली तथा लेकमा रहेका मानव, जीवजन्तु तथा चराचुरुङ्गी बेसीतिर झर्ने संकेतका रुपमा प्रकृतिपुजक किरात समुदायले मंसिर पूर्णीमाका दिनबाट धुमधामका साथ साकेला उधौली मनाउन सुरु गरेका हुन् ।

    राई, लिम्बू, सुनुवार, याख्खा, जिरेल, सुरेल, हायु, धिमाल लगायतका समुदायमा अन्नबाली पाकेपछि आफ्नो इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गरेर मंसिर शुक्ल पूर्णिमाको दिनलाई उधौली चाडका रुपमा मनाउने प्रचलन छ ।

    रीतिरिवाज एउटै भए पनि उधौलीलाई राई समुदायले उधौली, लिम्बू समुदायले चासोक तङनाम, सुनुवारले फोलस्याँदर, याक्खाले चासुवाको रुपमा मनाइरहेका छन् । किरात समुदायमा अन्नबाली छर्ने बेला अर्थात बैसाख पूर्णीमामा उभौली तथा अन्नबाली उठाउने याम मंसिर पूर्णीमामा उधौली मनाउने गरिन्छ ।

    उभौली र उधौलीमा ढोल, झ्याम्टा बजाएर गीत गाउँदै विभिन्न परम्परागत भेषभुषामा जीवजनावर, पशुपंक्षी, चराचुरुङ्गीको नक्कलदेखि खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको, अन्नबाली काटेको, उठाएको लगायतका कृषि कर्मलाई चित्रण गर्दै नाच्ने गरिन्छ । कपासबाट धागो काटेको, कपडा बुनेको, सिङ्गारपटार गरेको आदि मानव क्रियाकलापलाई पनि ‘सिली टिप्ने’ गरिन्छ । उभौली महिना दिन र उधौली १५ दिनसम्म मनाइन्छ ।

    खोटाङको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा किरात राई यायोक्खा, किरात सेवा समाज र मझुवागढी संरक्षण तथा पर्यटन प्रवद्र्धन समितिको संयुक्त आयोजनामा बिहिबार सामुहिक रुपमा उधौली मनाइएको छ । दिक्तेलकै हेलीप्याडमा आगामी शनिबार बृहत साकेला प्रदर्शनको आयोजना गरिने किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरातले बताए ।

    साकेला मनाउनेक्रममा कुखुरा, सुँगुरको साथमा जाँड, रक्सी, अदुवा, केराको पात, धूप, अक्षता, पाती, सेउली, ढोल, झ्याम्टा, धनुकाँड लगायतका सामग्रीको आवश्यकता पर्छ । नक्छुङले चुलोको पुजा गरेपछि साकेला नाच्न सुरु गरिन्छ ।

    सम्बन्धित समाचार