Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    साकेला ननाचिने भूमेथान

    साकेला ननाचिने भूमेथान


    • शनिवार, मंसिर २४ २०७९

    • गजेन्द्र खालिङ राई


    साकेला ननाचिने भूमेथान
    हौंचुरमा रहेको भूमेथान । तस्बिर : दमन राई

    खोटाङ, २४ मंसिर । भूमेथान भन्ने वित्तिकै साकेलाको प्रशंग आउँछ । भूमेथानमा किरात राई समुदाय पुजाआजा गर्दै उभौली र उधौलीमा साकेला नाच्छन् । तर खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुरमा रहेको भुमेथानमा भने साकेला नाचिदैन ।

    बैसाख पूर्णीमाको दिन पुजाआजा मात्र गर्ने गरिएको छ । भुमे निकाल्ने नाचका क्रममा नक्छुङ (धामी)को मृत्यु भएपछि सो स्थानमा साकेला नाच्न छाडिएको स्थानीय किरात अगुवा बताउँछन् । नक्छुङ (धामी)का अनुसार सो स्थानमा कालो भुमे रहेको छ ।

    सोही कारण साकेला नाच्दा धामीलाई क्षती हुने बिश्वास गरिन्छ । भूमे निकाल्न साकेला नाच्दै जो जो धामी भूमेथान पुगे, त्यी धामीको चार महिनाकै अन्तरालमा निधन भएको स्थानीय सुरेन्द्र राई बताउँछन् ।

    पुर्वमा लुम्झु खोला र पश्चिममा लोचा खोलाले छेकेको आठ पहरी किरातीले भूमेथानमा भुमे निकाल्न साकेला नाच्ने गरेका थिए । एक बैसाख पूर्णीमाका पहिलो पहरी जालपा खरबारीका बर्मध्वज राईले भुमेथानबाट भुमे निकाले ।

    भूमे निकालेको चार महिनापछि उनको निधन भयो । दोश्रो पहरी धामी साईला भूमे निकाल्न नाच्न आए । उनी पनि चार महिनापछि वितेको स्थानीय सम्झना गर्छन् । तीन पहरीपल्ट पुर्‍याउनै पर्छ भनेर धामी साईलाको भाई भुमे निकाल्न अघि सरे, उनको पनि चार महिनापछि निधन भएको स्थानीय पुर्खा नक्छुङ तुलबहादुर राई (गैराघरे)ले बताए ।

     

    जालपाबाट नाच्दै भूमेथान झर्दैगरेको धामीलाई कुभिन्डे दम्कुका अर्का धामीले ‘बिशाल नागको मुखमा नाचिरहेको’ देखेका थिए भनिन्छ । दम्कुका धामीले ‘अव धेरै टिक्दैन’ भनेको केही समयपछि नै भूमे उठाउन गएका धामीको निधन भएको बुढापाकाको भनाई छ । भूमेथानको भुमे शक्तीशाली भएकाले धामीहरुले निकालेर लाने प्रयास गरेका थिए ।

    वरपर खेत र जंगल रहेको भूमेथानमा २०१८ सालसम्म पहरी धामीको उपस्थितिमा भुमे पुजिएको थियो । लगातार धामी वित्न थालेपछि तीन/चार वर्षसम्म भूमे पुज्ने काम गरिएन ।

    भूमे नपुजेपछि त्यस क्षेत्रमा अनिकाल, बाढी पहिरो र खडेरी सुरु भयो । त्यसपछि दम्कुका धामीमार्फत दुई साल भूमे पुजा गरिए । तर ‘भूमेथानमा कालो भूमे छ । खतरनाक छ, म सक्दिन’ भन्दै उनी नियमित पुजा गर्न तयार भएनन् ।

    त्यसपछि क्रमशः भैमानसिं, हर्कधन हुँदै तुलबहादुर राईले बैसाख पूर्णीमामा पुजाआजा गर्दैआएका छन् । तुलबहादुरले भूमेथानमा पुजाआजा सुरु गरेको १९ वर्ष वितिसकेको छ । भूमे पुजेपछि सिजनमा पानी पर्ने र अन्नपात सप्रिन सुरु गरेको स्थानीय बताउँछन् ।

    भूमेथानमा राई मात्र नभएर कार्की समुदाय पनि भाले, धान र कोदो लिएर पुजाआजा गर्न पुग्ने गरेका थिए । नोक्छोहरु बित्न थालेपछि भूमेथानमा ढोल झ्याम्टा बजाएर साकेला नाच्न छाडिएको हो ।

    भूमेथान एउटा थुम्कोमा बिशाल सिमलको रुखको फेदमा अवस्थित छ । वरपर झाडी पलाएको छ । सिमलको बिशाल रुखलाई ढालेर डुंगा बनाउनका लागि माझीहरु आएका थिए रे । राती त्यही बास बसेका माझीहरुले सपनामा रुख ढाले अनिष्ट हुने संकेत पाएपछि बिहानै छाडेर हिँडेको किंवदन्ती छ । भूमेथान नजिकै रहेको ताल फोहोर भएपछि फुटेर गएको बुढापाका बताउँछन् ।

    भूमेथानभन्दा तल रहेको पानीको मुहानलाई ताल भासिएको अर्थमा बुझ्ने गरिएको छ । ऐतिहासिक र साँस्कृतिक महत्व बोकेको भूमेथानका विषयमा भने स्वयं राई समुदाय बेखबर देखिएका छन् ।

    dd.jpg

    हौंचुरमा रहेको भूमेथान । 

    सम्बन्धित समाचार