मंगलवार, पौष ५ २०७९
नेपाल वाइड
खोटाङ, ५ पुस । प्रदेश १ सरकारले खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारका अग्नी पिडितलाई राहत उपलव्ध गराउने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश १ को मन्त्रीपरिषदको बैठकले सोमबार साँझ भएको आगलागीबाट सर्वस्व गुमाएका पाँच परिवारलाई तत्काल राहतका सामग्री उपलव्ध गराउने र कानून बमोजिम पिडितलाई नगद सहयोग गर्ने निर्णय गरेको हो ।
अग्नी पिडितलाई राहत तत्काल उपलव्ध गराउने तथा क्षतीको विवरण सहित प्राप्त कागजातका आधारमा नगद सहयोग गर्ने निर्णय भएको प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले बताए । बाक्सिला बजारमा भएको आगलागीमा चार करोड ९९ लाख ३३ हजार बराबरको क्षती भएको छ ।
आगलागीमा डिल्लीकुमार श्रेष्ठको घर, भाँडा तथा कपडा पसल र नगद ५० हजार जल्दा एक करोड ४१ लाख ७७ हजार बराबरको क्षती भएको छ । सोही घरमा रहेको उनकै छोरा पवन श्रेष्ठको भाँडा पसल र नगद ४० हजार जल्दा २० लाख ४० हजार बराबरको क्षती भएको छ ।
यस्तै, शुभराज राईको घर, सोही घरमा भाडामा बसिरहेका समिर राई (गाउँपालिका अध्यक्ष)को पुस्तक, कपडा तथा किराना पसल र नगद दुई लाख जल्दा एक करोड २५ लाख, सोही घरमा भाडामा पसल गरिरहेका ईद्रा राईको होटल र पसल जल्दा सात लाख ५० हजार बराबरको क्षती भएको छ ।
दिपक गुरुङको घर, नगद एक लाख र किराना सामानको गोदाम नष्ट हुँदा ५४ लाख ८५ हजार, गुरुङकै घर भाडामा लिएर कपडा व्यवसाय गरिरहेका रत्ना गुरुङको नगद ७५ हजार र सामान जल्दा १३ लाख ७२ हजारको क्षती भएको प्रहरीले जनाएको छ । यस्तै, रमेश परियारको घर, नगद एक लाख, टेलर पसल समेत जल्दा ७१ लाख नौ हजार क्षती भएको छ ।
अकबर राईको घर, टिभी, फर्निचरका सामान जल्दा ६३ लाख र उनकै घरमा रहेको कांग्रेसको समन्वय कार्यालयको कुर्सी, दराज लगायतका समान जल्दा दुई लाख बराबरको क्षती भएको डिएसपी मञ्जिल मुकारुङले बताए । बाक्सिला बजारमा गुरुङको घरबाट सुरु भएको आगोले अन्य घर पनि जलाएको हो । बजारका अन्य घरमा आगो फैलिन नदिन अकबरको घर जेसिभि र स्काभेटर लगाएर भत्काइएको थियो ।