Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    काज प्रअको भर

    ‘न भवन न दरबन्दी’

    ‘न भवन न दरबन्दी’


    • मंगलवार, पौष १२ २०७९

    • दमन राई


    ‘न भवन न दरबन्दी’
    बालकन्य प्राविको भवन । तस्बिर : दमन राई

    खोटाङ, १२ पुस । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको तालखर्कस्थित बालकन्य प्राविको भवन जिर्ण हुँदा पठन–पाठनमा कठिनाइ भइरहेको छ ।

    आवश्यक भवन तथा फर्नीचरको व्यवस्था नहुँदा शैक्षिक क्रियाकलाप प्रभावित भएको प्रअ प्रकाश राई बताउँछन् । १५ वडा रहेको नगरका सबै विद्यालयमा पक्की भवन निर्माण हुँदा बालकन्य प्राविमा २०४४ र २०४६ सालमा बनेको भवनमै पठन–पाठन भइरहेको छ ।

    दिक्तेल–पाथेका र दिक्तेल–खार्मी सडकको किनारामा रहेको विद्यालय प्रांगणबाट कैयौं नेता, सांसद, स्थानीय सरकार प्रमुख लगायतका जनप्रतिनिधि हिँड्छन् तर बालकन्य प्राविको जिर्ण भवनमा कसैका आँखा परेको छैन ।

    अभिभावक बेलायती सेनाका भुतपुर्ब सार्जन सम्शेरबहादुर राईको पहलमा २०४० सालदेखि बालकन्य प्राबिको नाममा पठन–पाठन सुरु गरिएको थियो । छाप्रोमा पठनपाठन हुँदैआएको विद्यालयलाई २०४४ सालमा जिल्ला शिक्षा कार्यालयमा विधिवत दर्ता गरिएको हो ।

    २०४४ सालमा अभिभावकले कच्ची भवन बनाउन श्रमदान गर्दा तत्कालिन पञ्चायतले जस्ता हाल्न सहयोग गरेको थियो । २०४६ सालमा ब्रिटिस गोर्खा वेलफेयरको सहयोगमा पुरानो भवनसँगै टाँसेर दुई तले कच्ची भवन बनाइयो ।

    त्यसयता सो विद्यालयको कुनै पनि भवन बन्न सकेको छैन । स्थापनाकालकै डेस्क र बेञ्च प्रयोग गर्दैआएको विद्यालयलाई केही समयअघि वडा सदस्य पेमादोर्ची शेर्पाले फर्निचर उपलव्ध गराएपछि केही सहज भएको प्रअ राई बताउँछन् ।

    कक्षा ३ सम्म पठन पाठन हुँदैआएको विद्यालयमा हाल २६ छात्र/छात्रा अध्ययनरत छन् । बालबिकास केन्द्रमा १२ जना, कक्षा १ मा पाँच जना, कक्षा २ मा चार जना र कक्षा ३ मा पाँच जना विद्यार्थी छन् ।

    उनीहरु साँघुरो र धुलाम्मे कोठामा बसेर अध्ययन गर्न वाध्य छन् । भवन निर्माणका लागि पटक–पटक नगरपालिका गुहार्न पुगे पनि सुनुवाइ नभएको वडा सदस्य कृष्णकुमारी पुरी बताउँछिन् । निवर्तमान मेयर दिपनारायण रिजालले कार्यरत शिक्षिका र कर्मचारीलाई शैक्षिक अनुदान उपलव्ध गराउने बाहेकका सहयोग गरेनन् ।

    नवनिर्वाचित मेयर तीर्थराज भट्टराईले गत १३ असारमा विद्यालयको भवनको भौतिक अवस्था, दरबन्दीदेखि राम्रा–नराम्रा पक्षका विषयमा ७ दिनभित्र प्रतिबेदन उपलव्ध गराउन पत्राचार गरेका थिए । त्यो पत्र आएपछि अभिभावक र शिक्षक भवन पाउनेमा उत्साहित भएका थिए । भवन पाउने आशामा हौसिएर प्रतिबेदन बुझाए पनि भवनबाट बञ्चित गराइएको अभिभावक बताउँछन् ।

    काज प्रअको भर

    बालकन्य प्राविमा हाल शिक्षक दरबन्दी छैन । प्रअ राई काजमा बालकन्य प्राविमा ल्याइएको हो । उनको दरबन्दी जालपा आवि पाथेकामा छ । प्रअ राईसँग हाल शिक्षिका गायत्री अधिकारी र कास सुशिला पुरी कार्यरत छन् ।

    स्थानीय सरकारले दरबन्दी दिन कञ्जुस गरिरहेको विव्यासका पुर्वअध्यक्ष पदम पुरी बताउँछन् । अघिल्लो कार्यकालमा नगरपालिकाबाट उपलव्ध हुने शैक्षिक अनुदानबाट शिक्षिका र कासलाई तलव खुवाउने गरिएको थियो । गत ३० बैसाखमा सम्पन्न स्थानीय तहको चुनावपछि नेतृत्व परिवर्तनसँगै त्यो शैक्षिक अनुदान कटौती भएको छ ।

    नगर अनुदानबाट तलव लिँदै आएकी शिक्षिका अधिकारीलाई तलव दिन नसकिने भन्दै हाजिर नगराउन पत्र पठाएपछि अभिभावकले निजी श्रोतबाट मसिक १५ हजार दिनेगरी अधिकारीलाई निरन्तरता दिएका छन् ।

    अघिल्लो जनप्रतिनिधिले जसरी आफ्नो मान्छे नियुक्ती गर्दैअघि बढ्यो वर्तमान जनप्रतिनिधि पनि त्यसरी नै आफ्नै मान्छे राख्ने दाउमा रहेको श्रोत बताउँछ । आगामी दिनमा बालकन्या प्राविमा नयाँ भवन निर्माण गर्ने शिक्षक दरबन्दी व्यवस्थापनलाई पहिलो प्राथमिकता दिइने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रवक्ता दिनेशकुमार घिमिरेले बताए ।

    सडकको धुलो कक्षा कोठामा

    सडकको कुनापट्टी बालकन्य प्राविको भवन रहेको छ । सवारी साधनले उडाएको धुलो सिधै कक्षा कोठाभित्र छिर्ने गरेको छ । धुलोले विद्यार्थी, उनीहरुको कपडा र पुस्तक धुलाम्मे हुनेगरेको छ ।

    विद्यालयको आँगन बराबरको सडकमा पानी छ्यापेर धुलो नियन्त्रण गर्ने गरिएको छ । विद्यालयमा आउने धुलो नियन्त्रणका लागि नगरपालिका समक्ष पानी छ्याप्न पोलिथिन पाइप माग्दा समेत नपाएको प्रअ राई गुनासो गर्छन् । भवनको कुलेसोबाट पानी चिसाएर कक्षा कोठा चिसो हुने गरेको छ ।

    पुःन दर्ता गरेर जगाइएको विद्यालय

    बिद्यार्थी संख्य घटेको भन्दै भौतिक संरचना कालिका प्रावि ओखरबोटेको मातहत रहनेगरी बालकन्य प्राविलाई २०६४/०६५ मा ‘कोल्याप्स’ गरिएको थियो । विद्यालय जाने उमेरका बालबालिकालाई अन्यत्र पठाउन अप्ठ्यारो भएपछि अभिभावकको पहलमा नगरपालिकाको अनुमतिमा २०७२ सालदेखि बालकन्य प्राविको भवनमा बालबिकास केन्द्र सञ्चालनमा ल्याइएको थियो ।

    पछि २०७४ मा बालकन्य प्राविलाई पुःन नयाँ विद्यालय सरहको दर्ता प्रकृया पुरा गरेर पुःन सञ्चालनमा ल्याइएको विव्यासका पुर्वअध्यक्ष पुरीले बताए । “स्थगन वा मर्ज गरिएको भए विद्यालयलाई पुःन सुचारु गर्न सकिन्थ्यो,” उनले भने, “कोल्याप्स भएको विद्यालयलाई नयाँलाईझैं नयाँ दर्ता गरेर प्रकृया पुरा गर्नुपर्ने रहेछ । हामीले त्यही गर्‍यौं ।”

    balkanya pravi-school_khotang (2).jpg

    बालकन्य प्राबिको कक्षा कोठा ।

    सम्बन्धित समाचार