बुधवार, पौष २० २०७९
नेपाल वाइड
खोटाङ, २० पुस । खोटाङको दिक्तेल बहुमुखी क्याम्पसका पुर्व विद्यार्थीले दिक्तेल बहुमुखी क्याम्पसलाई पुस्तक उपलव्ध गराएको छ । डा. धनप्रसाद सुबेदी नेतृत्वको दिक्तेल बहुमुखी क्याम्पस पुर्वविद्यार्थी मञ्चले क्याम्पसलाई २४ हजार ६४१ रुपैयाँ बराबरको पुस्तक प्रदान गरेको हो ।
विभिन्न दाताबाट जुटाइएको २३ प्रकारका १०८ थान पुस्तक मंगलबार पुर्वविद्यार्थी मञ्चका उपाध्यक्ष राजेन्द्र राईले क्याम्पस सञ्चालक समितिका अध्यक्ष देबीप्रसाद रिजाललाई हस्तान्तरण गरेका छन् । क्याम्पसका विद्यार्थीलाई पाठ्यक्रम र सन्दर्भ सामग्रीका रुपमा उपयोग हुने किसिमका पुस्तक संकलन गरेर प्रदान गरिएको पुर्वविद्यार्थी मञ्चले जनाएको छ ।
मञ्चले साझा कथा, नासो, ऋतुबिचार, राजेश्वरी, सुलोचना, नरेन्द्र दाई, लक्ष्मी निवन्ध संग्रह, भाषा पाठ्याक्रम, प्रयोगित भाषा विज्ञान लगायतका पुस्तक प्रदान गरेको छ । मुन्धुम अध्येता भोगीराज चाम्लिङ, डा. बिष्णुकुमार सिंजाली, बम बानियाँ र राजुबिक्रम चाम्लिङको सहयोगमा क्याम्पसका लागि पुस्तक जुटाइएको दिक्तेल बहुमुखी क्याम्पस पुर्वविद्यार्थी मञ्चका उपाध्यक्ष राईले बताए ।
क्याम्पसलाई पुस्तक उपलव्ध गराएकामा क्याम्पस सञ्चालक समितिका अध्यक्ष रिजाल र क्याम्पस प्रमुख हिराकुमार राईले धन्यवाद ज्ञापन गरेका छन् । पुस्तक हस्तान्तरण कार्यक्रममा संविधानसभा सदस्य दुर्गाजयन्ती राई, प्राध्यपक, जनप्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
२०३७ सालमा त्रिविविबाट सम्वन्धन प्राप्त गरेको दिक्तेल बहुमुखी क्याम्पसमा २०७० सालदेखि स्नातकोत्तर तहको कक्षा सुरु गरिएको हो । जिल्लाकै ज्येष्ठ र अग्रणी दिक्तेल क्याम्पसमा खोटाङ बाहेक ओखलढुंगा, सोलुखुम्बु र भोजपुरका विद्यार्थी समेत अध्ययन गर्न आउने गरेका छन् । हाल साँढे आठ सय विद्यार्थी अध्ययनरत क्यम्पसलाई क्यूएएको प्रकृयामा अघि बढाइसकिएको छ ।