सोमवार, पौष २५ २०७९
दमन राई
दिप्रुङ छाँगो झरझर गर्छ, साप्सु सललल,
दिखुवा र लैकु पनि झर्छन् तलतल ।
खोटाङको सामुदायीक रेडियो रुपाकोट एफएम ९६.६ मेगाहर्जमा बिहान–बिहान घन्किने बिहानी गीत ‘प्यारो लाग्छ आफ्नै माटो, आफ्नै गाउँघर’ बोलको एउटा अंश हो यो ।
रुपाकोट एफएमले आफ्नै सर्वाधिकार रहने बिहानी गीत तयार पारेर बिहान–बिहान भजनको सट्टा बजाउने गरेको थियो । २०६४ सालमा स्थापना गरिएको रुपाकोट एफएमका त्यी जागरण गीतहरु खोटाङका श्रोताको जनजिव्रोमा झुण्डिएका छन् । विभिन्न युटुबदेखि ‘हेर्नेकथा’सम्मले रुपाकोटको जागरण गीतलाई व्याकग्राउण्डमा समेटेका छन् ।
रुपाकोट एफएबाट बिहानी गीत प्रशारण भएपछि मात्र अरु नियमित कार्यक्रम सुरु हुन्थ्यो । अन्य एफएम नभएको त्यो स्थापना कालमा रुपाकोटको ‘चार्म’ बेग्दै थियो । रुपाकोटबाट दैनिक बज्ने बिहानी गीतहरुमा खोटाङका धार्मिक तथा पर्यटकीयस्थल, खोलानाला, लेकबेँसी, डाँडापाखा, मान्छेका जनजीवन लगायतका विषयवस्तु चित्रण गरिएको छ ।
परिवर्तनका लागि ‘लागौं’ भन्ने उत्साहपुर्ण सन्देश छ । त्यसमध्ये टंक भट्टराईको शव्द, शिवसंगम राईको संगीत, शान्तिराम राई, स्वयं शिवसंगम लगायतको स्वर रहेको उल्लेखित गीतमा उल्लेख धिप्लुङ (दिप्रुङ) झरना बारे खुव चासो लाग्थ्यो । ‘पहराबाट झरझर गर्ने झरना कस्तो होला ?’ भन्ने उत्सुकता जगाएको थियो गीतले । हुन त अरु गीत, गजल र कवितामा पनि धिप्लुुङ झरनाको चर्चा छ तर रुपाकोटको बिहानी गीतमा हरेक दिनजसो दिप्रुङ सुनिन्थ्यो ।
एफएमको जागरण गीतमा समेटिएको धिप्लुुङ झरना आफ्नै जिल्लामा भए पनि पुग्न सकेको थिईँन । बिहानी गीतमा बज्न थालेको १४ वर्षपछि धिप्लुुङ पुग्ने अवसर मिल्यो, त्यो पनि दुईपल्टको प्रयासमा । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा र दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीको सिमानामा पर्छ झरना ।
दुरीका हिसावले साविकको सदरमुकाम दिक्तेलबाट टाढा होईन तर वर्षौँसम्म त्यही पुग्न पनि सकिएको थिएन । २०७५ सालमा दिप्रुङ चुईचुम्मा गाउँपालिका पुगेर साकेला गाउँपालिका हुँदै दिक्तेल फर्कनेक्रममा झरना पुग्ने सोच बनाएको थिएँ ।
तर हिँड्दै जाँदा कुहिरोले ढाकेको र साँझ पर्न लागेकाले फेदसम्म पुग्न नपाउँदै फर्किएँ । भौगोलिक अवस्थिति बारे जानकारी नभएकोले केही नजिकबाटै झरना पुग्ने योजना बदलेर झरनाभन्दा तलको जंगलको बाटो हुँदै साकेला गाउँपालिका तरेको थिएँ ।
दुई खण्ड चट्टानको झरना १६७ मिटर अग्लो छ । लफ्याङ, मात्तिम लगायतका ठाउँबाट वर्षा याममा कलकल झरेको झरनाको दृश्य देख्दा जोसुकैलाई एक पटक पुग्ने रहर जगाउँछ । यसपल्ट दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले पालिकाको कार्यक्रमका सिलसिलामा गाउँपालिकामा निम्त्याएका थिए ।
पत्रकार हरिबोल आचार्य, सञ्जिव राई, राजन ठटाल र सन्तोष पौडेलसहित दिप्रुङ चुईचुम्मा गाउँपालिका पुग्यौं । विशेषगरी सामुदायीक विद्यालयको कक्षा कोठालाई धुलोरहित बनाउने, शैक्षिक गुणस्तर वृद्धि अभियान बारे गाउँपालिका अध्यक्षसँग केही विद्यालय अवलोकन गर्यौं ।
मैस्याङटारको पर्यटन प्रवर्द्धनका लागि बनाइएको सुम्नीमा पारुहाङको शालिक लगायतका संरचना अवलोकन गरियो । जनता मावि बतासे सार्ने विषयमा भएको विवाद बारे बुझ्न बतासे पुग्यौं । ढिलासुस्ती भइरहेको लोकतान्त्रिक कुलो सिँचाई योजना हेर्यौं ।
तर झरना पुग्ने कुनै योजना थिएन । दिप्रुङ चुईचुम्मा गाउँपालिका पुगेपछि झरना किन नपुग्ने ? मैले प्रस्ताव राखेँ । गाउँपालिका अध्यक्ष राईले सहमती जनाए । मैस्याङटार घुमफिर गर्दै झरनातर्फ लाग्यौँ । कच्ची बाटो । ढलपल गर्दै यात्रा अघि बढ्यो । बाटोमा लोकल कुखुराको सुप खुव रुचेको थियो ।
झरना पुग्नका लागि गाउँपालिकाले छितापोखरी गोगने हुँदै तल्लोखर्क र टेम्माको डाँडाखर्कसम्म पुग्ने सडक बनाइसकेको छ । हामी छितापोखरी गोगने–तल्लोखर्कको बाटो हुँदै झरनातर्फ अघि बढ्यौं ।
गाडी रोकेर पाखो भित्ता उँदो साँघुरो गोरेटो बाटो हुँदै झरनाको शिरतर्फ झर्यौं । साथमा नेता रामप्रसाद दंगाल, चर्चबहादुर बिक पनि हुनुहुन्थ्यो । आधा घण्टा उँदो ओर्लिएपछि झरनाको शिरमा पुगियो । घाम लागेकोबेला झरना झर्न र पुःन सडकमा निस्कन असिनपसिन भइयो ।
झरना पुग्नेबेला रेलिङसहितको ढलान बाटो भेटियो । टेम्मातर्फबाट पनि झरना आउने बाटो बनिसकेको देखियो । झरनाको शिरमा टेम्मातर्फ दृश्यावलोकनका लागि पार्क, फलैंचा लगायतका संरचना बनाइएको रहेछ । फलैंचाबाट झरना हेर्दा रोमाञ्चक दृश्या देखियो । झट्ट उँदो हेर्दा डर पनि लाग्ने । आङ नै सिरिङ्ग भयो ।
झरना दुई खण्डमा विभाजित छ । माथिल्लो झरना अग्लो र तल्लो झरना केही होचो छ तर यो झरनालाई नजिकबाट शिरपुछार दृश्यावलोकन गर्न सकिन्न । बरु टाढाबाट हेर्दा सिंगो झरना आकर्षक देखिन्छ ।
त्यही भएर झरनाको माथिल्लो भाग हेर्न जाने रेलिङसहितको फलामे भर्याङ बनाइएको छ । पहराको चट्टान काटेर/खोपेर फलामे भर्याङ जोडिएको छ । रेलिङ सहितको भर्याङबाट ओर्लिएर तल झरेपछि माथिल्लो झरनालाई अवलोकन गर्न सकिँदो रहेछ । त्यी संरचना नवनेको भए झरना आसपासमा पुग्न सकिन्नथ्यो ।
त्यी संरचनाहरु दिप्रुङ चुईचुम्मा गाउँपालिकाका पुर्वअध्यक्ष भूपेन्द्र राई (हाल प्रदेशसभा सांसद) लगायतको पहलमा बनाइएको हो । झरना आसपासमा गेट, गेटभित्र पार्किङ स्थल, प्रतिक्षालय, सार्वजनिक शौचालय, झरनाभन्दा माथि खोला वारपार गर्ने पुल तथा झरनाको दृश्यावलोकनका लागि झरनाकै बिचमा वारिपारी जोड्ने पुल लगायतका थप संरचना क्रमशः निर्माण गर्ने गाउँपालिकाको लक्ष्य छ ।
झरना आसपासमा आवश्यक संरचना बनाइएपछि पछिल्लो समय घुमफिर गर्न जाने आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ । अग्लो भीरको टाकुराबाट छङछङ गर्दै झरेको झरना, रिठ्ठे झाँक्री गुफा, मलेवा ओढार, राईभीर, भालेढुंगा लगायतको दृश्यवलोकनका लागि सो ठाउँ चर्चित छ । दिक्तेलबाट पैदल वा गाडीमार्फत झरना पुग्न सकिन्छ । होटल तथा खाजाका लागि स्थानीय होटल व्यवसायीलाई सम्पर्क गर्नुपर्ने हुन्छ । झरना आउने जानेक्रममा गाउँघरमै पाइने खाना नास्ताको स्वाद लिन सकिन्छ ।
झरनाको विषयमा विभिन्न पौराणिक कथाहरु चर्चामा छन् । झरनामा खलकुँडो जत्रो गंगटो र मान्द्रोजत्रो खजुरो बस्नेगरेको किंवदन्ती छ । झरनाकोे शिरमा ढकानी आकारको ठूलो ढुंगा छ । त्यही ढुंगामाथि ठूला–ठूला सर्प, बिच्छी र खजुरा घाम लागेको बेला बस्ने र अलिअलि धुम्मिने वित्तिकै लुक्ने गरेको मिथक छ ।
ढुंगामुनी रहेको बहुमुल्य धातु रहेको किंवदन्ती पनि अहिले पनि बुढापाकाबाट सुन्न पाइन्छ । तर पर्याप्त प्रचार–प्रसार अभावमा झरना अझै ओझेलमा परिरहेको छ । सडकको सहज पहुँच विस्तार गर्न सके झरनालाई आकर्षक स्थलको रुपमा विकास गर्न सकिने सम्भावना छ ।
२१ पुस २०७९