Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    लालुपाते सहकारीको ऋण चुक्ता नगर्ने आठ ऋणीको जग्गा रोक्काका लागि मालपोतमा निवेदन

    लालुपाते सहकारीको ऋण चुक्ता नगर्ने आठ ऋणीको जग्गा रोक्काका लागि मालपोतमा निवेदन


    • मंगलवार, माघ १७ २०७९

    • नेपाल वाइड


    लालुपाते सहकारीको ऋण चुक्ता नगर्ने आठ ऋणीको जग्गा रोक्काका लागि मालपोतमा निवेदन
    लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाको कार्यालय । तस्बीरहरुः दमन राई

    खोटाङ, १७ माघ । खोटाङको लालुपाते बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक समिति ऋण चुक्ता नगर्ने ऋणीको जग्गा रोक्काका लागि जिल्ला मालपोत कार्यालय पुगेको छ । बचत अपचलनका कारण संकटमा फसेको सहकारीका सञ्चालक समिति ऋण चुक्ता गर्न बेवास्ता गर्ने ऋणीको जग्गा रोक्काका लागि मालपोत कार्यालय पुगेको हो ।

    रकम चुक्ता गर्नका लागि पटक–पटक पत्र पठाउँदा, फोन सम्वाद गर्दा र जमानीलाई पत्राचार गर्दा समेत ऋण चुक्ता नभएपछि सहकारीको माघ १३ गते बसेको बैठकको निर्णय अनुसार पहिलो चरणमा आठ जना ऋणीको जग्गा रोक्काका लागि मालपोतमा निवेदन दिइएको सहकारी सञ्चालक समितिले जनाएको छ ।

    ऋण चुक्ता गर्न नआएको खण्डमा सोही चल–अचल सम्पत्ती विक्री गरी असुल उपर गर्नुपर्ने भन्दै सञ्चालक समितिले प्रदेश सहकारी ऐन २०७६ को दफा ६९ को उपदफा २ बमोजिम रोक्काका लागि मालपोतमा निबेदन दिएका हुन् ।

    प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय, सुनसरीले ऋण असुल गर्नका लागि सबै खालका कानुनी कारबाही गर्न माघ ३ गते पठाएको आदेशका आधारमा जग्गा रोक्काका लागि मालपोत कार्यालय पुगेको सञ्चालक समितिले बताएको छ । सहकारीका तत्कालिन अध्यक्ष जोशी र व्यवस्थापक रुकु जोशीले बचत अपचलन गरेका कारण लगानी डुबेको भन्दै बचतकर्ता आन्दोलनमा छन् ।

    थोपाथोपा गरेर जम्मा गरेको बचत डुबेको भन्दै बचतकर्ता छटपटिमा छन् । बचत फिर्ताका लागि बचतकर्ता दैनिकजसो सहकारीको ढोका ढककाउन पुग्ने गरेका छन् । बचतकर्ताले घेर्न थालेपछि अप्ठ्यारोमा परेको सञ्चालक समितिले ऋण असुल गर्दै बचत फिर्ता गर्ने प्रयास सुरु गरेको जनाएको छ ।

    वित्तीय कारोबार बाहेक उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नाराका साथ २०७२ मंसिर १० गतेदेखि दिक्तेलबजारमा कारोबार सुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको हो ।

    जोशीको कोभिड–१९ को संक्रमणका कारण २०७८ बैसाख १५ गते पोखरामा निधन भएको थियो । उनको निधनपछि निक्षेपकर्ताहरु निक्षेप रकम फिर्ता माग्न आउँदा सञ्चालक समितिका पदाधिकारी तथा सरोकारवालाले सहकारीको कारोवार तथा हिसाव हेर्नेक्रममा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि खोजी गर्नेक्रममा बचत अपचलन भएको विषय बाहिरिएको हो । जोशीको निधनपछि २०७८ बैसाख १६ गतेदेखि सहकारीको आर्थिक कारोबार ठप्प छ ।

    सहकारीमा जिल्लाका ४५०० बचतकर्ताको लगानी छ । एकैजनाले ४५ लाखसम्म बचत गरेका छन् । सहकारीको ७४ जना ऋणी छन् । उनीहरुले न्यूनतम ३० हजारदेखि ७५ लाखसम्म ऋण लगेको देखिन्छ । सहकारीको जग्गा बाहेक सावा व्याजसहित करिब १० करोड ऋण लगानी छ । बचतकर्तालाई सावाव्याज सहित करिब ७ करोड फिर्ता दिनुपर्ने हिसाव छ ।

    तर अध्यक्ष जोशीको मृत्युका कारण ऋण उठाउन कठिन भइरहेको छ । सहकारीको नाममा खरिद गरिएको जग्गा समेत जोशीको परिवार तथा आफन्तको नाममा राखेको पाइएको सहकारीको आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण प्रतिबेदनमा उल्लेख छ ।

    त्यसमध्ये तत्कालिन व्यवस्थापक रुकु जोशीको नाममा हलेसी र बाम्राङमा रहेको केही कित्ता जग्गा सहकारीको नाममा ल्याइ सकिएको सहकारी सञ्चालक समितिका सदस्य तुलसीराम आचार्यले बताए ।

    सम्बन्धित समाचार