मंगलवार, माघ २४ २०७९
नेपाल वाइड
खोटाङ, २४ माघ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा निर्माण गरिएको चिस्यान केन्द्र (कोल्ड स्टोर) उपयोग विहिन बनेको विषयमा जिल्ला समन्वय समितिले चासो देखाएको छ ।
संघीय सांसद निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा ९० लाखको खर्चमा निर्माण गरिएको चिस्यान केन्द्र उपयोग विहिन बनेको विषयमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, उपप्रमुख सुरेश तामाङ, शैक्षिक अभियान्ता सुर्य राई लगायतको टोलीले निरिक्षण गरेको छ ।
उद्घाटनमै सिमित बनेको चिस्यान केन्द्रलाई आलु, सुन्तला, किवी लगायतका कृषिजन्य सामग्री भण्डारण गर्न उपयोगमा ल्याउनका लागि समन्वय गर्ने जिल्ला समन्वय समितिका प्रमुख राईले बताए । ३० टन भार क्षमताको चिस्यान केन्द्र २०७८ चैत २५ गते तत्कालिन प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले उद्घाटन गरेका थिए ।
किसानले उत्पादन गरेका हरियो तरकारी, आलुको बीउ, फलफुल लगायतका कृषि उपज भण्डारणका लागि बुईपाको पञ्चरदोबाटो नजिकै चिस्यान केन्द्र निर्माण गरिएको हो ।
सार्वजनिक दुई रोपनी जग्गामा निर्माण गरिएको चिस्यान केन्द्रमा जिल्लामा उत्पादित कृषि सामग्रीलाई व्यवस्थित तरिकाले लामो समयसम्म सुरक्षित रुपमा भण्डारण गर्न सकिन्छ ।
चिस्यान केन्द्र उद्घाटनका क्रममा किसानको तरकारी र फलफुल कुहिएर जाने समस्याको अन्त्य गर्न सघाउ पुग्ने भन्दै भाषण हुँदा किसानले हर्षले ताली पिटेका थिए तर हालसम्म उपयोगमा नआउँदा चिस्यान केन्द्रमा भएको सरकारी लगानी बालुवामा पानी झैं भइरहेको छ । जिल्लामा चिस्यान केन्द्रको व्यवस्था नहुँदा किसानलाई भण्डारणको समस्या छ ।
नगरपालिकाले कार्यविधि निर्माण नगरेका कारण चिस्यान केन्द्र हालसम्म सञ्चालनमा आउन नसकेको बुईपाका वडाध्यक्ष दिनेश राईले बताए । नगरपालिकाको स्वामित्वमा रहेको चिस्यान केन्द्रको रेखेदेख मात्र वडाको दायित्वभित्र पर्ने वडा कार्यालयले जनाएको छ ।