Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    विद्यालय व्यवस्थापन समितिमा दलको लडाई

    विद्यालय व्यवस्थापन समितिमा दलको लडाई


    • शनिवार, फाल्गुण ६ २०७९

    • नेपाल वाइड


    विद्यालय व्यवस्थापन समितिमा दलको लडाई
    शारदा मावि हौंचुरको व्यवस्थापन समितिको नवनिर्वाचित पदाधिकारीहरु । तस्बीर सौजन्यः प्रेम श्रेष्ठ

    खोटाङ, ६ फागुन । खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुरस्थित शारदा माबिको व्यवस्थापन समिति चयनका क्रममा दलीय आधारमा चुनाव भएको छ । नयाँ व्यवस्थापन समिति चयनका क्रममा सहमती नजुटेपछि अभिभावकबीचमै दलीय आधारमा निर्वाचन भएको हो ।

    व्यवस्थापन समितिका लागि कांग्रेस र माओवादी केन्द्र समर्थकको एउटा प्यानल तथा एमाले समर्थकको अर्को प्यानल खडा गरेर शुक्रबार निर्वाचन गरिएको हो । निर्वाचनमा कांग्रेस–माओवादी केन्द्रको प्यानललाई हराउँदै एमालेको प्यानल विजयी भएका छन् ।

    व्यवस्थापन समितिका लागि पुर्व वडाध्यक्ष समेत रहेका यज्ञ नारायण श्रेष्ठले ७७ मत, वीरबहादुर रोक्काले ७० मत, खड्गकुमारी बरुवालले ७७ मत र मनकुमारी श्रेष्ठले ८४ मत ल्याएर विजयी भएका छन् ।

    यस्तै, कांग्रेस–माओवादी केन्द्र प्यानलका सुरेन्द्र राईले ६६ मत, हरी राईले ६३ मत, डोमु शेर्पा (राई)ले ६५ मत र विष्णुकुमारी बस्नेत (खड्का)ले ६५ मत पाएर पराजित भएका छन् । निर्वाचनमा कुल १४८ जना अभिभाबकले मत हाल्दा १० मत बदर भएको थियो । पटक–पटकको छलफलमा सहमती नजुटेपछि दुई महिला र दुई पुरुष सदस्यका लागि आठ जनाले उम्मेद्वारी दर्ता गरेका थिए ।

    विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिएसँगै अर्को समिति गठनका लागि विद्यालयले पत्राचार गर्दै गत माघ २७ गते अभिभावकलाई बोलाएको थियो । सो भेलामा व्यवस्थापन समितिमा बस्न २५ जनाले आकांक्षा देखिाएपछि पटक–पटक छलफल गर्दा पनि सहमती जुट्न नसकेको प्रअ हर्कबहादुर कार्कीले बताए ।

    निर्वाचनबाट चुनिएका चार सहित विद्यालय व्यवस्थापन समितिमा नौ जना रहने व्यवस्था छ । प्रधानाध्यापक स्वतः सदस्य सचिव रहने व्यवस्था छ । निर्मला कार्कीलाई शिक्षक प्रतिनिधिबाट छनौट गरिएको छ । वडाध्यक्ष चिरञ्जीवी कार्की स्वतः पदेन सदस्य रहन्छन् । सात जनाको बैठकले पुःन दुई सदस्य मनोनित गर्ने व्यवस्था छ ।

    पछिल्लो समय जिल्लाका कतिपय सामुदायीक विद्यालयको व्यवस्थापन समिति राजनैतिक दलको शक्ती परीक्षण गर्ने साधन बन्दै गएको छ । आफ्नो शक्ती परिक्षण तथा व्यवस्थापन समिति, विद्यालय र सिंगो वडामा आफ्नो ‘पकड’ जमाउने भित्री स्वार्थ बोकेका दलहरुको कारण विद्यालयमा अनपेक्षित निर्वाचन हुने गरेको छ । तर, व्यवस्थापन समिति गठनकाक्रममा तँछाड–मछाड गर्दै लड्ने र लडाउनेको क्रियासिलता शैक्षिक गुणस्तर वृद्धिमा भने शुन्य प्रायः हुने गरेको छ ।

    सम्बन्धित समाचार