Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    भानुमती मेला : पञ्चायतले बन्द गराएको मेला गणतन्त्रपछि व्यूँताईयो

    भानुमती मेला : पञ्चायतले बन्द गराएको मेला गणतन्त्रपछि व्यूँताईयो


    • शनिवार, फाल्गुण ६ २०७९

    • नेपाल वाइड


    भानुमती मेला : पञ्चायतले बन्द गराएको मेला गणतन्त्रपछि व्यूँताईयो
    नेकपा एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराई र खोटेहाङ गाँउपालिकाका अध्यक्ष उदिम बहादुर राई लाखबत्ती बालेर भानुमतीमा लाग्ने शिवरात्री मेलाको संयुक्तरुपमा उद्घाटन गर्दै ।

    खोटाङ, ६ फागुन । खोटाङको धार्मिक तथा पर्यटकीयस्थल भानुमतीमा लाग्ने शिवरात्री मेला ४७ वर्षपछि ब्यूँताइएको छ । जन्तेढुंगा गाउँपालिका र खोटेहाङ गाउँपालिकाको सिमानामा पर्ने सावा खोला किनारमा रहेको भानुमतीमा शिवरात्रीकै अवसर पारेर मेला व्यूँताइएको हो ।

    परापुर्वकालदेखि भानुमतीमा लाग्दैआएको मेलाको आम्दानीको विषयमा सावा खोला वारी (खोटेहाङ गाउँपालिका–७ खोटाङबजार र सावा खोला पारी (जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ)का तत्कालिन प्रधानपञ्चबीचमा विवाद भएपछि २०३२ सालदेखि शिवरात्री मेला बन्द गरिएको थियो ।

    मेलाको आम्दानी कसले लिने भन्ने विषयमा दिप्लुङका प्रधानपञ्च पृथिबहादुर राई र खोटाङबजारका प्रधानपञ्च श्रीप्रसाद भट्टराईबीचमा विवाद भएपछि तत्कालिन राष्ट्रिय पञ्चायत सदस्य पर्शुराम राईले २०३२ सालदेखि शिवरात्री मेला बन्द गराएका थिए । प्रधानपञ्चको कारण चार दशक बन्द भएको मेलालाई खोटेहाङ गाउँपालिका र जन्तेढुंगा गाउँपालिकाको समन्वयमा पुःन व्यूताइएको हो ।

    नेकपा एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराई र खोटेहाङ गाँउपालिकाका अध्यक्ष उदिम बहादुर राईले संयुक्तरुपमा शनिबार मेला उद्घाटन गरेका हुन् । मेला बन्द गराउन पर्शुराम आफै घोडा चडेर भानुमती पुगेका थिए ।

    मेलामा रक्सी खाने, झगडा गर्ने र मारामार भएपछि पनि तत्कालिन समयमा मेला बन्द गराउन प्रेसर परेको जन्तेढुंगा गाउँपालिकाका उपाध्यक्ष खेमबहादुर खड्का बताउँछन् । त्योबेला मेला बन्द गर्न निर्देशन दिँदा पनि स्थानीयले अटेर गरेका थिए । तर केही वर्षपछि आफै मेला बन्द भएको स्थानीय बताउँछन् ।

    “भानुमतिमा पहिलाको जस्तै १५ दिन नै मेला लाग्दैन,” खड्काले भने, “तर अब हरेक वर्ष शिवरात्रीका दिन मेला लगाउछौँ । आम्दानीलाई भानुमतिकै विकासमा खर्च गर्छौँ ।” भानुमतीको पर्यटन प्रबद्र्धनका लागि दुई गाउँपालिकाले ऐतिहासिक मेला जगाएको हो ।

    भानुमतिमा शिवरात्रीको अवसरमा १५ दिनसम्म मेला लाग्ने गरेको थियो । भानुमतीमा सोलुखुम्बु, ओखलढुंगा, भोजपुर, उदयपुर लगायतका ठाउँबाट दर्शनार्थी तथा ब्यापारीले मेला भर्ने गरेको भानुमति खुट्टेश्वर धार्मिक मेला आयोजक समितिको अध्यक्ष एबं खोटाङबजारका वडाध्यक्ष शिवप्रसाद फुयालले बताए ।

    २०३२/०३३ सालताका कतिपय दर्शनार्थी काठमाडौंबाट समेत महिनौ हिडेर भानुमती आएको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी वाचिपालाका ९९ वर्षिय डम्बरसिंह राई सम्झन्छन् । “ठूलो मेला लाग्थ्यो । १५ दिनसम्म म आफै त्यो मेलामा बसेँ । त्यो बेला पुलिस थिएन । जुवातास खेल्ने, त्रिपासा, घुर्नी खेल्ने, रक्सी खाने रनघनको बजार लाग्थ्यो,” राईले भने, “म पनि जिल्ला पञ्चायतको सदस्य थिएँ । बेथिति बढेपछि म पनि मेला बन्द गराउन लागेँ । अब त प्रहरी छ, बेथिति छैन । सबै पढेलेखेका छन् । फेरी मेला सुरु भएछ, खुुुसी लाग्यो ।”

    मेला उद्घाटनका क्रममा खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिम बहादुर राई उपाध्यक्ष रुपेश राई, जन्तेढुङ्गा गाउँपालिकाका अध्यक्ष अरुणादेवी राई, उपाध्यक्ष खड्का लगायतको उपस्थिति रहेको थियो । भानुमती जिल्लाकै धार्मिक तथा पर्यटकिय स्थलकारुपमा रहे पनि प्रचार–प्रसार अभावमा ओझेलमा परेको छ ।

    धार्मिकग्रन्थ अनुसार अग्नीकुण्डमा हाम फालेर प्राण त्यागेकी सतीदेबीलाई महादेबले बोकेर हिँड्नेक्रममा भानुमतीमा सत्यदेवीको बायाँ खुट्टा पतन पतन भएपछि खुट्टेश्वर महादेव उत्पन्न भएको बिश्वास छ ।

    भानुमतीमा हरेक वर्षको पुस अन्तिमदेखि माघ १ गतेसम्म मकर नुहाउँने चलन छ । मृत शरिर दाहसंस्कार गर्ने मुख्य थलोकारुपमा रहेको भानुमतीमा दिगंवत आत्मा र आफ्ना पितृको सम्झनामा दैनिकजसो रुद्री पाठलगायतका पूजाआजा गर्ने प्रचलन रहेको छ । भानुमतिको दर्शन गरे रोगब्याधी नलाग्ने, सन्तान नभएकालाई सन्तान प्राप्ती हुने लगायतका जनविश्वास छ ।

    7.jpg

    1.jpg

    2.jpg

    4.jpg

    6.jpg
    खोटाङको जन्तेढुंगा गाउँपालिका र खोटेहाङ गाउँपालिकाको सिमानामा पर्ने सावा खोला किनारमा रहेको भानुमतीमा शिवरात्रीकै अवसर पारेर मेला ।

    सम्बन्धित समाचार