बिहिवार, फाल्गुण ११ २०७९
नेपाल वाइड
खोटाङ, ११ फागुन । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा राजनीतिक आस्थाको आधारमा अपायक पर्ने ठाउँमा शिक्षिकाको सरुवा गरिएको भन्दै नेपाल शिक्षक संघले धर्ना सुरु गरेको छ ।
दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेस्थित राम्चे निकेतन मावि इजारामा प्राशि तृतीय (राहत दरवन्दी) पदमा कार्यरत शिक्षिक विमला पौडेललाई दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित सितला प्राविमा ओख्रेमा सरुवा गरिएको भन्दै शिक्षक संघले नेपाल शिक्षक संघ संघर्ष समिति र एकीकृत अखिल नेपाल शिक्षक संगठनको समर्थनमा बिहिबारदेखि गाउँपालिकाको कार्यालयमा धर्ना सुरु गरेको हो ।
शिक्षिका सरुवा गर्ने निर्णय फिर्ता लिनका लागि शुक्रबारसम्म धर्ना दिइने नेपाल शिक्षक संघका दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष पवन राईले बताए ।
शिक्षिका पौडेललाई यथास्थानमा कामकाज गर्ने वातावरण तयार गर्न माग गर्दै फागुन ४ गते बुझाइएको दुई बुँदे ज्ञापन–पत्रको बेवास्ता गरिएको भन्दै असन्तुष्ट नेपाल शिक्षक संघले बुधबार चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।
विरोधमा उत्रिएको शिक्षक संगठनले फागुन १३ गतेदेखि १५ गतेसम्म रिले अनसन गर्ने, फागुन १६ गतेदेखि अनिश्चितकालिन विद्यालय बन्द गर्ने र धर्नालाई निरन्तरता दिने घोषणा गरेको छ । संघले फागुन ७ गतेभित्र शिक्षिका सरुवा गर्ने निर्णय बदर नभए चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेको थियो ।
गाउँपालिकाको मौजुदा शिक्षा ऐन विपरित वैचारिक आस्था र प्रतिशोधका आधारमा घर अपायक पर्ने ठाउँमा शिक्षिकाको सरुवा गरिएको संघले जनाएको छ ।
गाउँपालिकाको शिक्षा ऐनमा ‘अपांगता भएका शिक्षक शिक्षिका र महिलालाई पायक पर्ने स्थानमा सरुवा गरिने’ व्यवस्था विपरित शिक्षिकाको सरुवा भएको संघका अध्यक्ष राईले बताए । पौडेल २०६२ सालदेखि राम्चे निकेतन माविमा कार्यरत छिन् । गाउँपालिकाबाट माघ २२ गते सरुवाको पत्र प्राप्त भए पनि पौडेलले सितला माबि ओख्रेमा हाजिर हुन अस्वीकार गर्दैआएकी छन् ।
शितला प्राविमा एक मात्र राहत दरबन्दीमा कार्यरत शिक्षकले राजीनामा दिएपछि रिक्त ठाउँमा तत्कालकालागि दरबन्दी बढी भएको विद्यालयमध्येबाट शिक्षिका पौडेललाई पठाइएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए ।
स्थायी शिक्षक नआएसम्मका लागि पौडेललाई शितला प्राविमा सरुवा गरिएको हो । राहत दरबन्दीमा कार्यरत एक मात्र शिक्षकले राजीनामा दिएपछि हाल सितला प्रावि कार्यालय सहयोगीको भरमा सञ्चालन भइरहेको गाउँपालिका अध्यक्ष राईले बताए ।