शनिवार, फाल्गुण २० २०७९
नेपाल वाइड
खोटाङ, २० फागुन । तोरी खेती प्रवद्र्धन कार्यक्रम कार्यान्वयनमा ल्याइएपछि खोटाङको रावाबेँसी गाउँपालिकाका खेतबारीमा लहलह तोरी फूलेको छ । खाने तेलमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ गाउँपालिकाले तोरी खेती प्रवर्द्धन कार्यक्रम कार्यान्वयन गरेपछि किसानका खेत र बारीमा लहलह तोरी फूलाइएको हो ।
रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको खैरेनी, चालिसे, कुखुरे र बेल्टार, रावाबेँसी गाउँपालिका–२ खार्पाको दसमुरे र जलजले, रावाबेँसी गाउँपालिका–३ लामीडाँडाको तिर्पाबेँसीको भू–भाग, रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीको कटहरेबेँसी, खार्पाटार, रावाबेँसी गाउँपालिका–५ दुबेकोलको राउटार, रावाबेँसी गाउँपालिका–६ हौंचुरको हौंचुरबेँसी, गिद्धेबेँसी, टारबेँसी, भैंसेटार लगायतका तोरी क्लष्टरमा पहेँलपुल तोरी फूलेको छ ।
विशेषगरी धान उपादनका लागि प्रख्यात रावा खोला किनारका खेतमा तोरीले ढाकिएका छन् । तोरी पेलेर तेल निकाल्ने, पेलेर निस्किएको पिनालाई पशु दानाका रुपमा प्रयोग गर्दै पशुपालन प्रवद्र्धन गर्ने, तोरीबाट गुन्द्रुक बनाउने, महका लागि महुरी पालन गर्ने लगायतका बृहत लक्ष्यका साथ तोरी खेती प्रवर्धन कार्यक्रम अघि सारिएको गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले बताए ।
छ वडा रहेको गाउँपालिकामा तोरी खेतीका लागि १४ क्लष्टर निर्धारण गरिएको छ । किसानको खेत र बारीमा चक्लाबन्दी तोरी खेती लगाएर तेल उत्पादन गर्दै आयतीत तेललाई विस्थापित गर्ने लक्ष्यका साथ गाउँपालिकाले तोरी खेती प्रवद्र्धन कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।
खाने तेलमा गाउँपालिकाबाट अनुमानित वार्षिक साँढे तीन करोडदेखि चार करोड रकम बाहिरिने तथ्यलाई मध्यनजर गर्दै तोरी खेतीको योजना अघि सारिएको हो । तोरीका लागि उर्वर मानिने ठाउँ (क्लष्टर)का किसानलाई मोरङ तोरी र चितवनको लोकल जातको एक हजार २६० केजी उन्नत तोरीको बीउ बाँडिएको गाउँपालिकाका कृषि शाखा संयोजक मुगाधन राईले बताए ।
तोरी खेती प्रवद्र्धन कार्यक्रम ल्याएसँगै गाउँपालिकाले तोरी पेल्ने मिल खरिद गर्ने निर्णय गरेको छ । गत फागुन १५ गतेको हिउँदेसभाले तोरी पेल्ने मिल खरिद गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश राईले बताए । गत वर्ष लामीडाँडामा राखिएको कुटानीपिसानी मिलमा मात्रै करिब १५ क्वीन्टल तोरी पेलिएको थियो ।