आइतवार, फाल्गुण २१ २०७९
नेपाल वाइड
खोटाङ, २१ फागुन । खोटाङका चार विद्यार्थी संगठनले त्रिभुवन बिश्वविद्यालयले सार्वजनिक गरेकै समयमा स्ववियु निर्वाचन गराउन माग गरेको छ ।
देशभरीका क्याम्पसमा स्ववियु निर्वाचनको माहोल तयार भइरहेको अवस्थामा खोटाङका क्याम्पसहरुमा भने स्ववियु निर्वाचन सम्वन्धी कुनै पनि काम कारबाही अघि नबढाइएको भन्दै नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तीकारी) र अनेरास्ववियूले आइतबार संयुक्त विज्ञाप्ती जारी गर्दै तोकिएकै समयमा स्ववियु निर्वाचन गराउन माग गरेका हुन् । त्रिभुवन बिश्व विद्यालयले आगामी चैत ५ गतेका लागि स्ववियुको निर्वाचन तोकेको छ ।
जिल्लाको दिक्तेल बहुमुखी क्याम्पस लगायत अन्य क्याम्पसमा विगत लामो समयदेखि स्ववियु निर्वाचन हुन नसकेको उल्लेख गर्दै विद्यार्थी संगठनहरुले कार्यतालिका अनुसार नै निर्वाचन गराउने तयारी थाल्न माग गरेका छन् ।
नेपाल विद्यार्थी संघ, दिक्तेल बहुमुखी क्याम्पस इकाई समिति सभापति सुमन आचार्य, अनेरास्ववियु, जिल्ला कमिटि खोटाङका सचिव विष्णु उपरकोटी, अखिल (क्रान्तीकारी) स्ववियु निर्वाचन परिचालन समितिका सह–संयोजक डार्विन चाम्लिङ र अनेरास्ववियू, जिल्ला कमिटि खोटाङका सचिव रेश्जोन राईले जारी गरेको विज्ञाप्तीमा क्याम्पस प्रशासनले स्ववियु निर्वाचन सम्वन्धी कुनै पनि काम कारबाही अगाडि नबढाएको सन्दर्भमा दुःख व्यक्त गरेका छन् ।
