Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    थाइ फाइटरलाई हराउने पहिलो नेपाली मुआथाई खेलाडी बरुणलाई गृह–जिल्लामा क्लवदेखि पालिकाको सम्मान

    थाइ फाइटरलाई हराउने पहिलो नेपाली मुआथाई खेलाडी बरुणलाई गृह–जिल्लामा क्लवदेखि पालिकाको सम्मान


    • आइतवार, फाल्गुण २८ २०७९

    • नेपाल वाइड


    थाइ फाइटरलाई हराउने पहिलो नेपाली मुआथाई खेलाडी बरुणलाई गृह–जिल्लामा क्लवदेखि पालिकाको सम्मान
    मुआथाई खेलाडी बरुण घले गुरुङको सम्मानका क्रममा केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई लगायत ।

    खोटाङ, २८ फागुन । थाइल्याण्डमा लगातार तीन प्रतियोगीतामा थाइ फाइटरलाई हराएर ह्याट्रिक गरेका नेपालका मुआथाई खेलाडी गृह–जिल्लामा सम्मानित भएका छन् ।

    थाइल्याण्डका मुआथाई खेलाडीलाई हराउने पहिलो नेपाली खेलाडीको इतिहास बनाएका तथा थाइ खेलाडीलाई लगातार तीन पल्ट हराएका केपिलासगढी गाउँपालिका–४ बाक्सिला, खोटाङका मुआथाई खेलाडी बरुण घले गुरुङलाई नेर्पा स्पोर्टस् क्लव नेर्पाले सम्मान गरेको हो ।

    थाइल्याण्ड पुगेर मुआथाईमा चर्चा कमाएका गुरुङलाई गाउँ आएको अवसरमा नेर्पा स्पोर्टस् क्लवले आइतबार दिक्तेलमा निमन्त्रणा गरेर सम्मान प्रदान गरेको हो ।

    गुरुङलाई नेर्पा स्पोर्टस् क्लवका उपाध्यक्ष बिशाल राई, सचिव बिरेन गुरुङ र सदस्य दिगेन्द्र गुरुङले खादा ओढाएर सम्मान–पत्र प्रदान गरेका छन् । नेपाललाई संसारमाझ चिनाउने गरी थाइल्याण्डका खेलाडीलाई लगातार तीन पटक स्ट्रेट डिफिट (सिधा हार) गरेकामा बरुणलाई हौसला र सम्मान स्वरुप सम्मान गरिएको क्लवका सचिव गुरुङले बताए ।

    मुआथाईमार्फत देशको नाम फैलाएको भन्दै गुरुङलाई फागुन २७ गते केपिलासगढी गाउँपालिका र फागुन २६ गते वडा कार्यालय बाक्सिलाले सम्मान गरेको थियो । उनलाई केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईले कार्यालयमा सम्मान प्रदान गरेका थिए ।

    नेपालबाट थाइल्याण्ड पुगेर व्यवसायीक रुपमा मुआथाई खेल्न सुरु गरेका गुरुङ गत फागुन दोश्रो हप्ता बैंककमा आयोजित केएटी रोड शो इपिशोडमा किक बक्सिङ रुल्समा थाई फाइटरमाथि टेक्निकल नोकआउट (टिकेओ)मार्फत लगातार तेश्रो जित निकाल्न सफल बनेका थिए ।

    गत माघ ६ गते थाइल्याण्डको राजादम्नर्न स्टेडियममा भएको प्रतियोगीतामा थाई फाइटरलाई जित्ने पहिलो नेपाली फाइटरको इतिहास रचेका गुरुङले त्यस लगत्तै माघ २९ गते राती थाइल्याण्डको पटायाको म्याक्स मुआथाइ रंगशालामा भएको म्याक्स मुआथाई फाइटमा राउण्ड वानको पहिलो ४० सेकेण्डमा थाई फाइटरलाई हराउँदै टिकेओमार्फत दोश्रो जित हासिल गरेका थिए ।

    नेपालको इरावान मुआथाई फाईट जिममा तालिम र कोचिङ गर्दै आएका गुरुङले हाल थाईल्याण्ड बैंककस्थित मेड मुआथाई जिममा तालिम लिइरहेका छन् । गुरुङले मुआथाईका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।

    थाइल्याण्डको युद्धमा थाइ आर्मीबाट सुरु भएको र प्रयोग गरिएको मुआथाई थाइल्याण्डको राष्ट्रिय खेल हो । हात खुट्टा भाँचिने र अनुहार बिग्रिने भएकाले यस खेललाई जोखिमपूर्ण मानिन्छ ।

    d.jpg
    मुआथाई खेलाडी बरुण घले गुरुङलाई सम्मान गर्दै नेर्पा स्पोर्टस् क्लवका पदाधिकारी ।

    सम्बन्धित समाचार