Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    रावासावा प्राज्ञिक समाजको अध्यक्षमा बानियाँ

    रावासावा प्राज्ञिक समाजको अध्यक्षमा बानियाँ


    • सोमवार, फाल्गुण २९ २०७९

    • नेपाल वाइड


    रावासावा प्राज्ञिक समाजको अध्यक्षमा बानियाँ
    फागुन २७ गते सम्पन्न रावासावा प्राज्ञिक समाजको ११ औं साधारणसभा ।

    खोटाङ, २९ फागुन । रावासावा प्राज्ञिक समाज, नेपालको अध्यक्षमा बम बानियाँ चुनिएका छन् । बागबजार काठ्माडौंमा फागुन २७ गते सम्पन्न समाजको ११ औं साधारणसभाबाट बानियाँ अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् ।

    १५ सदस्यीय समाजको वरिष्ठ उपाध्यक्षमा सुरेश हाचेकाली, उपाध्यक्षमा चन्द्र रानाहँछा, महासचिवमा भरत लिमेल मगर, सचिवमा श्रीराम राई र कोषाध्यक्षमा यम बास्तोला निर्वाचित भएका छन् । सदस्यमा वरिष्ठ गीतकार वीरेन्द्र राई, अम्बिका राई, महेशकुमार पुरी, कन्काइष्ट राई, रश्मी राई, डि अनुरागी, सोनाम सज्जन किराती र नेचुरल्ली दीपक निर्वाचित भएका छन् ।

    कार्यक्रममा रावासावा प्राज्ञिक समाजले चार स्रष्टालाई सम्मान गरेको छ । वरिष्ठ कवि, नेपाल सरकारका पूर्व प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेल र अढाईदेखि बेलायतमा बसेर डायस्पोरिक र नेपाली किराती सांस्कृतिक चेतनाको संयोजनद्वारा नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पुर्‍याउदै आएका कवि देवेन्द्र खेरेसलाई रावासावा प्राज्ञिक सम्मान–२०७९ बाट सम्मान गरिएको हो ।

    यस्तै, साहित्यकार प्राज्ञ पञ्चकुमारी परियार र खुक्सङ खम्बुलाई रावासावा कमलाभक्त साहित्य पुरस्कार–२०७९ प्रदान गरिएको छ । परियार र खम्बुलाई जनही २० हजार रुपैयाँ नगद राशी र सम्मान–पत्र प्रदान गरिएको समाजले जनाएको छ ।

    सोही अवसरमा रावासावा प्राज्ञिक समाज, नेपालद्वारा प्रकाशित ‘खोटाङ साहित्यकार कोश’ लोकार्पण गरिएको छ । प्राज्ञ टीका चाम्लिङ संरक्षक तथा प्राज्ञ चन्द्र रानाहँछा प्रकाशक व्यवस्थापक रहेको कृतिको सम्पादन वरिष्ठ साहित्यकार नगेन्दराज रेग्मीले गरेका छन् ।

    कार्यक्रम रावासावा प्राज्ञिक समाज नेपालका भूतपूर्व अध्यक्ष गीतकार प्राज्ञ टीका चाम्लिङको अध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यमा भएको थियो ।

    कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, वरिष्ठ अधिवक्ता देवराज कटवाल, समाजमा संस्थापक अध्यक्ष डा. विष्णु राई, डा.सुकराज राई, प्राज्ञ शान्तिराम राई, देवराज कटवाल, जगतप्रसाद घिमिरे, पुरस्कार दाताद्वय भक्त राजभण्डारी र कमला राजभण्डारी लगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार