सोमवार, चैत्र ६ २०७९
नेपाल वाइड
खोटाङ, ६ चैत । प्रभु बैंकको दिक्तेल शाखा, खोटाङका ब्राञ्च मेनेजर होमराज खतिवडा दर्जनौंको व्यक्तिको पैसा सापटी लिएर सम्पर्क विहिन बनेका छन् । चिनजानका साथीभाईसँग लाखौं पैसा सापटी लिएका खतिवडा फागुन १ गतेदेखि सम्पर्क विहिन बनेका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ घर भएका खतिवडाले दर्जनौं व्यक्तिको पैसा सापटी लिएको खुलेको छ । खतिवडा सम्पर्क विहिन बनेपछि उनलाई पैसा सापटी दिएका स्थानीय फसेको भन्दै अत्तालिएका छन् ।
माघ मसान्तसम्म बैंकको शाखा कार्यालयको सम्पर्कमा रहेका खतिवडा एकाएक बेपत्ता भएका हुन् । खतिवडाले एकै व्यक्तिबाट १६ लाखसम्म सापटी लिएको चर्चा छ । खतिवडाले कतिपयलाई चेक दिएर पैसा सापटी लिएको पाइएको छ ।
उनले खातामा पैसा भएको ग्राहकलाई छानेर पैसा सापटी माग्ने गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका गंगाबहादुर बिश्वकर्माले बताए । खतिवडाले बिश्वकर्माबाट केही दिनमा फिर्ता गर्नेगरी भतिजोलाई अष्ट्रेलिया पठाउन तयार पारेको ६ लाख सापटी लिएका थिए ।
उनले खातावालाकै नाममा चेक काट्न लगाएर बैंकबाट पैसा झिक्ने गरेको बिश्वकर्माले बताए । “मेरो ओडी खाता हेर्नु भएछ र तीन लाख सापटी मागेपछि दिएँ । चार पाँच दिनपछि फेरी बोलाउनुभयो । फेरी तीन लाखको चेक लैजानु भयो,” बिश्वकर्माले भने, “नदिउँ भने बैंकको हाकिम, कसरी नदिनु । सबै लोनको काम गर्दिरहेको छ । त्यो बिश्वासले गर्दा आफ्नै नाममा चेक काटेर दिएँ । अहिले आएर फसेँ ।” खतिवडा सम्पर्क विहिन बनेपछि कोठा, घर र प्रभु बैंकको प्रदेश कार्यालय, बिराटनगरसम्म पुगेर कुरा राखेको बिश्वकर्मा बताउँछन् ।
उनले चिनजानका व्यक्तिबाट करोड बढीको हाराहारीमा पैसा सापटी लिएको अनुमान गरिएको छ । खतिवडाले व्यापारीदेखि आफ्नै सहकर्मीसँग पनि पैसा सापटी लिएको बताइएको छ । सम्पर्क गर्दा खतिवडाको मोबाइल नम्बर अफ छ ।
उनले बैंकको रकम भने छोएका छैनन् । ब्राञ्च मेनेजर खतिवडा सम्पर्क विहिन बनेको केही समयपछि प्रभु बैंकले सो स्थानमा दिपक खत्रीलाई पठाएको छ । यद्यपी, खतिवडा सम्पर्क विहिन बनेको विषयमा प्रभु बैंकको आधिकारिक धारणा आएको छैन ।
केन्द्रीय कार्यालयमा सम्पर्क गर्दा पत्रकारलाई कोशी प्रदेश कार्यालयमा सम्पर्क भनियो । प्रदेश कार्यालयका प्रमुख बद्री कट्वालको फोन उठेन । पिडित पक्ष सापटी पैसा फिर्ताका लागि प्रहरीलाई गुहार्ने छलफलमा जुटेका छन् । पैसा सापटी लिएको विषयमा पिडितको उजुरी वा कुनै गुनासो नआएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मञ्जिल मुकारुङले बताए ।