मंगलवार, चैत्र ७ २०७९
नेपाल वाइड
खोटाङ, ७ फागुन । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले मापसे चेक गर्ने उपकरण खरिद गर्ने निर्णय गरेको छ । कतिपय विद्यालयका शिक्षक मापसे गरेर कक्षामा पुग्ने गरेको गुनासो आएकाले नगरपालिकाको ९८ औं कार्यपालिका बैठकबाट मापसे चेक गर्ने सात वटा ब्रेथलाइजर उपकरण खरिद गर्ने निर्णय गरिएको हो ।
मापसे चेक गर्ने छ वटा उपकरण नगरपालिकाभित्रका छ वटा प्रहरीचौकी र एक वटा ब्रेथलाइजर नगर अस्पतालमा राखेर प्रयोगमा ल्याउने निर्णय गरिएको मेयर बिमला राईले बताईन् ।
विगतका वर्ष बार्षिक परिक्षाका लागि खटाइएका शिक्षकले नै मापसे गरेर प्रश्नपत्र शिरानी लगाएर सुतेको घट्नाले मापसे चेक गर्ने उपकरण खरिद गर्ने निर्णयमा पुगेको नगरपालिकाले जनाएको छ ।
कतिपय स्वास्थ्य संस्था र वडा कार्यालयका कर्मचारी समेत मादक पदार्थ सेवन गरेर कार्यालयमा अनियमित हुने गरेको गुनासोका आधारमा मापसे चेक गर्ने ब्रेथलाइजर खरिद गर्ने निर्णय गरिएको हो । मादक पदार्थ सेवन गरेर सार्वजनिकस्थानमा हुने झै–झगडामा संलग्नको मापसे जाँचमा समेत उपकरणलाई उपयोगमा ल्याउने तयारी छ ।
मापसे गरेर सार्वजनिकस्थलमा हो–हल्ला गर्ने सेवाग्राहीको समेत मापसे जाँच हुनेछ । मापसे चेक गर्ने उपकरण अभावमा हालसम्म स्वास्थ्य संस्थादेखि इलाका प्रहरी कार्यालय हलेसीमा समेत मुख सुँघेर मापसे जाँच गर्नुपर्ने वाध्यता अन्त्याका लागि पनि मापसे जाँच गर्ने उपकरण खरिद गर्ने निर्णय गरिएको मेयर राईले बताईन् ।
मध्यपहाडी लोकमार्गले छोएको नगरपालिकामा चालकले मापसे गरे/नगरेको पत्ता लगाउन समेत मापसे चेक गर्ने उपकरण सहयोगी हुने दावी गरिएको छ ।
‘विशेषगरी शिक्षकलाई लक्ष्यित गरेर मापसे चेक गर्ने उपकरण ल्याउने निर्णय गरिएको हो । तर आवश्यक परेकोबेला मापसे गर्ने सबैको मापसे चेक गर्न उपकरणको प्रयोग हुन्छ,’ मेयर राईले भनिन्, ‘अव मुख सुँघ्न पर्दैन । सोध्न पर्दैन । मापसे गरे/नगरेको मेसिनले पूष्टि गर्छ । यो एउटा मोरल प्रेसर पनि हो ।’