बिहिवार, चैत्र ९ २०७९
नेपाल वाइड
खोटाङ, ९ चैत । खोटाङको ६.६ मेगावाट क्षमताको साप्सु खोला जलविद्युत् आयोजनाले विद्युत् उत्पादनका क्रममा खोलै सुकाएर पानी प्रयोग गरेको पाइएको छ ।
हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीस्थित साप्सु खोलाबाट विद्युत् उत्पादन गर्ने क्रममा आयोजनाको प्रवर्द्धक कम्पनी थ्री-स्टार हाइड्रोपावर कम्पनी लिमिटेडले सिङ्गो खोला नै फर्काएर पानी प्रयोग गरिरहेको पाइएको हो । कम्तीमा १० प्रतिशत पानी खोलामा छाड्नुपर्ने भए पनि सबै पानी ड्यामतर्फ लगेको पाइएको खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले बताए ।
जलविद्युत् आयोजनाका लागि राजापानीकै बसुवास्थित साप्सु खोलामा बाँध बनाइएको छ । बाँधभन्दा मुनि खोलामा बग्ने गरी पानी छाडिएको छैन । विद्युत् उत्पादनका क्रममा खोलै सुकाएपछि पर्यावरणमा असर पुगिरहेको छ ।
“आयोजनाको कामको अनुमति लिने वेला खोलामा जति पानी छोड्नुपर्छ भनेर निर्देशन दिइएको थियो वा सहमति भएको थियो, त्यस अनुसार पानी छाड्नुपर्छ । अथवा आईईई गर्दाखेरी खोलामा जति पानी छोड्ने सम्झौता थियो, त्यही बराबरको पानी छाड्नुपर्छ,” प्रजिअ सेढाईंले भने ।
आयोजनाले आवश्यक पानी नछोडेको उनले बताए। प्रजिअ सेढाईंले भने, “सामान्यतया कम्तीमा १० प्रतिशत पानी खोलामा छाड्नुपर्ने हुन्छ । तर, अहिले त एक प्रतिशत पनि छाडेको छैन । कमिला वारपार गर्ने अवस्था छ ।”
२०७८ मंसीर १४ गतेदेखि परीक्षण उत्पादन शुरू गरिएको जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत २०७८ पुसमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो । हिउँद याममा खोलामा पानीको बहाव घटेका कारण थ्री-स्टार हाइड्रोपावर कम्पनीले खोलै फर्काएको देखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।
त्यस्तै, साप्सु खोला जलविद्युत् आयोजनाको डिसेन्डर, नहर र जलाशय वरपर तारबार लगाइएको छैन । जसले गर्दा मान्छे तथा जनावर सहजै जान सक्ने र जलाशयमा डुब्ने खतरा भएकाले धराप थापे जस्तो बनेको स्थानीय बासिन्दा बताउँछन् ।
स्थानीय बासिन्दाको गुनासोपछि प्रजिअ सेढाईंले कम्पनीका प्रोजेक्ट इन्चार्ज प्रदीप दाहाललाई १५ दिनभित्र घेराबार लगाउन निर्देशन दिएको बताए । प्रोजेक्ट इन्चार्ज दाहालले कमजोरी स्वीकार्दै अधुरो कामलाई पूर्णता दिने बताए । “खोला फर्काए पनि ग्राभेल फ्लसिङ र डिसेन्डरबाट पानी छाडेका छौं । तर, मापन गर्ने उपकरण नहुँदा केही तलमाथि हुनसक्छ,” उनले भने ।
करीब एक अर्ब ५० करोडमा साप्सु खोला जलविद्युत् आयोजनाको काम सम्पन्न भएको हो । चार किलोमिटर टाढा खोलाबाट ल्याइएको पानीलाई बेलडाँडाबाट ११० मिटर पेनस्टक मार्फत प्रतिसेकेन्ड सात हजार लिटर पानी खसाएर विद्युत् उत्पादन गरिएको हो ।
राजापानीको बेलडाँडास्थित विद्युत्गृहबाट उत्पादित विद्युत् २.५ किलोमिटरमाथि पुरानो गाउँमा निर्माण गरिएको सब-स्टेशन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । श्रोत : हिमाल खबर