शनिवार, चैत्र १८ २०७९
नेपाल वाइड
खोटाङ, १८ चैत । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्वास्थ्यचौकी पाथेकालाई कार्डियाक मनिटर र सेमी अटो एनालाइजर प्रदान गरेको छ ।
नगरपालिकाले बिरामीको रगतमा अक्सिजनको मात्रा, रक्तचाप, मुटुको गति लगायतको चेकजाँचको व्यवस्थाका लागि स्वास्थ्यचौकीलाई दुई लाख मूल्या पर्ने कार्डियाक मनिटर हस्तान्तरण गरेको हो ।
यस्तै, रगतको सामान्य अवस्था, बोसोको मात्रा, कलेजो, मिर्गौला, वाथरोग, मधुमेह लगायतका स्वास्थ्य जाँचकाका लागि पाँच लाखको १५ वटा एनालाइजर प्रदान गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।
कार्डियाक मनिटर र एनालाइजर कोशी प्रदेश सरकार स्वास्थ्य आपूर्ती महाशाखाले उपलव्ध गराएको हो । कार्डियाक मनिटर र एनालाइजर शुक्रबार मेयर भट्टराईले वडाध्यक्ष मुगाधन राई र स्वास्थ्यचौकीका प्रमुख सन्तोष भट्टराईलाई हस्तान्तरण गरेका छन् ।
सामान्य स्वास्थ्य अवस्था चेकजाँचका लागि जिल्ला अस्पताल पुग्नुपर्ने वाध्यता अन्त्याका लागि स्वास्थ्यचौकी पाथेकालाई आधुनिक स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ ।
स्वास्थ्यचौकी पाथेका जिल्लाको ७९ स्वास्थ्यचौकीमध्ये कार्डियाक मनिटर र एनालाइजरको प्रयोगमा ल्याउने पहिलो स्वास्थ्यचौकी बनेको दावी गरिएको छ ।
स्वास्थ्यचौकी पाथेकामा व्यवस्था गरिएको स्वास्थ्य उपकरणबाट खार्मी, खार्ताम्छा, फेदी र बासपानीका स्थानीय समेत लाभान्वित हुने स्वास्थ्यचौकीका प्रमुख भट्टराईले बताए ।
कार्डियाक मनिटर र एनालाइजर उपकरण सञ्चालनका लागि स्वास्थ्यचौकीमा राष्ट्रिय प्रशारण लाईन अन्तरगतको विद्युत जडान गर्नुपर्ने देखिएको छ । हाल स्वास्थ्यचौकीमा बेलुका ६ बजेदेखि बिहान १० बजेसम्म सञ्चालनमा रहेको लघुजलविद्युत आयोजना मात्र जडान गरिएको छ ।