Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    माटिकोरे फुटबल स्टेडियम निर्माणमा सहजीकरणको माग

    माटिकोरे फुटबल स्टेडियम निर्माणमा सहजीकरणको माग


    • बुधवार, चैत्र २२ २०७९

    • नेपाल वाइड


    माटिकोरे फुटबल स्टेडियम निर्माणमा सहजीकरणको माग
    माटिकोरेमा निर्माणाधिन दिक्तेल फुटबल स्टेडियम । तस्बिर: खोटाङ फुटबल एकेडेमीको फेसबुक पेजबाट साभार

    खोटाङ, २२ चैत । खोटाङको दिक्तेलस्थित माटिकोरेमा दिक्तेल फुटबल स्टेडियमको जिम्मा लिएको निर्माण कम्पनीले काम गर्ने वातावरण नभएको गुनासो गरेका छन् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ माटिकोरेमा फुटबल स्टेडियम निर्माणको ठेक्का लिएको आशिरबाद–मोहन–इन्द्रलक्ष्मी जेभीले काम गर्ने वातावरण नवनेकाले कामलाई नियमित गर्न नसकेको जनाएको छ ।

    फुटबल स्टेडियमको अवरुद्ध काम सुचारु गराउनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले चैत ६ गते पठाएको पत्रको जवाफमा आशिरबाद–मोहन–इन्द्रलक्ष्मी जेभीले निर्माणस्थलको भूगोल, प्राविधिकको स्टीमेट र नक्सा फरक परेको र सो बारेमा निर्णय नआएकाले निर्माण कार्य बन्द गर्नुपरेको जवाफ दिएको छ ।

    चैत १६ गते आशिरबाद–मोहन–इन्द्रलक्ष्मी जेभीका प्रतिनिति जोशेफ रिजालले नगरपालिकालाई लेखेको निवेदनमा संरचनाको प्राविधिक स्टीमेट, नक्शा उपलव्ध गराउन र साइटमा रहेको पुरानो भवन हटाउने विषयमा सहजीकरण गरिदिन आग्रह गरिएको छ । फुटबल स्टेडियमको काममा निर्माणस्थलमा रहेको पुरानो भवन बाधकका रुपमा रहेकाले हटाउनका लागि समन्वय गरिदिन माघ ९ गते पनि नगरपालिकालाई लिखित आग्रह गरिएको रिजालले बताए ।

    सदरमुकामको रुपमा रहेको दिक्तेलबजारको एक मात्र माटिकोरे खेल मैदानलाई स्टेडियमको रुप दिनेगरी काम सुरु गरिएको थियो । तर काम गर्ने वातावरण नभएको भन्दै निर्माण व्यवसायीले एक/डेढ महिनादेखि रंगशालाको काम रोकेको छ ।

    आगामी २०८१ बैसाख २९ गतेसम्ममा सम्पन्न गर्नेगरी २०७९ असार २९ गते सम्झौता गरिएको रंगशाला निर्माणको क्रममा दुई करोड ९६ लाख ४१ हजार ४९५ रुपैयाँ खर्च हुनेछ ।

    योजनाको सम्झौता बमोजिम पहिलो किस्ता मोबिलाइजेसन पेश्की भुक्तानी भइसकेको तर निर्माण कार्य नियमित अघि बढ्न नसकेको भन्दै नगरपालिकाले समयमै योजना सम्पन्न हुनेमा बिश्वास गर्न सकिने अवस्था नभएको जनाएको छ ।

    समयमै निर्माण कार्य सुरु नगरी सम्झौतामा उल्लेखित समयभित्र कार्य सम्पन्न नभएमा कार्यालयबाट म्याद थप नहुने नगरपालिकाले पठाएको पत्रमा उल्लेख छ ।

    सम्बन्धित समाचार